पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरु भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।
आयोजनाको निरन्तर निगरानी गरिरहनुभएका सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्काअन्तर्गत काम शुरु हुने बताउनुभयो । विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो ।
“निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदैछ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ओझेलमा परेको जिल्लाको पुरानो सडकखण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पूर्वी क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याउनेछ ।” विसं २०३६ मा ट्रयाक खुलेको भेडाबारी सडक त्यसयता स्तरोन्नति हुन सकेको थिएन ।