आधुनिक भुक्तानी प्रणालीका उपकरण

आधुनिक भुक्तानीका उपकरणहरूको प्रयोग गरी वित्तीय कारोबारहरू मौद्रिक मूल्यमा ट्रान्सफर गर्न सकिने कार्यलाई भुक्तानी प्रणाली भनिन्छ । वित्तीय कारोबारहरू सञ्चालन गर्न, सेवाप्रदायक संस्था, उपकरण, जनशक्ति, ऐन, नियम, निर्देशिका, संस्थागत सुशासन, कार्यविधि, तोकिएका मापदण्ड र प्रविधिको सहयोगबाट सम्भव हुन्छ । आधुनिक उपकरणहरूको प्रयोगबाट बैंकिङ प्रणाली सहज हुनुका अतिरिक्त गैरबैंकिङ संस्थाहरूबाट तोकिएको सीमाभित्र रही प्रदान गरिएका सेवाहरूबाट सानो मूल्यका भुक्तानी, ट्रान्सफर र प्राप्तिका लागि संस्थामा उपस्थित नभई सम्पादन गर्न सकिने सुविधा प्राप्त भएका छन् । विद्युतीय भुक्तानीसम्बन्धी कारोबार नियन्त्रण बाहिर हुनसक्ने र उपकरणबाट हुने कारोबारमा प्रणाली भित्र कब्जा जमाउन सक्ने व्यक्तिहरूबाट प्रणालीमा रहेको रकम हिनामिना गर्ने प्रबल सम्भावना रहन सक्छ । भुक्तानी प्रणालीमार्फत गरिने कारोबारको प्रमुख भूमिका बैक वित्तीय संस्थाहरूमा रहेको हुन्छ । बैंकहरूले सञ्चालन गरिरहेका प्रणालीमा आधुनिक उपकरणहरूलाई इन्टरफेशको सहायताले कारोबार गर्न सकिन्छ । भुक्तानी प्रणालीमार्फत शेयरबजार, डिबेन्चर, मुद्रा, फ्युचर मार्केट्र्स, वस्तु तथा अप्शन बजारलाई इन्टीग्रेशन गरी सेवा प्रवाह गर्न सकिन्छ । पस टर्मिनल वा अन्य उपकरणको प्रत्यक्ष लिंक मर्चेन्ट र ग्राहकसँग स्थापित हुन्छ । सोही माध्यमबाट दुर्गम वा ग्रामीण क्षेत्रसम्म सेवा प्रवाह गर्न कठिनाइ हुँदैन । गैरबैंकिङ संस्थाले सञ्चालन गर्ने कारोबार सानो मूल्य, ग्रामीण तहसम्मका उपभोक्ताहरूको पँहुचमा विस्तार हुनुपर्छ । बैंक वित्तीय संस्थाहरूको पूँजी, कारोबार, लगानीको क्षेत्र र व्यावसायिक उत्पादनशीलताको आधारमा ग्रामीण, दुर्गम भेकसम्म सेवा दिन कठिन देखिन्छ । बैंकिङ पँहुच विस्तार नभएको दुर्गम स्थानसम्मका जनतालाई आधुनिक भुक्तानीका उपकरणहरूमार्फत कारोबार गर्न सहज गराउने उद्देश्यले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायक संस्थाहरूको स्थापना र सञ्चालन गर्न गैरबैंकिङ क्षेत्रलाई अनुमति प्रदान गर्ने नीतिगत व्यवस्था केन्द्रीय बैंकले खुला गरेको थियो । २०७८ असारसम्म भुक्तानी प्रणाली सञ्चालक १० र भुक्तानी सेवाप्रदायक २८ गरी ३८ संस्थाले अनुमतिपत्र प्राप्त गरी केही संस्थाले कारोबार गरिरहेका तथा केही कारोबार गर्ने तयारीमा रहेका छन् । विद्युतीय माध्यमबाट कारोबार गर्दा ग्राहक सेवाप्रदायकको कार्यालयमा उपस्थित भएर गरिने कारोबार होइन । संस्थाले उपलब्ध गराएको एप्लिकेशनमार्फत रजिस्टर गरी युजरनेम, पासवर्ड र कारोबार पिनबाट कारोबार गर्न सकिन्छ । ग्राहकले कारोबार शुरू गरी सम्पन्न नहुँदै बीचैमा प्राविधिक व्यवधान आउन सक्छ । सम्पन्न नभएको अवस्थामा प्रणालीबाट कारोबार उठान गरिएको ग्राहकको खातामा रकम फिर्ता हुने प्रणालीगत संरचना तयार गर्नुपर्छ । सेवाप्रदायकले सोहीबमोजिमको एप्लिकेशन प्रयोग नगरेको अवस्थामा ग्राहक आर्थिक रूपमा मर्कामा पर्नसक्ने तथा हिसाब मिलान हुन नसकेको रकममा वृद्धि हुँदै जान्छ । सेवाप्रदायक संस्थाहरूले सर्टिफाइड एप्लिेकेशन र उपकरणहरूको प्रयोग गर्नुपर्छ । तथ्यांक सुरक्षा, मौज्दात क्षमता, सर्टिफाइड उपकरण, दक्ष जनशक्ति र २४सै घण्टा निगरानीको अनिवार्य व्यवस्था गर्नुपर्छ । सेवाप्रदायक संस्थाले नियमनकारी निकायले जारी गरेका निर्देशनहरूको शतप्रतिशत कार्यान्वयन, संस्थागत सुशासन, ग्राहकहित संरक्षण, तथ्यांक सुरक्षा, विनियम र मार्गदर्शनको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । उल्लिखित विषयहरू कार्यान्वयन नगरेको अवस्थामा भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ र भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ बमोजिम कानूनी कारबाही हुन सक्छ । विद्युतीय माध्यमबाट गरिने कारोबार वा भुक्तानी उपकरणहरू सञ्चालन गर्न बैंकबाट अनुमति लिनुपर्छ । कारोबार सञ्चालन गर्न ग्राहकले संस्थाले सञ्चालन गरेको उपकरणमा जम्मा गरिएको रकमलाई विद्युतीय मुद्रा भनिन्छ । संस्थाले बैंकबाट अनुमति नलिई सञ्चालन गरेको उपकरणमार्फत सर्भरमा ग्राहकको रकम जम्मा गर्नुलाई अवैधानिक मानिन्छ । भुक्तानी सेवाप्रदायकको कार्य गर्न कम्पनी स्थापना गर्नुपर्ने त्यसका लागि तोकिएका कागजातहरूसहित आशयपत्र प्राप्त गर्न बैंकमा निवेदन दिनुपर्छ । आशयपत्र