मणिपाल किनबेच विवाद: कानुनले रोक्दैन, एसपीएपछि स्वीकृति लिएर बाहिरिन सक्छ लगानीकर्ता

काठमाडौं। करिब एक वर्षको कसरतपछि पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले मणिपाल मेडिकल कलेज र मणिपाल शिक्षण

सम्बन्धित सामग्री

शेयर लगानीकर्ताको अनुभव : दीर्घकालसम्म टिकिरहन निरन्तरता र अध्ययनशीलता हुनुपर्छ

विगत १६ वर्षदेखि शेयर बजारमा सक्रिय लगानीकर्ता दुर्गा तिवारी हाल नेपाल इन्भेस्टर्स फोरमकी महासचिव हुन् । डेढ दशकको बजार यात्रामा आएका उतारचढावलाई प्रत्यक्ष नियालेकी तिवारीसँग सफल लगानी र चुनौतीका विषयमा आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार : शेयर बजारमा लगानीको लागि कम्पनी छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ? कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुपूर्व लगानीकर्ताले सर्वप्रथम बजार कुन विन्दुमा छ भनेर हेर्नुपर्छ । बजारको विन्दुअनुसारको लगानी रणनीति बनाउनुपर्छ जस्तो मलाई लाग्छ । अनि अर्को कुरा  कम्पनीले कति नाफा कमाइरहेको छ भनेर त्रैमासिक वित्तीय विवरण राम्रोसँग नियाल्नु जरुरी हुन्छ । कम्पनीले नियमितरूपमा लाभांश वितरण गरिरहेको छ कि छैन भन्ने सम्बन्धमा पनि ध्यान दिनुपर्ने हुन्छ । कम्पनीको वार्षिक प्रगति कस्तो भइरहेको छ, त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि कम्पनीले राम्रो प्रतिफल दिए पनि बजार माथिल्लो विन्दुमा गएको बेलामा खरीद गर्दा त्यसबाट पनि सोचेअनुरूप प्रतिफल नहुने देख्छु । ट्रेड गर्ने हो भने लगानीकर्ताले बजारको ट्रेन्ड र कस्ता कम्पनीहरूको शेयर मूल्य बढिरहेको छ र कति प्रतिफल प्राप्त भएपछि प्रोफिट बुक गर्ने भन्ने ध्यान दिनु उचित देख्छु । अर्को कुरा दीर्घकालीन लगानीमा पनि पहिला बजार कुन ठाउँमा छ ? कम्पनीको वित्तीय अवस्था एवं लाभांशको इतिहासलाई हेरेर लगानी गर्नु उचित हुन्छ ।  पूँजी बजारमा हुने उतारचढाव एवं यसको दिशा कसरी पत्ता लगाउन सकिन्छ ?  दीर्घकालीन रूपमा लगानी गर्ने लगानीकर्ताले शेयर बजार यहाँनिर छ भनेर अनुमान लगाउन सक्छन् । शेयर बजारलाई यो नै उच्चतम विन्दु अथवा न्यूनतम विन्दु भनेर पत्ता लगाउने औजार भने छैन । बजार घटेर केही तल आएपछि अब लगानी गर्दा जोखिम कम छ भन्न सकिन्छ, बजार बढेर माथि गइरहँदा मैले अनुमान गरेको प्रतिफल यत्ति नै हो, अब बजारबाट निस्कन्छु भन्ने हुन्छ । तर, बजार यहाँभन्दा बढ्छ या घट्छ भनेर पत्ता लगाउने औजार संसारभरि नै छैन ।  नयाँ लगानीकर्ताको लागि शेयर बजारमा प्रवेश गर्न र बाहिरिन कुन समय उपयुक्त हुन्छ ? धेरैजसो पूँजी बजार उच्चतम विन्दुमा पुग्दा अधिकांश नयाँ लगानीकर्ता प्रवेश गर्ने गर्छन् । त्यही बेलामै नयाँ लगानीकर्ताको आगमनले नै बजार उच्चतम विन्दुमा पुगेको हुन्छ । वास्तवमा त्यो समय लगानी गर्न नभई बेच्नका लागि उपयुक्त समय हुन्छ । नयाँ लगानीकर्ताले बजार घटिरहँदा घाटा लाग्ने डरले शेयर बेचेर बाहिरिने प्रवृत्ति छ । यसरी लगानी गर्ने उपयुक्त समयमा बाहिरिँदा बढी नोक्सानी व्यहोर्नुपर्ने हुन सक्छ । नयाँ लगानीकर्ताको रणनीतिभन्दा ठीक उल्टो भइरहेको हुन्छ । त्यसले