काठमाडौं । भारतको ठूलो बैंकमध्ये पर्ने आईसीआईसीआई बैंकको चुक्ता पूँजी १३ अर्ब ९६ करोड भारतीय रुपैयाँ रहेको छ भने कम्पनीले आफ्नो जगेडा कोषमा १९ खर्ब ८५ अर्ब भारतीय रुपैयाँ सञ्चित गरेको छ । त्यस्तै, स्टेट बैंक अफ इण्डियाको चुक्ता पूँजी रू. ८ अर्ब ९२ करोड भारतीय रुपैयाँ रहेको छ भने यस बैंकले जगेडा कोषमा ३२ खर्ब ६७ अर्ब भारतीय रुपैयाँ सञ्चित गरेको छ । पञ्जाब नेशनल बैंकको चुक्ता पूँजी २२ अर्ब २ करोड भारतीय रुपैयाँ रहेको छ भने यस बैंकले जगेडा कोषमा ९ खर्ब ७६ अर्ब भारतीय रुपैयाँ सञ्चित गरेको छ ।
नेपालमा भने केही बैंकको बाहेक धेरैको जगेडा कोष चुक्ता पूँजी भन्दा कम रहेको देखिन्छ । नेपालमा नियामक निकायहरूले चुक्ता पूँजीलाई नै बढी प्राथमिकतामा राख्दा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको जगेडा कोष चुक्ता पूँजीको तुलनामा कमजोर देखिन्छ ।
नेपालमा चुक्ता पूँजीलाई मात्र बढाउन प्रेरित गरिरहँदा कम्पनीको जगेडा कोषलाई बढाउनु आवश्यक रहेको जानकारहरू बताउँछन् । छिमेकी मुलुक भारतका नियामक निकायहरूले बैंक तथा बीमा कम्पनीहरूलाई चुक्ता पूँजीभन्दा पनि जगेडा कोष सञ्चिति (रिजर्भ) लाई बलियो बनाउन निर्देशन दिएको पाइन्छ ।
नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी चुक्ता पूँजी रू. ३६ अर्ब १२ करोड रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा रू. २० अर्ब ७३ करोड सञ्चित छ । त्यस्तै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी जगेडा कोष रहेको राष्ट्रिय वाणिज्य बैंकले दोस्रो त्रैमाससम्ममा रू. ३७ अर्ब ६४ करोड भन्दा बढी सञ्चित गरेको छ । त्यस्तै नबिल बैंकको जगेडा कोषमा रू. २८ अर्ब २५ करोड र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. २४ अर्ब १२ करोड सञ्चित गरेको छ ।