काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि सृजना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (ख) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा.महतले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सृजना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो ।’
समृद्धि केही व्यक्तिमा सीमित हुन नहुने र समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्ने पनि उनले बताए । ‘हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं,’ उनले भने ।
डा.महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । उनले भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ, पार्टी बलियो हुन्छ र संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्ने उनको भनाइ छ । ‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोड्नुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ,’ प्रवक्ता डा.महतले भने ।
सबैमा भएको क्षमता र गुणलाई जोड्यो भने कायापलट हुने भन्दै उनले थपे, ‘कसैको बोल्ने क्षमता होला, कसैको संगठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला । कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं ।’