गर्दा धेरै लगानीकर्ताहरू घाटामा हुन्छन् । अहिलेको बजारलाई हेर्ने हो भने कतिपय कम्पनीको शेयर मूल्य बुक भ्यालुको नजिक आइरहेको छ र पनि हामी लगानी गर्न डराइरहेको हुन्छौं । यो बेलाको लगानीमा जोखिमभन्दा प्रतिफल बढी हुने देखिन्छ । शेयर बजारमा जोखिम नहुने भन्ने हुँदैन । लगानीकर्ताले लगानी गर्नुपूर्व कुन समूहको शेयरमा लगानी गर्ने, कुन समूह तल्लो विन्दुमा अथवा माथिल्लो विन्दुमा छ भन्ने जस्ता कुरामा ध्यान दिएर लगानी गर्नुपर्ने हुन्छ । समग्र नेप्से परिसूचक मात्र हेर्नेभन्दा पनि समूहगत तथ्यांक इन्डेक्स हेरेर लगानी गर्नुपर्ने हुन्छ ।  पूँजी बजारमा दुई किसिमका लगानीकर्ता हुन्छन्, पहिलो एउटै कम्पनीमा धेरै पूँजी लगाउने, दोस्रो थोरैथोरै पूँजी  विभिन्न कम्पनीहरूमा लगानी गर्ने । तपाईंको विचारमा कुन राम्रो ?  लगानीकर्ता फरकफरक रुचिका हुन्छन् । कतिपय लगानीकर्ताहरू एउटै समूहको एउटै कम्पनीको शेयर किन्ने हुन्छन् भने कतिपय लगानीकर्ता छन् थुप्रै समूहका उत्कृष्ट कम्पनीहरू छानेर लगानी गर्ने । कतिपय एउटै समूहका तर भिन्दाभिन्दै कम्पनीको शेयर खरीद गर्ने, कतिपयले भने सानो पूँजी भएका कम्पनीको मात्रै शेयर खरीद गर्ने र ठूलो पूँजी भएका कम्पनीको शेयर नछुने गर्छन् । दीर्घकालीन लगानीकर्तालाई एउटै समूहका वा एउटामात्र कम्पनीमा लगानी गर्न मैले सल्लाह दिन्न । किनभने पूँजी बजारमा कुन बेला कुन समूह चल्छ भन्ने कसैलाई पनि थाहा हुँदैन । केही समय अगाडिको बुलमा लघुवित्त कम्पनीहरू चलेका थिए, कुनै बेला कमर्सियल बैंकले बुल लिड गरेको थियो । अघिल्लो वर्षको बुलमा हाइड्रोपावर, विकास बैंक र फाइनान्स सेक्टरका कम्पनीहरू थिए । त्यसले गर्दा पनि हामीले लगानी गर्दा भिन्दाभिन्दै सेक्टरका राम्रा राम्रा कम्पनीहरूमा लगानी गरेर दीर्घकालसम्म छोड्दा जोखिम कम हुने देख्छु ।  शेयर बजारमा लगानी गरेर सफलता हासिल गर्न विचार पु¥याउनुपर्ने मुख्य कुरा केके हुन् ? शेयर बजार जोखिमको क्षेत्र हुनाले यसमा लगानी गर्नेबित्तिकै प्रतिफल प्राप्त हुन्छ भन्ने हुँदैन । यथार्थ कुराहरू बुझ्नुपर्छ । किनकि शेयर बजारमा धेरैजसो  लगानीकर्ताहरू अरूले कमाएको देखेर आउनुहुन्छ । तर, उहाँहरूले शेयर बजारमा लगानी गर्दा घाटा पनि हुन्छ भन्नेतिर ध्यान दिनुहुन्न ।  त्यसैले शेयर बजारमा सफलता हासिल गर्न लगानीकर्तामा निरन्तरता, अध्ययनशीलता हुनुपर्छ । बजारमा निरन्तर टिकिरहनुपर्‍यो । शेयर बजार चक्रिय प्रणालीमा चल्ने गर्दछ । सोही कारण दीर्घकालसम्म टिकिरहनका लागि अध्ययनशील हुनुपर्छ । समयसापेक्ष रूपमा बजारको ट्रेन्डलाई विश्लेषण गर्नु जरुरी छ ।  लाभ चाहने कारोबारीले बजार कसरी चलिरहेको छ भनेर अध्ययन गर्ने र बजारप्रति अपटुडेट हुुनु नै पर्छ । यदि दीर्घकालीन लगानी गर्ने हो भने सबल कम्पनीको शेयर खरीद गरेर एउटा निश्चित विन्दुमा आएपछि विक्री पनि गर्न जान्नुपर्छ । नेपालको शेयर बजारले के भनिरहेको छ भने एकदमै लामो समयसम्म लगानी गर्दा जहाँबाट बुल शुरू भयो पछि घटेर त्यही विन्दुमा आएको अवस्था छ । मेरो अनुभवमा एक विन्दुमा पुगिसकेपछि एक्जिट हुनुपर्दछ भनेर बजारले मलाई सिकाएको छ ।