प्राप्त गरेको ६ महीनाभित्र बैंकसमक्ष तोकिएका कागजातसहित कारोबार स्वीकृतिका लागि निवेदन पेश दिनुपर्छ । कारोबार अनुमतिका लागि तयार गरिएका कागजातहरूमा कापोलकल्पित, भ्रामक, गलत तथ्यांक वा झूटा बेहोरा प्रयोग गर्नु हुँदैन । भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ बमोजिम अनुमतिपत्र प्राप्त नगरी सेवा सञ्चालन गरेमा वा दफा ८ बमोजिम अनुमतिपत्र प्राप्त गर्न पेश गरेका कागजात, तथ्यांक र विवरणहरू झूटा ठहरिएमा ऐनको दफा ३७ बमोजिम ५ देखि १० वर्षसम्म कैद वा १ करोड रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुन सक्छ । सेवाप्रदायक संस्थाहरूले अनुमतिपत्रको अधीनमा रही तोकिएका उपकणहरू मात्रै प्रयोग गर्ने, नयाँ उपकरण सञ्चालन गर्नुपूर्व स्वीकृति लिने तथा उपकरणबाट गर्ने कार्य परिवर्तन गर्नुपर्ने भएमा पूर्वस्वीकृति लिनुपर्छ । संस्थाले ग्राहकको कुनै पनि विवरण, तथ्यांक, सूचना, जानकारी तथा अभिलेख सम्बद्ध व्यक्तिबाहेक कसैलाई उपलब्ध गराउनु हुँदैन । संस्था सञ्चालकले संस्थाको सम्पत्ति सुरक्षित गर्नुपर्छ । हिनामिना गर्न मिल्दैन, उल्लिखित कार्यहरू गरेमा २ वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनसक्छ । सेवाप्रदायक संस्थाले ग्राहकको सम्पत्तिको सुरक्षा तथा गरेको कारोबार ग्राहकको हितमा छ/छैन भनी बैंकले निरीक्षण तथा सुपरिवेक्षण गर्छ । बैंकबाट गरिने निरीक्षणमा बाधा विरोध पुर्‍याउनु हुँदैन । बैंकले अनुुमतिपत्र प्रदान गर्दा विभिन्न शर्त तोकी समयसमयमा थप निर्देशन दिन सक्छ । ती निर्देशनको पालना गर्नु सेवाप्रदायक संस्थाहरूको अनिवार्य शर्त हो । ऐनअन्तर्गत बनेका विनियम, बैंकले जारी गरेका निर्देशन वा आदेशअन्तर्गत रही कार्य गर्नुपर्छ । उल्लिखित कार्यहरू नियमसंगत नगरेमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरीवाना हुन सक्छ । संस्थाले कारोबारको पँहुच विस्तार गर्दा केही नीति, नियमहरूलाई आफ्नै प्रकारले व्याख्या गर्न सक्छ । त्यस्तो व्याख्या गर्ने, सहयोग पुर्‍याउने मतियारलाई समेत मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । भुक्तानी तथा फर्छ्योट ऐन, उक्त ऐनअन्तर्गत बनेका विनियम वा बैंकले जारी गरेका निर्देशन वा आदेशको उल्लंघन गर्ने संस्थालाई प्रकृति र गम्भीरताको अध्ययन गरी सचेत गराउने वा नसिहत दिने, सुधारात्मक कदम चाल्नका लागि कबुलियत गराउने, कारोबारमा सीमा तोक्ने, संस्थाको सञ्चालक समितिलाई निलम्बन गर्ने, भुक्तानी उपकरणको सञ्चालनमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने र अनुमतिपत्र खारेजसमेत गर्न सक्ने गरी बैंकले कुनै एक वा एक भन्दा बढी कारबाही गर्न सक्छ । संस्था र सञ्चालकबाहेक कर्मचारीलाई समेत कारबाही गर्न सक्ने व्यवस्था छ । विद्युतीय भुक्तानीसम्बन्धी कारोबार नियन्त्रणबाहिर हुनसक्ने र उपकरणबाट हुने कारोबारमा प्रणाली भित्र कब्जा जमाउन सक्ने व्यक्तिहरूबाट प्रणालीमा रहेको रकम हिनामिना गर्ने प्रबल सम्भावना रहन सक्छ । कसुरको प्रकृति हेरी बैंकले कसुरदारलाई गरिएको सजायको जरीवाना ३० दिनभित्रमा बैंकमा दाखिला नगरेमा निजको नाममा जुनसुकै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपबाट त्यस्तो रकम कट्टी गरी वा निजको नाममा रहेको अचल सम्पत्ति रोक्का गरी बिगो रकम असुल गर्ने व्यवस्था मिलाउन बैंकले सम्बद्ध निकायमा लेखी पठाउन सक्छ । विद्युतीय माध्यमबाट गरिने कारोबारको बजार अधिक रहेको, विस्तार गर्दा गुणस्तरहीन उपकरणहरूको प्रयोग भई ग्राहकहित संरक्षण हुन नसक्ने सम्भावना रहेकाले स्थापनाको चरणबाट गहिरो रूपमा सुपरिवेक्षण र निगरानीको आवश्यकता देखिन्छ । काराबारको संवेदनशीलतालाई दृष्टिगत गर्दै ऐनमा सजायको कठोर प्रावधान राखिएको हुन सक्छ । सेवाप्रदायक संस्थाले ऐन र विनियमावलीमा गरिएका व्यवस्था तथा नियमनकारी निकानयबाट जारी गरिएका निर्देशनहरूको पूर्ण कार्यान्वयन र परिपालनाबाट यस प्रकारका संस्थाहरू एवं तिनले सञ्चालन गर्ने कारोबारको पँहुचको प्रतिफल तल्लो तहसम्म पुग्न गई जनताको जीवन निर्वाहमा सहज हुने तथा जोखिम न्यूनीकरणमा समेत सघाउ पुग्छ भने कानूनको असल अभ्यासले कानूनी कारबाहीको दायरामा आउन पर्दैन । ऐनमा गरिएको कठोर सजायको भित्री आशय पनि यही हुन सक्छ । लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीमा जानकारप्राप्त व्यक्ति हुन् ।

