काठमाडौं । विश्वको प्रमुख अर्थतन्त्रहरुमा ब्याजदर घट्ने अपेक्षा गरिएको छ । न्यून उत्पादकत्व अनि वृद्ध जनसंख्याका कारण ठूला अर्थतन्त्रहरुमा ब्याजदर ओरालो लाग्ने बहुपक्षीय कर्जादाता निकाय International Monetary Fund (IMF)ले प्रक्षेपण गरेको छ । महँगी नियन्त्रणमा आएपछि कर्जाको उच्च लागत अस्थायी हुने कोषको भनाइ छ ।
विश्वभर प्रमुख केन्द्रीय बैंकहरुले धमाधम Rate Hike अर्थात् ब्याजदर बढाइरहँदा धितो कर्जाको दर बढेको छ । कोरोना भाइरसको महामारीबीच विश्वका आपूर्ति शृङ्खला बिग्रिएर मूल्य वृद्धि शुरू भएको थियो । यसमाथि युक्रेनमा रुसको आक्रमणका कारण विश्वभर कच्चा तेल र खाद्यान्नको भाउ बढाइदिँदा महँगी अनियन्त्रित भइरहेको छ ।
अमेरिका, बेलायत, जापान समेतका कयौं देशहरुमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा उक्लिएको छ । महँगीमा अंकुश लगाउन अधिकांश देशहरुले धमाधम ब्याजदर बढाएका छन् । तर वास्तविक ब्याजदरमा हालै गरिएको वृद्धि अस्थायी हुन सक्ने भनेर हालै एउटा Blogpost मा आईएमएफले भनेको छ ।
महँगी नियन्त्रित स्तरमा आयो भने विकसित अर्थतन्त्रका केन्द्रीय बैंकले पुनः मौद्रिक नीति खुकुलो पार्न थाल्नेछन् अनि वास्तविक ब्याजदरलाई महामारी पूर्वकै स्तरमा ल्याउने ठोकुवा पनि कोषको छ । तर ब्याजदर ठ्याक्कै कहिले न्यून स्तरमा झर्छ भनेर चाँहि कोषले केही भनेको छैन ।
यसको एउटा कारणको रुपमा कोषले वृद्ध जनसंख्यातर्फ औंल्याएको छ । वृद्ध जनसंख्याले कम खर्च गर्ने भएकोले उनीहरुले महँगी घटाउने बताइएको छ । मानिसहरुले २०, ३० र ४० वर्ष उमेर समूहको बेलामा आफ्नो आय भन्दा धेरै खर्च गर्छन् । कमाएर तिरौंला नि भनेर कतिले मागेर वा ऋणै लिएर भएपनि घर बनाउने, कार किन्ने, घरायसी प्रयोजन लगायत अनेकन कुरामा खर्च गर्छन् ।
तर, बुढ्यौली लाग्दै गर्दा कमाई पनि घट्ने वा स्थिर हुने गर्छ । यस्तोमा खर्च पनि घट्ने वा सीमित हुन्छ । बाहिर खानपिनमा जाने क्रम घट्छ । एक प्रकारले भन्ने हो भने खर्चको प्रवृत्ति मै कमी आउँछ । पछिल्लो समय जापान, उत्तर कोरिया समेतका कयौं देशमा वृद्ध जनसंख्या बढेका छन् ।
काम गर्ने उमेर समूहमाथिको भार बढेको छ । जन्मदरमा आएको कमी अनि मानिसहरुको औसत आयु बढिरहँदा अनेकन समस्याहरु देखिन थालेका छन् । यसका कारण उत्पादकत्व प्रभावित भइरहेको छ । यो प्रवृत्तिले पनि महँगीलाई घट्उने कोषको भनाइ छ । एजेन्सी