बैंकको संस्थापक शेयर विक्री

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर विक्री गर्ने क्रम बढेको देखिएको छ भने कतिपय संस्थापक शेयरधनीहरू विक्री गर्ने प्रावधान कठिन भएकाले शेयर विक्री गर्न नपाएको गुनासो गरिरहेका छन् । कुनै बेला निकै आकर्षक मानिने बैंकको शेयर अहिले यसरी धमाधम विक्री गरेर बाहिर निक्लनु खोज्नुको कारण स्पष्ट देखिएको छैन । यद्यपि अहिले बैंक तथा वित्तीय संस्थाहरूमाथि भइरहेको आक्रमण र घट्दो मुनाफाका कारण यसप्रति विकर्षण बढिरहेको अनुमान गर्न सकिन्छ । निकै पारदर्शी मानिएका यस्ता कम्पनीको संस्थापक शेयर विक्रीले कम्पनीमा खासै असर त नपर्ला तर बैंक तथा वित्तीय संस्थाप्रतिको अविश्वासका कारण यसो भएको हो भने त्यसले पछि ठूलो समस्या निम्तिन सक्छ भन्नेमा सम्बद्धको ध्यान जानु आवश्यक छ । बैंकहरूको संस्थापक शेयर विक्री गर्न निकै झमेला छ । पहिलो त अहिले संस्थापक शेयर खरीद गर्न चाहने व्यक्तिको संख्या कम छ । त्यही भएर संस्थापक शेयरको मूल्य सर्वसाधारणको शेयरको दाँजोमा निकै कम छ । अर्को, संस्थापक शेयर खरीद गर्न करचुक्ता प्रमाणपत्र आदि चाहिन्छ । त्यस्तै संस्थापक शेयर सीधै दोस्रो बजारमा विक्री गर्न पाइँदैन । यसका लागि बैंकले साबिकको अन्य संस्थापकलाई नै शेयर खरीद गर्न ३५ दिने सूचना जारी गर्छ । संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारणलाई विक्री गर्न सूचना निकालिन्छ । त्यसपछि मात्रै यसको खरीदविक्री सम्भव हुन्छ । बैंकमा संस्थापक शेयरधनीहरू अहिले शेयर बेचेर बाहिरिन खोजे पनि खरीदकर्ता नपाइएको गुनासो गर्छन् । आर्थिक संकटका कारण कारोबार मिलान गर्न केही व्यक्तिले शेयर बेचेको हुन सक्छ । यसो हो भने यसलाई समस्या मान्नुपर्ने देखिँदैन । तर, शेयरधनीहरूको भनाइमा भने ठूला लगानीकर्तासमेत संस्थापक शेयर बेच्न तयार छन् । यसो हुनुको कारण अहिले भइरहेको बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण नै हो भन्ने देखिन्छ । लघुवित्त वित्तीय संस्थाको हकमा भने नियामकीय निर्देशनका कारण संस्थापक शेयरको विक्री भएको देखिन्छ । विगतमा बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल उच्च थियो । त्यसमाथि पनि यिनीहरूको कारोबार निकै पारदर्शी छ । कुनकुन क्षेत्रमा लगानी छ, खराब कर्जा कति छ, मुनाफा कति छ, आदि सबै विवरण त्रैमासिक रूपमा सार्वजनिक गर्ने भएकाले लगानीकर्ता कम्पनीप्रति विश्वस्त हुन्छन् । अहिले पनि बैंकले सबै जानकारी दिन्छ । तर, अहिले बैंक तथा वित्तीय संस्थाले निकै नाफा कमाएको भनी प्रचारबाजी गरिएको छ । यद्यपि बैंकहरूको औसत प्रतिफल १२ प्रतिशत मात्रै रहेको देखिन्छ । अर्थात् बैंकले भन्दा बढी मुनाफा गरिरहेका क्षेत्र अरू छन् । तैपनि बैंकले नाफा बढी कमाएको भन्दै यसको निकै विरोध भइरहेको छ । बैंक तथा वित्तीय संस्थामा निजीक्षेत्रको लगानी छ । तर, निजीक्षेत्रको प्रतिनिधिमूलक भनिने कतिपय संस्था नै बैंकको विरोधमा आन्दोलनरत छन् । विधि र प्रक्रियाबाट काम गरिरहेका पारदर्शी संस्थामा निजीक्षेत्र नै विगत ५–६ महीनादेखि आन्दोलन गरिरहेको अवस्थामा यसका लगानीकर्ता पछि हट्नु अन्यथा होइन । त्यसमाथि पनि अहिले बैंकहरूले लिएको ब्याजदर निकै चर्को भनी घटाउन चौतर्फी दबाब छ । बजारमुखी अर्थतन्त्रमा बजारकै उपकरण प्रयोग गरी ब्याजदरलाई अपेक्षित सीमामा राख्न सकिन्छ तर अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म ब्याजदर घटाउने कुरा बताइरहेका छन् । बजारमा पैसाको आपूर्ति बढाउने उपायको खोजीमा भने सरकारको चासो छैन । यस्तोमा लगानीकर्ता आत्तिनु अन्यथा होइन । यसमाथि पनि अहिले बैंकहरूको खराब कर्जा बढिरहेको छ । नियामक नेपाल राष्ट्र बैंकले विभिन्न प्रावधान राखेर कर्जा विस्तार र मुनाफा वितरणमा अंकुश लगाइरहेको छ । यसले पनि संस्थापक शेयरधनी प्रभावित हुनु स्वाभाविक हो । मुुलुकको आर्थिक गतिविधिमा कमी आएकाले उद्योगव्यवसाय प्रभावित भएका छन् । चर्को ब्याजदर खेप्न नसकेर ऋणीहरू जायजेथा बेचेर भए पनि ऋणबाट उम्कन खोजिरहेको अवस्था पनि छ । यसले पनि बैंकहरूको संस्थापक शेयर विक्री बढेको हुन सक्छ । जेहोस्, निकै पारदर्शी मानिएका यस्ता कम्पनीको संस्थापक शेयर विक्रीले कम्पनीमा खासै असर त नपर्ला तर बैंक तथा वित्तीय संस्थाप्रतिको अविश्वासका कारण यसो भएको हो भने त्यसले पछि ठूलो समस्या निम्तिन सक्छ भन्नेमा सम्बद्धको ध्यान जानु आवश्यक छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट

बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २६ अंकले घटेर दुई हजार एक सय १२ दशमलव ४७ बिन्दुमा आइपुगेको छ । लगातार आएको गिरावटले लगानीकर्ता प्यानिक बन्न...