सम्बन्धित सामग्री

टेरामक्स अनियमितता : ठेक्का लेबनानमा, भुक्तानी हङकङ र दुबईमा

विवादास्पद टेरामक्स प्रणालीका लागि उपकरण आयात गर्दा नेपाल दुरसञ्चार प्राधिकरणले भुक्तानीका नाममा असम्बन्धित मुलुकहरुमा रकम पठाएको फेला परेको छ ।

भुक्तानीमा नियामकीय प्रविधि :भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई समस्या

संस्था स्थापना र सञ्चालन कानूनद्वारा निर्देशित परिधिभित्र हुने भएकाले संस्थाले गर्ने कार्यहरूलाई नियमन, सुपरिवेक्षण र अनुगमनका लागि नियामकीय निकायहरूको स्थापना गरिएको हुन्छ । ती संस्थाहरूले जारी गर्ने निर्देशन सञ्चालनमा रहने संस्थाहरूले पूर्णरूपमा परिपालना गरेका छन् वा छैनन्, त्यसको आधुनिक प्रविधिको माध्यमबाट सुपरिवेक्षण, अनुगमन र निगरानी गर्ने कार्यलाई नियामकीय तथा सुपरिवेक्षकीय प्रविधि (रेगुलेटरी/सुपरभाइजरी टेक्नोलोजी) भनिन्छ । सुपरभाइजरी टेक्नोलोजी वर्तमान समयमा अपरिहार्य आवश्यकताको रूपमा प्रतिबिम्बित हुँदै आएको छ । उद्योग, व्यापार, व्यवसाय, बंैक वित्तीय संस्था, सूचनाप्रविधि र ऊर्जालगायत संस्थामा प्रविधिको प्रयोगमा क्रमश: वृद्धि भइरहेको छ । विभिन्न प्रकृतिका संस्थाहरूमा कार्य सम्पादन, त्यसको सुपरिवेक्षण र अनुगमन प्रविधिको माध्यमबाट गर्दा छोटोे समय र कम खर्चमा नियामकीय भूमिका निर्वाह गर्न सकिने भएकाले बैंकको नियामकीय प्रविधि र बैंक वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक भुक्तानी सेवाप्रदायक संस्थाहरूले प्रयोग गर्ने प्रविधि तथा ती संस्थाले गर्ने आफ्ना कार्यको सुपरिवेक्षण, नियमन गर्न प्रणालीको प्रयोग अपरिहार्य देखिन्छ ।  नेपाल राष्ट्र बंैक ऐन २०५८ दफा ७९ ले बैंक तथा वित्तीय संस्थाहरूको कामकारबाहीको नियमन गर्ने तथा भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ दफा ४५ बमोजिम भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवाप्रदायक र विद्युतीय माध्यमबाट गरिने कारोबार सञ्चालन गर्न प्रयोग गरिने उपकरणको सञ्चालनका लागि विभिन्न निर्देशन जारी गर्न सक्ने र दफा ४२ बमोजिम संस्था र कारोबारको अनुगमन, निगरानी र निरीक्षण गर्न सक्ने अधिकार रहेको छ ।  बैंक वित्तीय संस्थाहरूले नगद कारोबारको सट्टामा आधुनिक भुक्तानीका उपकरणहरूको माध्यमबाट कारोबार शुरू गर्नुअघि बंैकबाट उपकरण सञ्चालनको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकाले भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ दफा ५ बमोजिम बैंकबाट अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवाप्रदायकको काम गर्न नपाउने कानूनी व्यवस्था छ । ऐनबमोजिम भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवाप्रदायकले गर्ने कारोबार आधुनिक भुक्तानीका उपकरणहरूको प्रयोगमार्फत गर्नुपर्ने व्यवस्था रहेको छ । परम्परागत रूपमा रहेको रकमको ओसारपसारको विकल्पमा जम्मा, भुक्तानी र ट्रान्सफरसम्बन्धी सम्पूर्ण कार्यहरू उपकरणको माध्यमबाटै गर्नुपर्छ वा व्यवस्था मिलाउनुपर्छ । मुलुकमा नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापना पछि चेकको प्रयोग र चेक लिएर हिँड्नुपर्ने बाध्यताको अन्त्य भई चेकको सटही तथा राफसाफमा उल्लेखनीय प्रगति प्राप्त भएको छ । साथै अन्य उपकरणहरू आईपीएस, कनेक्ट आईपीएस र एनपीएसको प्रयोगले नगद कारोबारमा उल्लेखनीय कमी आएको छ । ठूलो रकमको कारोबारका लागि बंैकले आरटीजीएस प्रणाली कार्यान्वयनमा ल्याएसँगै विकसित मुलुकमा प्रयोगमा आइरहेका भुक्तानी प्रणालीका उपकरणहरूको प्रयोग र सञ्चालनमा क्रमश: वृद्धि भई कारोबारमा समेत अनुभव गर्न सकिने गरी प्रगति देखिएको छ ।  प्रविधिमा अत्यधिक लगानी, प्रतिस्पर्धा, छोटो समयमा प्रविधिमा फेरबदल हुने तर ग्राहकको बानीमा परिवर्तन गर्न समय लाग्ने भएकाले लगानीको तुलनामा अत्यन्त कम प्रतिफल प्राप्त हुने तर कारोबारमा चुनौती थपिँदै गएकाले सेवाप्रदायक संस्थाहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् । शहरी इलाकाका साथै ग्रामीण भेकसम्म सानो रकमको ट्रान्सफर भुक्तानी र प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले वालेटमार्फत कारोबार गरी वित्तीय पहुँच अभिवृद्धि, समय र लागतको बचत, र कारोबारमा जोखिम कम गर्न वालेट सञ्चालन गर्ने कम्पनी र भुक्तानी प्रणाली सञ्चालकको स्थापना भई सञ्चालनमा आइसकेका छन् । वालेटमार्फत हुने कारोबारबाहेक विद्युतीय माध्यमबाट गरिने अन्य उपकरणहरूमार्फत गरिने कारोबार सीधै बंैक खाताका माध्यमबाट सम्पन्न हुने भएकाले सानो रकम र कारोबार बैंक खाताबाटै गर्नुभन्दा वालेटमा रकम ट्रान्सफर गर्ने र सोही वालेटमार्फत भुक्तानी र ट्रान्सफर गर्दा कारोबारमा सहज हुन्छ । यसबाट जोखिमलाई न्यून गर्न पनि सकिन्छ ।  