तनहुँका दुई गाउँका कृषकहरु सुन्तला बिक्री गरेर लखपति बनेका छन् । सुन्तला बेचेर धनी हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ र म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका रहेका छन् ।
सुन्तला बिक्री गरेर ल्हुंग्रीङबाट रू तीन करोड र उमाचोकभन्दा रु २ करोड बढीको गरी पाँच करोडभन्दा बढी रुपियाँ कृषकले आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ती गाउँमा कृषकले पाँच लाखदेखि ६० लाख रुपियाँ सम्म आम्दानी गर्ने कृषक रहेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार तनहुँमा सुन्तला बेचेर सबैभन्दा धेरै आम्दानी गर्ने कृषकमा उमाचोकका शुकनारायण श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठ एक्लैलै वार्षिक रुपमा ६० लाखभन्दा बढीको आम्दानी सुन्तला बिक्रीबाट गर्नुहुन्छ ।