जीडीपीमा वैदेशिक लगानीको अंश कमजोर

मुलुकको आर्थिक विकासका लागि नेपालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन निकै जोड दिए पनि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान १ प्रतिशत पनि पुगेको छैन । यसको अर्थ नेपालले आर्थिक रूपान्तरणका लागि वैदेशिक लगानीको जति अपेक्षा गरेको छ त्यसको दाँजोमा निकै कम लगानी भित्रिएको छ भन्ने देखिन्छ । जीडीपीमा वैदेशिक लगानीको अंश बढाउने हो भने लगानी पनि बढी भित्रिनु आवश्यक हुन्छ । तर, नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्न सकेको देखिँदैन । वैदेशिक लगानीका कम्पनीहरू धेरैभन्दा धेरै ल्याउन नेपालले अहिले भएका अवरोधहरू हटाउनु जरुरी छ । मुख्य कुरा नीतिगत स्थायित्व हुनुपर्छ र वैदेशिक लगानीलाई लिएर अनेक राजनीतिक रंग दिइनु हुँदैन । वैदेशिक लगानी भित्र्याउनकै लागि नेपालले लगानी सम्मेलनहरूको आयोजना गर्‍यो । त्यसमा ठूलो परियोजनाहरू लगानीका लागि प्रस्ताव गरिएका थिए । केही परियोजनामा लगानीको प्रस्ताव पनि आएका थिए । तर, लगानीका लागि इच्छा देखाएका कम्पनीहरूले लगानी ल्याउन भने चासो दिएको पाइँदैन । प्रतिबद्धताको आँकडा ठूलो भए पनि वास्तविक लगानीको अंश भने ज्यादै कम देखिन्छ । किन लगानीकर्ताले इच्छा देखाएर पनि लगानी ल्याउन चाहेनन् भन्नेमा नेपालले पर्याप्त चासो दिएको पाइँदैन । लगानी कम भएपछि यसले जीडीपीमा योगदान पनि कम हुनु स्वाभाविकै हो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका ठूला कम्पनीहरू खासै छैनन् । भएका कम्पनीहरूले पनि थप लगानी गरेका छैनन् । केही वैदेशिक लगानी बाहिरिने क्रममा छ जुन नेपालका लागि सकारात्मक हुँदैन । हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकले आफ्नो शेयर बेचेर बाहिरिन खोजेको छ भने नेपाल बंगलादेशमा रहेको बंगाली कम्पनीले पनि आफ्नो शेयर विक्रीका लागि सहमति भएको सूचना दिएको छ । यसले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य होइन भन्ने सन्देश दिएको छ । त्यही भएर लगानीका लागि इच्छा देखाएका विदेशी लगानीकर्ता लगानी ल्याउन उत्साहित नदेखिएका हुन सक्छन् । नेपालले वैदेशिक लगानीलाई आकर्षित गर्न थुप्रै कानूनी सुधारहरू गरेको छ । त्यस्तै एकलद्वार सेवा केन्द्र सञ्चालनदेखि ठूला परियोजनाका लागि लगानी बोर्डलगायतको व्यवस्था गरेको छ । तर, यी प्रयास अपर्याप्त देखिएका छन् । नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी कानून पारित गर्न सकेको छैन । त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनमा पनि थुप्रै संशोधन आवश्यक भएको सरकारी अध्ययनले नै देखाएका छ । भएका संरचना र  नेपालीहरूको सोच पनि वैदेशिक लगानीका लागि सकारात्मक सन्देश दिने खालका छैनन् । वैदेशिक लगानी आवश्यक भनेर जति भनिए पनि त्यस्ता कम्पनीलाई अनेक लाञ्छना लगाउने तथा मुनाफा लैजान समेत अप्ठ्यारो पार्ने गरिएको छ । त्यही भएर निर्यात केन्द्रित भएर खोलिएको भैरहवा सेजमा समेत उद्योग खोल्न कुनै विदेशी लगानीकर्ता तयार नभएको हुन सक्छ । वैदेशिक लगानीकर्ताले स्वदेशी लगानीको अवस्था पनि विश्लेषण गर्छ । तर, नेपालको निजीक्षेत्रले मुनाफाको प्रशस्त सम्भावना भएको क्षेत्रमा लगानी गरिरहेको छैन । यो अवस्था देख्दादेख्दै कुनै पनि वैदेशिक लगानीकर्ता लगानीका लागि तयार भइहाल्छ भन्ने छैन । विदेशी लगानीकर्ता बढी आएका भए नेपालको निर्यात बढ्थ्यो । निर्यात नबढे पनि आयात कम हुन्थ्यो । यसले मुलुकभित्र ठूलो रोजगारी सृजना गथ्र्यो । यसरी रोजगारी सृजना भएपछि त्यसले जीडीपीमा योगदान दिन सक्थयो । तर, सरकारले लगानीका लागि सहज बनाउन बनाएका संयन्त्रहरूमा भनसुन र तजबिजी अधिकारले गर्दा विदेशी लगानीकर्ता आउन चाहिरहेको देखिँदैन । वैदेशिक लगानीका उद्योगहरूले नेपालमा सहायक उत्पादनका उद्योगहरू खोल्नुभन्दा करारमा त्यस्ता उत्पादन गराउन सहज मान्छन् । करारमा नेपालकै उद्योगहरूलाई उत्पादन गर्न नदिने गरी वैदेशिक लगानीका कम्पनीमाथि अनेक शर्त राखिएका छन् । यसले गर्दा आफूलाई चाहिने प्रडक्टहरू करारमा उत्पादन गराउन नेपालले हालै ल्याएका कानूनले अप्ठ्यारो पारेका छन् । यस्तो कानूनी प्रावधानले गर्दा स्थानीय उद्योगले यो अवसर गुमाएका छन् । अतः वैदेशिक लगानीका कम्पनीहरू धेरैभन्दा धेरै ल्याउन नेपालले अहिले भएका अवरोधहरू हटाउनु जरुरी छ । मुख्य कुरा नीतिगत स्थायित्व हुनुपर्छ र वैदेशिक लगानीलाई लिएर अनेक राजनीतिक रंग दिइनु हुँदैन ।