सन् २००८ मा विश्वमा देखिएको वित्तीय संकटपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले कारोबार सञ्चालन गर्दा नियामकीय प्रविधिको प्रयोग गर्नुपर्ने र त्यसको निरीक्षण पनि प्रविधिमार्फत गर्नुपर्ने विचार विकसित भएकाले विभिन्न उपकरणको अनुसन्धान र परीक्षण हुँदै आएको छ । नियामकीय प्रविधिअन्तर्गत संस्था सञ्चालनको लागि पूँजी विनियोजन, पारदर्शिता, तनाव परीक्षण, नगद प्रवाह, जोखिमको वर्गीकरण, सुरक्षा, वित्तीय अपराधको निरन्तर अनुगमन, व्यावसायिक असर विश्लेषण, संकट समाधान, दुर्घटना, समस्या व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीसमेतमा प्रविधिको प्रयोग गरी नियमन गर्दा वित्तीय संकट समाधान गर्न सहयोग पुग्ने देखिएको छ बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई प्रणालीगत हार्डवेयर, सफ्टवेयर, कारोबार सीमा, संस्थागत सुशासन, ग्राहकहित संरक्षण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानीसम्बन्धी विविध निर्देशनहरू जारी गरेकाले कार्यान्वयन जानकारीका लागि स्थलगत, गैरस्थलगत सुपरिवेक्षण गरिरहेको हुन्छ । पत्रमार्फत जानकारी लिने/दिने अवस्थाको अन्त्य गर्न बैंक र सेवाप्रदायक संस्थाहरूले निर्देशनहरूको कार्यान्वयन अवस्था र संस्थाहरूले विविध उपकरणहरूमार्फत गरिरहेको कारोबार विवरण ड्याशबोर्डमार्फत प्राप्त गर्नसक्ने अवस्थाको सृजना भएमा जोखिम न्यूनीकरण गर्न सहज हुने देखिएको छ । विद्युतीय माध्यमबाट गरिने कारोबारको निरन्तर निगरानी सुपरभाइजरी टेक्नोलोजीको माध्यमबाट विवरणको प्राप्ति र अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रणालीको विकास र कार्यान्वयन गर्दा निर्देशनको सफल कार्यान्वयन, कारोबारमा जोखिम न्यूनीकरण, वित्तीय स्थायित्व र पारदर्शिताको विकास भई सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न तथा बैंकले लिएको उद्देश्य परिपूर्ति गर्न सहज हुने देखिन्छ ।  नियामकीय निर्देशनहरूको कार्यान्वयन प्रगतिको मूल्यांकनका लागि संस्थाहरूसँग पहुँच विस्तार र उपकरणमा गरिने लगानीको अतिरिक्त नियामकीय टेक्नोलोजीमा पनि लगानी गर्नुपर्ने हुन्छ । प्रविधिमा शुरूमा धेरै लगानी गर्नुपर्ने भए पनि जनशक्तिमा गरिने लगानीभन्दा भविष्यमा सस्तो हुने देखिन्छ । कारोबारमा जोखिम वृद्धि हुने सम्भावना रहेकाले समयमै जोखिमलाई न्यूनीकरण गर्न सकिएन भने विश्वसनीयतामा कमी आई संस्था सञ्चालनमा समेत असर पर्छ । कारोबार संख्या र सीमा, सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन र कारोबारको सुरक्षाका लागि गुणस्तरीय निगरानी आवश्यक पर्छ । ठूलो संख्यामा रकमको कारोबार हुने भएकाले त्यसको निगरानी जनशक्तिबाट तोकिएको समयमा गर्न नसकिने र सोबाट संख्या निर्देशन उलंघन हुने भएकाले सुरक्षाका लागि समेत प्रणालीगत सुपरिवेक्षण आवश्यक देखिएको छ ।  मुलुकमा भुक्तानी सेवाप्रदायक संस्थाहरूको संख्या बढी भएको र लगानीको अभावमा ती संस्थाले बैंकबाट अनुमतिपत्र प्राप्त गर्दा तोकिएका शर्तबमोजिम कार्य गर्न सकेका छैनन् । बैंक वित्तीय संस्थाहरूले पनि विद्युतीय माध्यमबाट गरिने उपकरणको प्रयोग गरी वालेट कम्पनीहरूले जस्तै सेवा प्रदान गरिरहेकाले बंैकहरूसँग ग्राहक लगानी र प्रणालीगत क्षमता बढी हुँदा सेवाप्रदायक संस्थाहरूले प्रतिस्पर्धा गर्न कठिन छ । प्रविधिमा अत्यधिक लगानी, प्रतिस्पर्धा, छोटो समयमा प्रविधिमा फेरबदल हुने तर ग्राहकको बानीमा परिवर्तन गर्न समय लाग्ने भएकाले लगानीको तुलनामा अत्यन्त कम प्रतिफल प्राप्त हुने तर कारोबारमा चुनौती थपिँदै गएकाले सेवाप्रदायक संस्थाहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् । भुक्तानी सेवाप्रदायक संस्थाहरूको चुक्ता पूँजी न्यून र कारोबारबाट प्राप्त हुने शुल्कसमेत कम भई अधिकांश संस्थाहरू नोक्सानीमा सञ्चालन भएकाले नियामकीय प्रविधि र कारोबारको निगरानी सुपरभाइजरी प्रविधिबाट गर्न उत्साहित देखिएका छैनन् । तर, ती संस्थाले विद्युतीय उपकरणमार्फत कारोबार गर्ने हुँदा तिनीहरूको नियमन र निगरानी प्रविधिमार्फत नै गर्नुपर्ने बाध्यात्मक अवस्था छ । बैंकबाट जारी गरिएको एकीकृत निर्देशन नं ६ को बुंदा नं १६ मा भएको व्यवस्था बैंक वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा उक्त कोषबाट खर्च बेहोर्ने सकिने क्षेत्रहरू बैंकबाट यकीन गरिएको हुँदा भुक्तानी प्रणाली सञ्चालक/भुक्तानी सेवाप्रदायक संस्थाहरूले नियामकीय प्रविधि र सुपरभाइजरी प्रविधिको खरीद र सञ्चालनमा गरिएको खर्चलाई समेत सामाजिक उत्तरदायित्व कोषबाट ब्यहोर्न सकिने क्षेत्र थप भई निर्देशन जारी भएमा संस्थाहरूले प्रविधिमार्फत कारोबार, पहुँच वृद्धि, निर्देशन कार्यान्वयन र निगरानी एवं सुपरिवेक्षण गर्न सहज हुने देखिएको छ ।  लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार व्यक्ति हुन् ।

