काठमाडौं। बंगलादेशबाट नेपालमा आउने पर्यटकको संख्यामा सुधार भएसँगै सामूहिक रूपमा आउनेहरू पनि बढेका छन् । शुक्रवार बंगलादेशबाट ७०० जना पर्यटक नेपाल आएका हुन् ।
बंगलादेशको एकेआइजे गू्रपबाट उक्त संख्याका कर्मचारी नेपालमा आएका हुन् । सम्राट टुर्स एण्ड ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेले यसपटक उक्त संख्यामा कर्मचारीलाई ल्याएकोमा आगामी ५ वर्षभित्र सबै कर्मचारीलाई नेपालमा भ्रमण गराउने लक्ष्य राखिएको बताए । बंगलादेशको उक्त कम्पनीमा २ लाख कर्मचारी कार्यरत रहेको भन्दै उनले भने, ‘त्यहाँका कर्मचारी पहिला विशेषगरी भारत, दुबई र थाइल्याण्डका गन्तव्यमा जाने गरेका थिए । यसपटक भने हाम्रो प्रयासपछि उनीहरूले नेपाल रोजेका हुन् ।’ सम्राट टुर्स र ढाकास्थित माउन्टेन्ट क्लबको सहकार्यमा ती कर्मचारी नेपाल ल्याइएको उनले बताए ।
उनीहरू ५ दिन नेपालमा बस्ने बताइएको छ । अहिले काठमाडौंकै होटेलमा बसेका उनीहरू ‘माइस टुरिष्ट’को रूपमा आएका हुन् । कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित आएको उक्त टोलीले विभिन्न सत्रमा छलफल, बैठक गर्ने पाण्डेको भनाइ छ । उनका अनुसार उनीहरूले काठमाडौं र ललितपुरका विभिन्न पर्यटकीय स्थलको भ्रमण समेत गर्नेछन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जुलाईसम्ममा बंगलादेशबाट १६ हजार ३१८ पर्यटक नेपाल आएका छन् । सन् २०२२ देखि नै नेपालमा आउने बंगलादेशी पर्यटकको संख्या बढेको छ । सन् २०२२ मा २५ हजार ३८३ बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘नेपाल पर्यटन तथ्यांक–२०२२’ अनुसार कोभिडपछि बंगलादेशबाट आउने पर्यटकको संख्यामा सुधार देखिएको छ । सन् २०२१ मा उक्त देशबाट ५ हजार ४४ पर्यटक आएका थिए ।