विदेशी लगानीमा निराशा

अन्य देशलेजस्तै नेपालले पनि विकासका लागि वैदेशिक लगानी आकर्षित गर्न भरमग्दुर प्रयास गरेको छ । यसका लागि एकद्वार प्रणाली, लगानी बोर्ड स्थापना लागतका कामका साथै विभिन्न कानूनहरूको निर्माण र संशोधन पनि गरेको छ । तर, जति सुधार गरे पनि वैदेशिक लगानी खासै बढ्न सकेको छैन । त्योभन्दा पनि बढी निराशाको पक्ष यहाँबाट राम्रै आम्दानी गरेका लगानीकर्ताले पनि लगानी थपेका छैनन् । बरु धमाधम आप्mनो लगानी फिर्ता लगिरहेका छन् । नेपालको बैंकिङ क्षेत्र यसको उदाहरण हो । नेपालका निजी बैंकहरूको पहिले थुप्रै विदेशी लगानीकर्ता थिए । ती बैंकले अहिले पनि राम्रै मुनाफा दिइरहेका छन् तर ती बैंकबाट विदेशी कम्पनीहरूले लगानी फिर्ता लाने क्रम बढ्दो छ । हिमालय बैंकबाट पाकिस्तानी समूह बाहिरिन प्रयास गरिरहेको छ । बंगलादेश बैंकबाट बंगाली समूह बाहिरिन खोज्दै छ । यसअघि नबिल बैंकबाट पनि विदेशी लगानीकर्ता बाहिरिएका थिए । इन्डास्वेज बैंकको अहिले नामोनिसानै छैन । यसले नेपालमा वैदेशिक लगानी थपिने होइन, घट्दै जाने तथ्यलाई संकेत गरेको छ । हविव बैंकले नेपालको हिमालयन बैंकमा २० प्रतिशत शेयर लगानी गरेको थियो । उसले आप्mनो स्वामित्वको शेयर संस्थापक शेयर विक्री गर्न चाहेको र त्यसका लागि प्रक्रिया शुरू गरिदिन आग्रह गरेको थियो । अहिले इन्भेस्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकको पाकिस्तानी अंश नेपाली कम्पनीहरूले किन्ने चर्चा चलेको छ । नेपाल राष्ट्र बैंकले २०७२ सालमा वाणिज्य बैंकहरूको चुक्ता पूँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब रुपैयाँ पुर्याउने निर्णय सार्वजनिक गर्दा नै विदेशी बैंक संस्थाहरू हच्किएका थिए । खासगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल छोडेर जान चाहेका समाचार आएको थियो । पछि राष्ट्र बैंकले विभिन्न कुरा गरेर उसलाई रोकेको हो भनिन्छ । सरकारको विभिन्न नियामकीय नियन्त्रणका कारण पछिल्लो समय बैंकको नाफामा संकुचन आउँदै गएको छ । साथै मुनाफाको रकम बाहिर लैजान पनि किचलो भइरहेको छ । त्यसैले विदेशी लगानीकर्ता बैंकिङ क्षेत्रबाट बाहिरिन खोजेको देखिन्छ । यसबाट नेपालले ठूलै पाठ सिक्नुपर्ने देखिन्छ । वैदेशिक लगानी आकर्षित गर्ने भनेर रटान दिएर मात्रै हुँदैन, उनीहरूका लागि यो क्षेत्र साँचीकै मुनाफायुक्त लाग्नुपर्छ । त्यस्तै आफ्नो लगानी सुरक्षित हुनुका साथै लगानीको सम्मान पनि हुनुपर्छ । नेपालमा विदेशी लगानीकर्ताले यस्ता विविध समस्या भोगेकाले नै उनीहरू यहाँ पुनः लगानी गर्न वा टिकिरहन नचाहेका हुन सक्छन् । यसतर्फ नीतिनिर्माताको ध्यान जानुपर्छ । सोमप्रसाद सुवेदी वनस्थली, काठमाडौं ।