पूर्वसूचना दिने उपकरण चलाउन समस्या

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले २०७२ सालको भूकम्पपछि भूकम्प जानुभन्दा करिब ३० सेकेन्डअघि पूर्वसूचना दिने प्रणालीका साथै सेन्सर देशका विभिन्न स्थानमा स्थापना गर्‍यो । तर सो प्रणाली हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । चीन सरकारको सहयोगमा नास्टले हालसम्म देशभरका ६५ स्थानमा भूकम्प पूर्वसूचना प्रणाली (सेन्सर) जडान गरेको छ ।

कोर बैंकिङ प्रणालीको जोखिम न्यूनीकरणमा उदासीनता

कोर बैंकिङ प्रणालीको अर्थ बैंकिङ क्षेत्र डिजिटाइजेशन हुनु हो र सबै कारोबार प्रविधिमार्फत हुनु हो । कोर बैंकिङ सबै बैंक तथा वित्तीय संस्थामा कम्प्युटर प्रणालीका रूपमा विकास त भएको छ तर अझैं पनि कतिपय कारोबार म्यानुअल रूपमा नै गर्ने गरिन्छ । विदेशको दाँजोमा डिजिटाइजेशनको क्षेत्रमा नेपाल अझैं पछाडि छ । कोर बैंकिङ प्रणालीको दायरा फराकिलो भएसँगै यसको जोखिम न्यूनीकरणमा भने उदासीनता देखिन्छ ।  अनलाइनको माध्यमबाट अत्याधुनिक प्रविधिमा आधारित प्रणालीको प्रयोगद्वारा बैंकिङ कारोबार गर्न कम्प्युटराइज्ड प्रणालीलाई नै कोर बैंकिङ प्रणाली भन्ने गरिन्छ । यसमा बैंकिङ कारोबारको अभिलेख दीर्घकालसम्म राख्न सकिन्छ । कुनै पनि बैंकको केन्द्रीय कार्यालयमा एक सेन्ट्रल सर्भरको व्यवस्था गरिएको हुन्छ र यसमा सबै शाखा प्रशाखाहरूलाई लिंक गरिएको हुन्छ । यो वेबबेसमा आधारित हुने हुँदा बैंकिङ अभिलेख इन्टरनेटको माध्यमबाट जुनसुकै शाखाबाट सजिलै हेर्न र कारोबार गर्न सकिन्छ ।  नेपालमा विसं २०५८ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम शुरू भएसँगै कोर बैंकिङ प्रणालीले प्रश्रय पाएको हो । विशेष गरी सरकारी स्वामित्वमा रहेका दुई ठुला राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा यसले सकारात्मक प्रभाव पारेको थियो । कोर बैंकिङ प्रणालीको क्षेत्रमा बैंकिङ क्षेत्रले फड्को मारेको छ तापनि कम्प्युटरको प्रोसेसिङ प्रणाली र नयाँ बैंकिङ प्रविधिको प्रयोगमा देखिएको अज्ञानताका कारण जोखिम बढिरहेको छ । यान्त्रीकरण भइसकेपश्चात् त्यसको कमजोर क्षमता, मर्मतसम्भारमा कमी, सम्बद्ध कर्मचारीलाई उचित तालीमको अभाव आदिले यसको सही सञ्चालनमा कमजोरी देखिन्छ । सम्भावित जोखिमहरूलाई पहिचान गरी त्यसको न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्ने कार्यमा बैंकिङ क्षेत्रमा उदासीनता देखिन्छ ।  देशमा कोरोना संकटले धेरै समय बन्दाबन्दी हुँदा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमलाई बढावा दिए र यो सफल पनि भयो । धेरै मानिसले प्रयोग गरेको हुँदा यसको महत्व झन् बढ्यो । यसको प्रयोग बढेसँगै साइबर आक्रमण र ≈याकिङबाट बच्न उल्लेखनीय रूपमा मापदण्डअनुरूपको सुरक्षा प्रबन्ध गरिएको पाइएन । बैंकिङ उपकरण सञ्चालन गर्ने, मोबाइल बैंकिङ कारोबार गर्न जान्ने अर्थात् बैंकिङ प्रविधिको ज्ञान भएको ग्राहक संख्या करीब २० प्रतिशतको हाराहारीमा देखिन्छ । अधिकांश ग्राहक बैंकमा नै उपस्थित भई नगद जम्मा गर्ने र चेकद्वारा भुक्तानी लिने हुँदा बैंकिङ क्षेत्रमा अझैं ग्राहकको भौतिक उपस्थिति बढी देखिन्छ । यसलाई कम गर्न बैंकिङ प्रविधि प्रयोगका बारेमा जनसाधारणलाई वित्तीय रूपमा साक्षर तुल्याउन ढिला भइसकेको छ । यो जति ढिला हुन्छ उति हामी कोर बैंकिङको प्रणालीको उपयोगमा पछि पर्दै जान्छौं । तसर्थ बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई बैंकिङ प्रविधिको प्रयोग बारेमा वित्तीय साक्षरता दिनु आवश्यक छ । कार्यालयमा जडित कम्प्युटरलगायत प्रविधिको नियमित मर्मतसम्भार, यससम्बन्धी विषयमा कर्मचारी तालीमको साथै कोर बैंकिङ प्रणालीलाई बलियो र भरपर्दो बनाउन पर्याप्त बजेट दिनुपर्छ र निरन्तर अनुगमन गरिनुपर्छ ।  कोर बैंकिङ प्रणालीले बैंकिङ क्षेत्रमा सुशासन बढाउनेछ । ई–कर्मस, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, प्रतीतपत्र तथा बैंक ग्यारेन्टीजस्ता कार्यमा सहजता ल्याउँछ । ग्राहक सेवासमेत छिटोछरितो हुने, पेपरलेस काम हुने, कार्य बोझलाई घटाउने र ग्राहक संख्या बढाउने समेत कार्य यसले गर्छ । त्यस्तै बैंकको कार्यदक्षताको अभिवृद्धि, ग्राहक सेवामा सुधार, अत्याधुनिक भुक्तानी प्रणाली, तथ्यांकको सुरक्षित भण्डारण, आन्तरिक नियन्त्रण र निरीक्षणमा सहजता, केन्द्रीय बैंक तथा सरकारको नीति निर्माणमा सहयोग, सञ्चालन लागतमा कटौैती, दैनिक बैंकिङ कारोबारमा सहजता जस्ता महत्वका कारण कोर बैंकिङ प्रणाली निकै उपयोगी छ ।  यसका चुनौतीहरूमा तथ्यांक सुरक्षाको समस्या, खर्च बढी लाग्ने, दक्ष कर्मचारीको अभाव, नेपालमा सुस्त इन्टरनेट र बेलाबेलामा कनेक्शन आइरहने समस्या, त्यसले दैनिक कारोबारमा आउने समस्या आदि रहेका छन् । साइबर आक्रमणको बढ्दो जोखिम, सिस्टम अडिटको समस्या, फ्रड र फेक कारोबारको समस्या, वित्तीय साक्षरता अर्थात् ग्राहकमा प्राविधिक ज्ञानको अभाव पनि चुनौती हुन् ।   नेपालमा कोर बैंकिङ प्रणालीअन्तर्गत २०७९ को असार मसान्तसम्म विद्युतीय भुक्तानी प्रणालीका साधनहरू प्रयोगकर्ता एटीएम संख्या ४ हजार ६०२, मोबाइल बैंकिङ ग्राहक १ करोड ८३ लाख ७ हजार २५५, इन्टरनेट ग्राहक १ करोड ६८ लाख ४३ हजार १०० देखिन्छ । २०७९ चैतमसान्तसम्म नेपालभर क, ख, ग, घ र पूर्वाधार विकास बैंकसमेत गरी ११९ बैंक तथा वित्तीय संस्था र तिनका ११ हजार ६४३ शाखा कार्यालय छन् । सबै कोर बैंकिङ प्रणालीमा आबद्ध भए पनि अधिकांशमा ४० प्रतिशत कारोबार कागजी रूपमा गरिएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाका कतिपय कार्यालयमा अझैं पनि कागजपत्रको चाङलाई कम्प्युटराइज्ड गरी व्यवस्थित गर्न सकिएको छैन ।  नेपालको बैंकिङ क्षेत्रले कोर बैंकिङ प्रणालीको थप विकास र यस क्षेत्रको सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउन एकातर्फ प्रविधिमैत्री कानून पर्याप्त देखिँदैन भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले प्रविधिमा ठूलो लगानी गर्न नसकेको अवस्था छ । साथै पर्याप्त जनचेतना र साक्षरता समेत नभएको हुँदा कोर बैंकिङ प्रणालीलाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्न र भविष्यमा नेपाललाई पनि पेपरलेस बनाउन सम्बद्ध निकायले बेलैमा कार्ययोजना बनाई कार्यान्वयन गर्न सक्नुपर्छ । यसरी डिजिटाइजेशनको माध्यमबाट अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ ।  लेखक दिवाकर वशिष्ठ बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

