तनहुँ । तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६।४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यस वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताए । जिल्लामा १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो ।
गतवर्ष १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले बताएको छ । बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यो वर्ष धान रोप्नेबित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो,’ उनले भने, ‘अर्काेतर्फ वर्षेनि धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदै छ ।’
गाउँका टारीखेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ । राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रूपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको प्रमुख तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा विक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।’ सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने प्रमुख तिवारीको भनाइ छ ।
यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ । कार्यालयका अनुसार यस वर्ष ६ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा १६ हजार ८९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ । गतवर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, व्यास नगरपालिकास्थित शेराफाँट, बाह्रबिसे, साँगे, तनहुँसुर, भानु नगरपालिकास्थित सेपाबगैंचा, कलेस्ती, पुर्काेट, घिरिङ गाउँपालिकास्थित गजरकोटको अत्रौली, आँबुखैरेनी लगायतका फाँटमा धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मन्सुली, मकवानपुरे, रामधान सुक्खा १, सुक्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् । रासस