कस्तो हुनुपर्छ मौद्रिक नीति

चालू आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका सन्दर्भमा अहिले मुख्यतः कोरोनाजनित संकट समाधानका उपायहरूको निरन्तरता र बजेटको पूरकका रूपमा बढी अपेक्षा गरेको पाइन्छ । अहिलेको आर्थिक दुरवस्थालाई कोरोनाको संकट न्यूनीकरण र बजेटको परिपूरकका रूपमा मात्र ल्याएर हुँदैन । कोरोनाका कारण जुन त्रास सृजना भएको छ, अब यसबाट बाहिर निस्किनु अपरिहार्य भइसकेको छ । अहिले कोरोनाका कारण अर्थतन्त्र खुम्चिएको छ । गत आर्थिक वर्षमा यो ४ प्रतिशत रहने भने पनि २ प्रतिशतभन्दा बढी नहुन सक्छ । यसकारण अहिले अर्थतन्त्रको वृद्धिका बारेमा मौद्रिक नीतिले सम्बोधन नगरे यसका लागि पुनः १ वर्ष कुर्नुपर्ने हुन्छ । मौद्रिक नीति बजेटको व्यवस्थालाई सघाउने एउटा कुरा हो । तर, यो बजेटको पूरक नै हुनुपर्छ भन्ने छैन । यो स्वतन्त्र नीति पनि हुन सक्छ । मौद्रिक नीतिको उद्देश्य सरकारी नीतिसँग समन्वय गरी त्यसलाई सही बाटोमा ल्याउने पनि हुनुपर्छ । केन्द्रीय बैंकले स्वतन्त्र नीति लिएर उक्त उद्देश्य प्राप्त गर्न सक्छ । कतिपय अवस्थामा बजेटबाट बाहिर गएर पनि काम गर्नुपर्छ । मौद्रिक नीति बजेटको पूरकमात्र हुन्छ भन्ने बुझाइ अब सान्दर्भिक हुँदैन । बैंकहरूको आयमा ७५/८० प्रतिशत ब्याजको आम्दानी हुन्छ । बैंकहरूले सेवा कम दिएका छन् । आयमा ब्याजको अंशलाई ५० प्रतिशतसम्ममा झार्नुपर्छ । अन्य सेवामा जोड दिइनुपर्छ । मौद्रिक नीति साध्य होइन, साधनमात्र हो । यसकारण यसको ध्येय साधारणतया मुद्रास्फीति रोक्नु हो । कोरोनाले ल्याएको नयाँ भूमिकामा मूल्यवृद्धि रोकेरमात्र हुँदैन । मौद्रिक नीति लगानी बढाउने खालको पनि हुनुपर्छ । विश्वको अर्थतन्त्रमा यो कुरा स्वीकार हुन थालिसकेको छ । लगानी भएपछि रोजगारी बढ्छ, त्यसैले रोजगारी पनि यसको विषय हुनुपर्छ । आर्थिक वृद्धि पनि यसको मुख्य उद्देश्य बन्नुपर्छ । मौद्रिक नीतिको पहुँच असंगठित क्षेत्रमा कसरी पुग्ने भन्नेमा पनि केन्द्रित हुन आवश्यक छ । अहिलेको बैंकिङ क्षेत्र सीमित र संगठित क्षेत्रमा मात्रै केन्द्रित भएको छ । असंगठित क्षेत्रमा यसको उपस्थिति अति कम छ । हामीकहाँ असंगठित क्षेत्रको आकार ठूलो छ । यो क्षेत्र अहिले पनि महँगो ब्याजदरमा ऋण उठाइरहेको हुन्छ । यसमा ग्रामीण बैंकको थालनीले काम गर्न सक्छ । कोरोनायताको विश्व अर्थतन्त्रको दृश्य हेरौं, अहिले यूरोप र अमेरिकी देशतिर खर्चको प्रवृत्ति बढेको छ । ती मुलुकमा त खर्च बढाउन घरघरमा पैसा पठाउने गरिएको छ । यसबाट अन्तरराष्ट्रिय बजारमा उत्पादन र सेवाको मूल्य बढ्छ । तेलको मूल्यवृद्धि यसको संकेत हो । हामीकहाँ मूल्यवृद्धि रोक्न बचतमा ब्याज बढाउने अभ्यास छ । ती देशमा त बचतमा पनि नगण्य ब्याज छ । विश्व अर्थतन्त्र अमेरिकी डलरमा चलेको छ । डलर बजारमा फालाफाल भएपछि अन्य मुद्राको मूल्य बढेर जान्छ । नेपालको अर्थतन्त्र भारतमुखी छ । यतिसम्म कि, डलरको भाउ पनि भारतीय मुद्राको आधारमा छ । भारतको अर्थतन्त्र अहिले कोरोनाका कारण समस्यामा छ । यस्तोमा भारतले वैदेशिक लगानीमा लचिलो नीति लिएको छ । लगानी आकर्षणका कारण भारतले डलरको तुलनामा आफ्नो मुद्राको भाउ नबढाई राख्न सक्छ । यस्तोमा त्यहाँ बाहिरको लगानी आउँछ । यसको फाइदा हामीले लिन सक्नुपर्छ । डलरको तुलनामा हाम्रो मुद्रा बलियो भएमा आयात बढ्न सक्छ । कमजोर गरेर राख्दा रेमिट्यान्स बढ्छ, निर्यात बढ्न सक्छ । यसमा पनि सतर्कता चाहिन्छ । विदेशी मुद्राको कारोबारलाई खुकुलो गर्नुपर्छ । मौद्रिक नीतिमा विदेशी विनिमयको सन्तुलन र करोबारको खुकुलोपन प्रमुख विषय बन्नुपर्छ । भारतमा ठूला कम्पनी आउँदा यहाँ सहायक कम्पनीलाई आकर्षित गर्न सकिन्छ । नेपाल–भारत द्विपक्षीय व्यापारका सहुलियतको उपयोग गरेर यहाँ खोलिएका उद्योगले भारतमा आपूर्ति गर्न सक्छन् । यसका लागि हामीले यहाँ आउन चाहने उद्योगलाई विशेष सहुलियत दिनुपर्छ । सहुलियत नभई ती उद्योग आउँदैनन् । भारतभन्दा यहाँ उत्पादन गर्दा