गत चैत २८ गते चितवनको सौराहामा राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गरियो । गैँडा पाइने नेपालका चार वटा संरक्षित क्षेत्रहरूमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गरी नेपालमा कुल ७५२ वटा गैँडाको सङ्ख्या रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यस पटकको गणनामा गैँडाको सङ्ख्या १०७ वटा (१६.६ प्रतिशत) अर्थात् वार्षिक २.७७ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो वृद्धिदर सन् २०१५ को वार्षिक वृद्धिदर ३.४४ प्रतिशतभन्दा कम हो ।