भुक्तानी सेवाप्रदायकका नैतिक कठिनाइ

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकले अवलम्बन गरेको खुला बजार अर्थतन्त्र, निजीकरण र बजारीकरणले निजीक्षेत्र क्रमशः सक्षम हुँदै आएको छ । मुलुकको विकास र राजस्व असुलीमा यस क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ । सोही नीतिअनुसार केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाहरूको स्थापना र सञ्चालनमा सरल नीतिगत व्यवस्था अवलम्बन गरेअनुरूप बैंक वित्तीय संस्थाहरूको संख्यामा उल्लेखनीय वृद्धि भयो । बैंकिङ विभागको कार्यकारी निर्देशक अध्यक्ष हुने संस्थाले भूलवश कुनै निर्देशनको परिपालन नगरेको अवस्थामा बैंकको कार्यकारी निर्देशक आफैले आफूलाई स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । बैंक वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिबाट विभिन्न जोखिममा क्रमशः वृद्धि, अस्वस्थ प्रतिस्पर्धाको सृजना तथा निरीक्षण सुपरिवेक्षणमा असजिलो महसूस भएकाले धेरै शाखा, प्रणालीगत जोखिम वहन र न्यूनीकरण गर्न सक्ने क्षमता, अधिक चुक्ता पूँजी भएको सक्षम बैंक वित्तीय संस्थाको आवश्यकता महसूस गरी पूँजी वृद्धि गर्न वा मर्जरमा जान विभिन्न सहुलियत प्रदान गरी बैंकले सहजीकरण गरिरहेको छ । २०७८ माघसम्ममा ‘क’ वर्ग वाणिज्य बैंक, २७ ‘ख’ वर्ग विकास बैंक, १७ ‘ग’ वर्ग वित्त कम्पनी, १७ ‘घ’ वर्ग लघुवित्त वित्तीय संस्था, ६६ गरी १२७ ओटा संस्था कायम छन् । बैंक वित्तीय संस्थाहरूको संख्यामा वृद्धि भएसँगै बैंकले वित्तीय साक्षरता कार्यक्रमलाई विस्तारित रूपमा कार्यान्वयन गर्‍यो । बैंकिङ क्षेत्रमा खाता सञ्चालन, कर्जा उपभोग, निक्षेप परिचालन, रकम स्थानान्तरण, तथा बैंकिङसम्बन्धी विविध कार्यहरू गरी चेकमार्फत कारोबार गर्ने जनताको संख्यामा अत्यधिक वृद्धि हुँदै गयो । क्लियरिङ हाउससम्बन्धी काम गर्ने छुट्टै संस्था नभएकाले साविक बैंकिङ कार्यालयलबाट उक्त कार्य भइरहेको थियो । बिहानको कार्यालय समय र बेलुकाको कार्यालय समयभन्दा अघि बैंक वित्तीय संस्थाका चेक लिई आउने कर्मचारी, सवारीसाधनको व्यवस्थापनमा बैंकलाई अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने भयो । कर्मचारीको समय खर्च, सवारीसाधनको खर्च, चेकको व्यवस्थापन गरी समयमा खातामा रकम जम्मा गर्नुपर्ने तथा अन्तरराष्ट्रिय स्तरको क्लियरिङ हाउससमेत स्थापना गर्न आवश्यक देखिएकाले केन्द्रीय बैंक, बैंक वित्तीय संस्थाहरू र निजी कम्पनीको संयुक्त लगानीमा नेपाल क्लियरिङ हाउस लिमिटेडको अवधारणाले मूर्तरूप लिन पुग्यो । बैंक १० प्रतिशत, वाणिज्य बैंकहरू ५०, विकास बैंकहरू १५, वित्त कम्पनीहरू १५, र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको १० प्रतिशत शेयर बाँडफाँटमा उक्त कम्पनी २०६५ पुस ८ गते स्थापना भयो । संस्थाले २०६९ बाट चेकको क्लियरिङ शुरू गरी सफलतापूर्वक सञ्चालनपश्चात्, इन्टर बैंक पेमेन्ट सिस्टम्स, कनेक्ट आईपीस, कनेक्ट आरटीजीएस, कर्पोरेट पे, नेशनल पेमेन्ट इन्टरफेसजस्ता प्रणालीहरू सञ्चालन गरी प्रणालीगत माध्यमबाट गरिने कारोबारमा आधुनिकतातर्फ अगाडि बढाइरहेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ दफा ७ (२) खण्ड (क) मा ‘बैंकको आफ्नो कामकारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई उक्त संस्थाको कुल पूँजीको १० प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने’ व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुरूप बैंकको नेतृत्वमा नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापना भई सञ्चालक समितिको अध्यक्षमा बैंकिङ विभागका कार्यकारी निर्देशक तोकिने परम्परा रही आएको छ । वित्तीय समावेशिता, विद्युतीय माध्यमबाट गरिने कारोबारको पहुँच विस्तार गर्न, सानो रकमको भुक्तानीका लागि ठूलो रकम खर्चिनु पर्ने बाध्यताको अन्त्य गर्न, लाइनमा बसी कारोबार गर्ने परिपाटीको अन्त्य गरी वचत समयलाई सृजनशील कार्यमा लगाउन भुक्तानीलाई प्रविधिमय बनाउन खोजिएको छ । यसका लागि मोबाइलबाट वा अन्य उपकरणको माध्यमबाट गरिने कारोबारको विकास गरी क्रमशः नगदबाट गरिने कारोबारलाई कम गर्ने उद्देश्यले बैंकले भुक्तानी तथा फछ्र्योट विनियमावली, २०७२ जारी गरी विशिष्टीकृत विभागको रूपमा भुक्तानी प्रणाली विभागसमेत गठन गरेको छ । यसले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ लागू गरी विद्युतीय माध्यमबाट गरिने कारोबारको नियमन, ओभरसाइट र सुपरिवेक्षण गर्ने जिम्मेवारी तोकिदिएको छ । उक्त विभागले बैंक वित्तीय संस्थाहरूलाई विद्युतीय माध्यमबाट गरिने कारोबारका विभिन्न उपकरण जारी गर्ने अनुमतिपत्र प्रदान गरेको तथा गैरबैंक तथा वित्तीय संस्थाहरूलाई समेत कारोबारको पहुँच विस्तार गरी वित्तीय समावेशिता कायम गर्ने उद्देश्यले हालसम्म १० भुक्तानी प्रणाली सञ्चालक र २७ भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई स्थापना र सञ्चालन अनुमतिपत्र प्रदान गरिसकेको छ ।  