केही सस्तोमा हुने गरी प्रबन्ध मिलाउनुपर्छ । नेपालमा सस्तोमा ऊर्जा दिन सकिन्छ । कम ब्याजमा पूँजी दिने व्यवस्था मिलाउन सकिन्छ । सरकारले अहिलेसम्म दिँदै आएको सहुलियतको प्राथमिकताको पुनरवलोकन गर्नुपर्छ । हामीकहाँ कृषिमा दिइएको अनुदानले खासै उपलब्धि दिएको छैन । अब यस्तो सहुलियतलाई प्रोसेसिङ, निर्माण, हाउजिङ, पर्यटन, सार्वजनिक यातायात र ऊर्जाको दरमा दिनुपर्छ । यी क्षेत्रले धेरै रोजगारी पनि तुलनात्मक बढी दिएका छन् । विदेशी मुद्रा र लगानी ल्याउन सजिलो छ । तर, बाहिरिन अत्यन्तै झन्झट छ । यसले पनि लगानीलाई प्रोत्साहन दिएको छैन । विदेशी मुद्राको कारोबार खुकुलो गर्नुपर्छ । समग्रमा मौद्रिक नीतिले लगानीलाई दिशानिर्देश गर्न सक्नुपर्छ । मौद्रिक नीतिको मूल लक्ष्य मूल्य वृद्धिमा हुन्छ । अहिले मूल्य अलिकति बढे पनि फरक पर्दैन । १० प्रतिशतसम्मको मूल्यवृद्धिले आर्थिक गतिविधि बढाउँछ । मूल्य वृद्धिको एउटा सीमा त चाहिन्छ, तर यसमा उदार हुनुपर्छ । यस्तो उदारताले अर्थतन्त्रको आकार बढाउँछ । अर्थतन्त्रको आकार ठूलो भए आघात सहने क्षमता पनि बढी हुन्छ । मूल्य वृद्धिमा ब्याजको दर बढ्ने आशंका हुन्छ । १० प्रतिशतसम्म मूल्य वृद्धि हुँदा ब्याज बढाउनु पर्दैन । यो सीमाभन्दा माथि गएमा बढाउनुपर्छ । लगानी र बचत दुवै हतोत्साहित नहुने गरी नीति लिनुपर्छ । मूल्य वृद्धिमा प्रतिफलको दर बढी हुने भएकाले पनि लगानीकर्ता आकर्षित हुन सक्छन् । मौद्रिक नीतिले मूल्यवृद्धि र ब्याजको सन्तुलन मिलाउनुपर्छ । तरलता अभावको समस्या बेलाबेलामा आउने गरेको छ । यसमा मुख्यतः सरकारको कमजोर खर्च क्षमतालाई कारण मानिन्छ, योमात्र कारण होइन । कर्जा लगानी अनुपातमा राष्ट्र बैंकले नीति खुकुलो बनाउनुपर्छ । हामीकहाँ तरलताको अन्य समानान्तर व्यवस्था छैन । यसकारण बैंकबाट हुने मुनाफालाई तरलतामा जोड्नुपर्छ । बैंकका लगानीकर्तालाई पनि अन्य क्षेत्रसरह उचित लाभांश दिएर बाँकी रकमलाई जोखिम कोषमा राख्दा तरलताको समस्या हल हुन सक्छ । तरलता अभाव समाधानका लागि बाहिरबाट रकम ल्याउन सकिन्छ । २५/३० वर्ष पहिला अर्थतन्त्रको आकार सानो हुँदा विदेशी बैंकहरू भित्रिए, तर अहिले अर्थतन्त्र विस्तार भइराख्दा बारिहबाट बैंक किन आइरहेका छैनन् ? बैंकको ब्याजदरमा सरकारको हस्तक्षेप उचित होइन । अहिले हाम्रो अर्थतन्त्र ऋणमुखी भएको छ । सकार र निजीक्षेत्र दुवै ऋणमा बढी जोड दिइरहेका छन् । उद्योगहरूमा इक्विटीको परिमाण घट्दै गएको छ । लगानीको जोखिम र प्रतिफल दर न्यून भएकाले यस्तो भएको हो । उद्योगलाई बढी इक्विटीमा कसरी लैजाने ? उद्योगहरूलाई पूँजी बजारमा जान प्रोत्साहित गरिनुपर्छ । बैंकहरूको आयमा ७५/८० प्रतिशत ब्याजको आम्दानी हुन्छ । बैंकहरूले सेवा कम दिएका छन् । आयमा ब्याजको अंशलाई ५० प्रतिशतसम्ममा झार्नुपर्छ । अन्य सेवामा जोड दिइनुपर्छ । यसको व्यवस्थानको सही औजार मौद्रिक नीतिबाट अपेक्षा गरिएको छ । हामीकहाँ ऋणको शर्त असन्तुलित छ । बैंकको शर्त हाबी देखिएका छन् । बैंक र ऋणीबीचको शर्त एकतर्फी हुनु हुँदैन । यो कुरा विश्व बैंकमा पनि उठेको हो । ऋणीको पनि अधिकार हुन्छ भन्ने कुरा जोडतोडले आएको छ । हामीकहाँ पनि यो परिवर्तन चाहिन्छ । सन्तुलन र बचाउ हुनुपर्छ । व्यापारका प्रक्रियाहरूमा पनि समस्या छन् । एलसी खोल्ने, मालसामान ल्याउने÷पठाउने, राजस्व तिर्नेलगायतमा व्यावहारिक कठिनाइ छन् । यसले पनि खर्च बढेर पूँजी फसेको हुन्छ । यसलाई सरलीकरण गरेर यस्तो रकमलाई बजारमा ल्याउने हो भने तरलता बढ्न जान्छ । यसमा मौद्रिक नीतिको भूमिका हुन्छ । अबको ५ वर्षमा अर्थतन्त्र दोब्बर नभए सामान्य खर्च थेग्न पनि राजस्व अपर्याप्त हुन सक्छ । अर्थतन्त्र बढेमात्रै राजस्व आउने हो । यसमा नीतिगत प्रावधानहरूको उद्देश्य परिवर्तन हुन आवश्यक छ । उपभोगबाट नभएर आयबाट राजस्व आउने वातावरण बनाउनुपर्छ । यसमा सन्तुलनको अपेक्षा मौद्रिक नीतिबाटै गर्न सकिन्छ । अग्रवाल निम्बस समूहका अध्यक्ष हुन् ।

