सुन्तला बेचेर कृषक बने लखपति एकै गाउँबाट दुई करोडको बिक्री

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका कृषक सुन्तला बेचेर लखपति बनेका छन् । व्यवसायिक कृषकहरुले पाँच लाखदेखि ६५ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । उमाचोक गाउँका कृषक सुन्तला बचेर मनग्गे आम्दानी लिन थालेपछि सोही गाउँसँग जोडिएको वडा नम्बर १ र ३ का कृषकहरु उमाचोक सुन्तला ब्लक सञ्चालक समितिमा आबद्ध भई व्यवसायिक सुन्तला खेतीमा लाग्नु भएको र व्यबसायिक रुपमा यस वर्ष रु दुई करोड भन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । उमाचोक गाउँबाट यो वर्ष कृषकले दुई करोड दुई लाख रुपियाँ आम्दानी गरेको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिका संयोजक निर्मल अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

गोठेमल र गौमूत्रको प्रयाेगले ४० वर्ष रानो बोटमा सुन्तला लटरम्मै

मकै र कोदो फल्ने बारीमा दुःख गर्दा छ महिना खान पनि मुस्किल पर्थो तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषकका लागि । केही समय अघिसम्म दुःख गरे पनि सुख नपाएका उमाचोका कृषक यतिबेला सुन्तला बेचेर लखपति बनेका छन् । सुन्तलाको बोटबाट मनग्गे आम्दानी हुन थालेपछि कृषकले गोठेमल र गौमुत्रको प्रयोग गरी पुरानो सुन्तालको बोटलाई संरक्षण गर्न थालेका छन् । सुन्तलाको बोट वरीपरी वर्षमा दुई पटक गरी छ डोको मल , जरा, पात तथा हाँगामा गाईको पिसाब (गौमुत्र) राख्न थालेपछि ठुला अनि लटरम्मै दाना फल्ने गरेका छन् । गोठेमल र गौमुत्र सही प्रयोग गर्दा ४० वर्ष भन्दा पुरानो बोटबाट फल दिने गरेको पूर्व कृषि प्रसार अधिकृत समेत रहनु भएका रामबहादुर थापा बताउनुहुन्छ । पुरानोबोटलाई गाई, भैसीको मोल र गौमुत्र दिँदा पोटिलो अनि ठुलो दाना लागेकोले तन्देरी बोट जस्तै फल लागेका थापाले जानकारी दिनुभयो । ‘‘नयाँ बोट हुर्काउँदा लटरम्ब फल लाग्न १० वर्ष कुर्नुपर्छ सहीमात्रमा गोठेमल र गौमुत्रको प्रयोग गरियो भने ५० वर्ष भन्दा बढी समय आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेको छ’’ थापाले भन्नुभयो । १६ रोपनी जमिनमा अधिकांश ४० वर्ष पुरानो बोट रहेको र तिनैबोट वार्षिक १४ देखि १६ लाख रुपियाँ आम्दानी लिने गरेको थापाले जानकारी दिनुभयो ।

सुन्तला बेचेर कृषक बने लखपतिः दुई गाउँबाट पाँच करोडको बिक्री

तनहुँका दुई गाउँका कृषकहरु सुन्तला बिक्री गरेर लखपति बनेका छन् । सुन्तला बेचेर धनी हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ र म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका रहेका छन् । सुन्तला बिक्री गरेर ल्हुंग्रीङबाट रू तीन करोड र उमाचोकभन्दा रु २ करोड बढीको गरी पाँच करोडभन्दा बढी रुपियाँ कृषकले आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ती गाउँमा कृषकले पाँच लाखदेखि ६० लाख रुपियाँ सम्म आम्दानी गर्ने कृषक रहेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार तनहुँमा सुन्तला बेचेर सबैभन्दा धेरै आम्दानी गर्ने कृषकमा उमाचोकका शुकनारायण श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठ एक्लैलै वार्षिक रुपमा ६० लाखभन्दा बढीको आम्दानी सुन्तला बिक्रीबाट गर्नुहुन्छ ।