भारतमा भारतीय रिजर्व बैंकको अगुवाइमा शुरूमा १० प्रमुख वाणिज्य बैंकहरूको संयुक्त लगानीमा नाफारहित संस्थाको रूपमा सन् २००८ को डिसेम्बरमा अधिकृत पूँजी ३ विलियन र चुक्ता पूँजी १ विलियन भारतीय रुपया रहने गरी नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया स्थापना गरिएको थियो । सन् २०१६ मा सार्वजनिक १३, निजी १५ बैंकहरू, विदेशी बैंक १, अन्तरप्रदेशीय सहकारी बैंक १०, क्षेत्रीय ग्रामीण बैंकहरू ७ उक्त संस्थामा आबद्ध भएका छन् । उक्त संस्थाको सञ्चालक समितिको अध्यक्ष कार्यकारी नभई मानार्थ मात्र हुने तथा उक्त पदमा केन्द्रीय बैंकबाट प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइएको छ । विद्युतीय माध्यमबाट गरिने कारोबार बैंक वित्तीय संस्थाहरूबाट मात्र सञ्चालन गर्दा दूररदराजसम्म पहुँच विस्तार गर्ने सम्भावना न्यून भएकाले अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर गैरबैंक वित्तीय संस्थाहरूलाई संस्था स्थापना र सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत व्यवस्थाअनुरूप धेरै संस्था स्थापना भई ठूलो लगानी, दक्ष जनशक्ति भएका बैंक वित्तीय संस्थाहरूसँग विद्युतीय कारोबारको पहुँच विस्तारमा प्रतिस्पर्धा गरिरहेका छन् । छोटो समयमा वालेट, कारोबार संख्या र कारोबार रकमको तथ्यांक केलाउँदा उक्त व्यवस्था प्रगति उन्मुख देखिन्छ । प्रणाली सञ्चालक र सेवाप्रदायक संस्थाहरू बैंकबाट अनुमतिपत्र प्राप्त भएकाले परिपत्र, निर्देशन, सूचना, आदेश पूर्णरूपमा परिपालना गर्नुपर्ने, नभए कारबाहीको भागीदार बन्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापनादेखि बैंकिङ विभागको कार्यकारी निर्देशक सञ्चालक समितिको अध्यक्ष हुने परम्परा रहेकाले अन्य सेवाप्रदायक संस्थाहरूलाई यस व्यवस्थाले नैतिक दबाब सृजना गरेको छ । भुक्तानी प्रणालीको नियमन, निगरानी र सुपरिवेक्षण भुक्तानी प्रणाली विभागको कार्य क्षेत्रभित्र पर्छ । बैंकिङ विभागको कार्यकारी निर्देशक अध्यक्ष हुने संस्थाले भूलवश कुनै निर्देशनको परिपालन नगरेको अवस्थामा उक्त विभागको कार्यकारी निर्देशकले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । बैंकिङ विभागको कार्यकारी निर्देशकले सञ्चालक समितिमा छलफल गराई प्रतिउत्तर पेश गर्नुपर्ने अवस्था आएमा दुई विभागको राम्रो सम्बन्ध नहुन सक्छ । बैंकिङ विभागको कार्यकारी निर्देशक भुक्तानी प्रणाली विभाग र भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक बैंकिङ विभागमा सरुवा हुन सक्ने भएकाले विभागीय कामकारबाहीमा सामाञ्जस्य नहुन सक्छ । यसबाट दुवै विभागीय प्रमुख एकै स्थानमा सहभागी हुने कार्यक्रममा अन्य भुक्तानी प्रणाली सञ्चालक र सेवाप्रदायक संस्थाहरूलाई जिज्ञासा र समस्या उठान गर्नसमेत समस्या हुन सक्छ । बैंककै कार्यकारी निर्देशकहरू समग्र भुक्तानी प्रणालीको पहुँच विस्तारमा देखिएका समस्याको समाधान खोज्नुपर्नेमा, कुनै एक संस्थाको पक्षमा वकालत गर्नुपर्ने अवस्था आएमा बैंकलाई र अन्य सेवाप्रदायक संस्थालाई समेत सहज हुन सक्ने देखिँदैन । बैंकबाट जारी निर्देशनहरू सम्पूर्ण संस्थाहरूले अक्षरशः पालना गर्नुपर्ने भएकाले संस्थामा गरिएको १० प्रतिशत लगानीको हिसाबबाट कार्यकारी निर्देशकलाई सञ्चालक समितिको अध्यक्षमा प्रतिनिधित्व गराइनुभन्दा निर्देशक/उपनिर्देशक तहबाट प्रतिनिधित्व गराइनु उपयुक्त हुन्छ । यसले बैंकको अन्तर विभागीय काममा समेत सहजता हुन्छ र सेवाप्रदायक संस्थाहरूले आफ्ना अप्ठ्याराहरू सहज रूपमा नियमनकारी निकायसमक्ष उठान गर्न सक्छन् । भित्री रूपमा सेवाप्रदायक संस्थाहरूलाई परिरहेको कठिनाइलाई बैंकले सहज रूपमा समाधान गरिदिएमा संस्थाहरू नैतिक दबाबबाट बाहिर आउन सक्ने देखिन्छ । लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीका जानकार व्यक्ति हुन् ।

