सूर्यविनायकदेखि रत्नपार्कसम्मको यात्राको अवधि घटाउने उद्देश्यका साथ सञ्चालन गरिएको दु्रत बस सेवाको निरन्तरतामा प्रश्न उठेको छ । थोरै बस सञ्चालन भएकाले यात्रुहरूले लामो सयमसम्म बस कुर्नुपरेको गुनासो गरेका छन् भने ट्राफिक जामका कारण निर्धारित समयमा बस गन्तव्यसम्म पुग्न सकेका छैनन् । द्रुत बस सेवा सञ्चालन गरेकामा निकै आशावादी देखिएका यात्रुहरू अहिले खासै उत्साहित देखिएका छैनन् भने बस सञ्चालकहरू पनि यसको दिगोपनमा आशंका गर्न थालेका छन् । यसमा प्रशस्त कमीकमजोरी छन् भन्नेमा कुनै विवाद छैन तर यसलाई बन्द गर्नुभन्दा प्रभावकारी बनाउनेतिर लाग्नु आवश्यक छ ।
झन्डै ४० लाख मानिसको बसोवास भएको भनिएको काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको अवस्था निकै दयनीय रहेको छ । यात्रुहरूले भाडा तिरेर पनि उपयुक्त सेवा पाउन सकेका छैनन् । लामो समय यात्रामै खर्च गर्नुपर्ने र भनेको बेलामा सवारीसाधन नै नपाउने भएकाले सर्वसाधारणले ऋणधन गरेर दुईपांग्रे र चारपांग्रे सवारीसाधन लिनुपर्ने बाध्यता छ । यसले सडकमा झनै ट्राफिक जाम बढाएको छ । यही जामका कारण यातायात सेवाको स्तर झनै नराम्रो भएको छ । त्यसैले यसमा सुधार गर्न विलम्ब गर्नु हुँदैन । मेट्रो, ट्राम वा पोडवेजस्ता विकल्पको चर्चा भए पनि त्यो तत्काल सम्भव देखिँदैन । त्यस्तै फराकिला सडक भएका रूटमा १ सयभन्दा बढी यात्रु ओसार्ने ठूला बस पनि विकल्प हुन सक्छन् । सरकारले तत्कालका लागि शुरू गरेको द्रुत बस सेवा पनि एउटा भर पर्दो विकल्प हो । तर, यसका लागि आवश्यक पूर्वाधार नबनाई हतारमा शुरू गरिएकाले समस्या धेरै देखिएको हो । त्यसैले यसलाई निरन्तरता दिन केके कुरामा सुधार गर्न आवश्यक छ त्यसमा गृहकार्य थालिनुपर्छ र समाधानमा लागि हाल्नुपर्छ । यसको सञ्चालन भएको शुरूदेखि नै सडकमा रातो रंग लगाउनुमात्र पर्याप्त नभएको भनी आवाज उठेकै हो । रातो रंग लगाएको सडक खण्डमा अरूले पनि सवारी चलाउने र रोक्नेसमेत गर्दा यसको सेवा प्रभावित बनेको हो । त्यसैले यो समाधान गरिनुपर्छ । त्यस्तै साझाको विद्युतीय बसहरूलाई यस रूटमा चलाउनु पनि एउटा विकल्प हुन सक्छ । उससँग रहेका विद्युतीय बस यस रुटमा चलाउनु उपयुक्त हुन सक्छ । तैपनि सडकमा देखिएको समस्या भने समाधान हुन जरुरी देखिन्छ ।