वैशाख ३, काठमाडौं । नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ । संघको उपेन्द्रप्रसाद पौड्याल नेतृत्वको नवनिर्वाचित समितिले आइतवार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको हो ।
संघका निवर्तमान अध्यक्ष किरणकुमार श्रेष्ठले पौड्याललाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डलका प्रमुख गुणराज भट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराए ।
भट्टले नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरे ।
नेपाल व्यवस्थापन संघमा प्रत्येक दुई वर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान छ । सोही अनुसार हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हालेका छन् ।
नवनिर्वाचित अन्य पदाधिकारीहरूमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहनराज ओझा र कोषाध्यक्षमा हेमा कुमारी अधिकारी निर्वाचित भएका छन् । त्यस्तै संघको कार्यकारी सदस्यहरूमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण बहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा रहेका छन् ।
त्यस्तै मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमन पोखरेल र सुमन शर्मा पनि संघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।
संघको प्रबन्ध समितिमा निवर्तमान सभापति पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने प्रावधान छ ।
संघमा एकजना कार्यकारी निर्देशक र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने प्रावधान छ ।
नेपाल व्यवस्थापन संघ ४१ वर्ष अघि गठन भएको संस्था हो । उक्त संस्थामा मुलुकको नीतिगत तहमा योगदान पुरयाएका व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुरयाउँदै आएका व्यक्तिहरू सदस्य रहन्छन् ।
संघले नेपाल सरकारको बजेट तथा कार्यक्रम, प्रि–बजेट छलफल, मौद्रिक नीति लगायतका गतिविधिहरूमार्फत सरकारलाई विज्ञ समूहको रुपमा सघाउँदै आएको छ । त्यस्तै संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरू पनि गर्दै आएको छ ।