स्मार्ट सेवातर्फ नेपाल विद्युत् प्राधिकरण

स्मार्ट मिटर एक प्रकारको विद्युतीय उपकरण हो । यो उपकरणमा दोहोरो सञ्चार प्रणाली जडान गरिएको हुन्छ । जुन सञ्चार प्रणालीका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीले नियमित रूपमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । ग्राहकले बिल तिरे, नतिरेको पनि तत्क्षण प्राधिकरणको केन्द्रीय प्रणालीमा जानकारी हुन्छ । स्मार्ट मिटरिङ डिभाइसमा जडान गरिएको प्रणालीमा नै उपभोक्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गरेर विद्युत्को उपभोग गर्न सक्ने हुन्छ । ग्राहकले आफ्नो मोबाइलमा लिङ्क गरी विद्युत् उपभोगको विवरण हेर्न सकिन्छ ।

यसरी थालौँ डिजिटल नेपालको अभियान - Naya Patrika

मुलुकमा आर्थिक समृद्धिको चर्चा चलिरहँदा डिजिटल नेपालको आकांक्षा पनि सँगै जोडिएर आउँछ । डिजिटल प्रणालीका लागि पूर्वाधार, प्रयोगकर्ताको दक्षता र उपकरण आधारभूत विषय हुन्छ । त्यसका लागि आवश्यक विषयवस्तु (कन्टेन्ट)...पूरा पढ्नुहोस् »