विद्युत् आयात निर्यातमा सहजता

नेपालको विद्युत् उत्पादन बढ्दै जाँदा भारतीय बजारमा यसको विक्रीका लागि केही सहज वातावरण बन्दै जान थालेको छ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्जबाट विद्युत् किन्न पाउने गरी यसको सदस्य बन्न पाएको छ । यसले विद्युत् किन्नका लागि सहज बनाएको छ तर यसैमार्फत आगामी दिनमा विक्रीका लागि पनि बाटो खुलाउन सकिन्छ । भारतले त्यति बेलामात्रै नेपालसँग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायतले नेपालको विद्युत् नै महँगो छ । प्राधिकरण भारतीय विद्युत् एक्सचेन्जको सदस्य बन्नु विद्युत् किनबेचका लागि महत्त्वपूर्ण हो । तर, यो मात्रै पर्याप्त हुने देखिँदैन । नेपालले विद्युत् निर्यातको सपना देखेको दशकौं बितिसकेको छ । भारतमा मात्र होइन, बंगलादेशसँग समेत विद्युत् विक्रीका लागि पहल गरिरहेको छ र उसले यसका लागि सहमतिसमेत जनाइसकेको अवस्था छ । भारतसँग विद्युत् किनबेचका लागि पटकपटक गरी खुकुलो बनाइँदै छ । किनबेचका लागि भइरहेका पहल सकारात्मक देखिए पनि तिनको गति भने निकै सुस्त छ । यसो हुनुमा नेपालले पर्याप्त तयारी नगरी वार्तामा बस्नु र भारतीय पक्षले कुनै नयाँ विषय उठाएपछि त्यसको विषयमा निर्णय दिन नसक्नु एउटा प्रमुख कारण हो । भारतले नेपालप्रति जति आत्मीयता देखाए पनि व्यवहारतः ऊ आफ्नो स्वार्थबाट एक इन्च पनि तलमाथि गर्ने गरेको छैन । यसो गर्नु उसका दृष्टिबाट सही नै होला तर त्यसैअनुसार नेपालले आफ्नो रणनीति बनाएर उसलाई विश्वस्त पार्न नसकेको देखिन्छ । तैपनि पछिल्ला समय भारतले नेपालको केही चासोलाई सम्बोधन गर्न थालेको देखिन्छ । विद्युत् किनबेचमा भइरहेका प्रगति नै यसको उदाहरण हो । अब नेपालले विद्युत् विक्रीका लागि पनि यो एक्सचेजमार्फत पहल बढाउन आवश्यक छ । अहिलेको अवस्थामा भारतले विद्युत् किन्न सहमति दिए पनि त्यसका लागि नेपाल तयार भएको अनुभूति हुँदैन । पहिलो त नेपालले कहिलेसम्म कति परिमाणमा विद्युत् विक्री गर्न सक्छ भन्ने कुनै फ्रेमवर्क देखिँदैन । अर्को, अहिले वर्षायाममा रातको समयमा विद्युत् खेर गइरहेको छ भने बढी माग भएको समयमा भारतबाट आयात गर्नुपर्ने बाध्यता अझै केही वर्ष हट्ने सम्भावना देखिँदैन । बजार नहुँदा ठूला विदेशी लगानीकर्ता हिचकिचाएको अवस्था पनि छ । बजार सुनिश्चित भए ठूलो लगानी भित्रिने सम्भावना नभएको होइन । तर, भारतले आफ्नो रणनीतिक स्वार्थ बाझिने मुलुकको लगानीबाट उत्पादित बिजुली नकिन्ने नीति नै बनाएको छ । यस्तोमा भारतलाई विश्वासमा लिएर बजारको सुनिश्चिता खोज्नु आवश्यक छ । विद्युत् प्राधिकरण विद्युत् विक्रीका लागि प्राविधिक, व्यवस्थापकीय र प्रतिस्पर्धी क्षमताका आधारमा अपरिपक्व छ । यसको उदाहरण केही समयअघि भारतको दिल्लीस्थित डीआरपीएल नामको वितरण कम्पनीले आह्वान गरेको ठेक्कामा बढी मूल्यकै कारण प्राधिकरण पहिलो चरणमै बाहिरिएको थियो । २५ मेगावाट विद्युत् आपूर्तिका लागि उसले कबोलेको मूल्य निकै बढी भएकाले बाहिरिन परेको बताइन्छ । नेपालले कति मूल्यमा भारतीय कम्पनीलाई विद्युत् बेच्न सक्छ भन्ने कुनै अध्ययन भएको छैन । नेपाल भारतलाई विद्युत् बेचेर उन्नतितर्फ लागेको भुटानबाट लोभिएको देखिन्छ । तर, भुटानले कति मूल्यमा भारतलाई बिजुली बेचेको छ, उसको लागत कति छ भन्नेमा समेत अध्ययन गरेको पाइँदैन । भारतले त्यति बेलामात्रै नेपालस“ग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायत नेपालको विद्युत् नै महँगो छ । भारतले सौर्य ऊर्जामा ठूलो लगानी गरेको छ । २०२२ सम्ममा उसले १७५ गिगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ जुन २०३० सम्ममा ४५० गिगावाट पुर्‍याइनेछ । जलविद्युत्भन्दा सौर्य ऊर्जाको लागत सस्तो पर्छ र यसमा प्रविधिको सुधार हुँदै जाँदा स्टोर गर्न पनि सस्तो हुँदै जाने देखिन्छ । त्यसैले नेपालले मूल्यमा थप प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । नेपालले निर्यातका लागि ढिला गरे भारतीय बजारले विकल्प खोजी सक्ने हुँदा त्यसैअनुसार अघि बढ्न ढिला गर्नु हुँदैन ।