साउन १७, काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा नेपाल ईन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेण्ट बोर्डका पदाधिकारी बीच आइतवार नेपालमा ईन्टरमोडल यातायातको क्षेत्रमा गरिनुपर्ने सुधारका विषयमा द्विपक्षीय छलफल भएको छ ।
छलफल कार्यक्रममा संघका महासचिव आरबि रौनियारले संघले नेपाल–भारत व्यापार, पारबहन तथा लगानी प्रबर्द्धन लगायत दुई देश बीच हुने आर्थिक क्षेत्रसँग सम्बन्धित बिभिन्न बिषयहरुमा सहजकर्ताको रुपमा कार्य गर्दै आइरहेको बताए ।
साथै उनले नेपालमा मल्टीमोडल तथा ईन्टरमोडल ट्रान्सपोर्टको अवधारणाको शुरुवाती समयदेखिनै आफूहरु यस्को विकास तथा अन्तरराष्ट्रिय व्यवस्था अनुरुप नेपालमा पनि यस्को विकासको लागि आफ्नो क्षेत्रबाट कार्य गर्दै आएको बताए ।
सो अवसरमा सहभागीहरुले नेपालमा सञ्चालित विभिन्न यातायातका क्षेत्रहरुलाई एकीकृत रुपमा इन्टरमोडल ट्रान्सपोर्ट अन्तर्गत जोड्न पहल गर्नुपर्ने तथा हवाई माध्यमबाट हुने ढुवानीलाई मल्टीमोडल ट्रान्सपोर्ट अन्तर्गत ल्याउनु पर्ने बताएका थिए ।
नेपालमा निर्माणाधीन नयां सुक्खा बन्दरगाहरुको निर्माण तथा सञ्चालनको लागि नेपाली व्यवसायीहरुलाई प्राथमिकताका साथ टेण्डरमा सहभागी बनाउने खालको योग्याता निर्धारण गर्न तथा काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह, दोधारा चांदनीमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह (आईसीडी) लगायतको सञ्चालनमा स्वदेशी व्यवसायीहरुलाई सञ्चालन गर्न दिनका लागि सहज बनाउन पनि उनीहरुले माग गरेका थिए ।
साथै उनीहरुले नेपाली व्यवसायीहरुलाई सामान रेल कार्गो मार्फत ढुवानी गर्दा वेयरहाउसको सुबिधा दिइनुपर्ने तथा लजिस्टिक पार्क तथा सेमी लजिस्टिक जस्ता अवधारणहरु हाल विश्व पारवहनको क्षेत्रमा आईरहेको हुनाले त्यस्ता नयाँ अवधारणाहरुलाई पनि आत्मसात गरी नीति तथा योजनाहरु निर्माण गर्न पनि आवश्यक रहेको बताएका थिए ।
उनीहरुले हालसम्म पनि पारवहन तथा लजिष्टिक व्यवस्था सम्वन्धमा यसलाई नियमन गर्न आवश्यक ऐन नियमको अभावमा तदर्थवादमै कामहरु भइरहेकोले सोका लागि आवश्यक ऐन नियमको निर्माण तिब्रताका साथ गर्नुपर्नेमा पनि जोड दिएका थिए ।
यसैगरी उनीहरुले नेपालतर्फको कन्टेनर कार्गोमा मात्र ध्यान दिंदै आएकोमा हालको बदलिंदो परिबेशमा रेक, बल्क रेक र लिक्विड कार्गोको लागि पनि थप पहलकदमी लिनुपर्ने बताएका थिए ।
साथै उनीहरुले डष्ट र डर्टी कार्गोको लागि अन्य कन्साईन्मेन्ट/ कार्गोको लागि उपलव्ध गराईएको स्थानभन्दा भिन्नै ठाउँको व्यवस्था गर्न पनि माग गरेका छन् । त्यस्तै उनीहरुले नेपाल भित्रिने बस्तुहरुको पारवबहन व्यवस्थापनको लागि नेपालका अन्य स्थानहरुलाई भारतको धामरा र मुन्दरा क्षेत्रसँग नजिक रहेका क्षेत्रहरुलाई जोड्न पहल गरिनुपर्ने विषयमा पनि आ - आफ्ना धारणा राखेका थिए ।
उक्त अवसरमा बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले मूख्य रुपमा तीन ओटा बूंदाहरुलाई प्रमुख प्राथमिकतामा राखी अघि बढेको बताउँदै काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गरी सञ्चालन शुरु गर्ने बताए ।
उनले नेपालको पश्चिम क्षेत्रको दोधरा चांदनीमा सुक्खा बन्दरगाहको निर्माणकार्य अघि बढाउने, नेपाल इण्टरमोडल ट्रान्सपोट डेभलपमेण्ट बोर्डलाई प्राधिकरणमा स्तरोन्नति तथा रुपान्तरण गरी यस्को कार्यक्षेत्र वृद्धि गरी नियमनकारी निकायको रुपमा स्थापित गर्नेतर्फ प्राथमिकता दिने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत सडक यातायात तथा पारबहन कमिटीका सभापति प्रकाश सिंह कार्की, नेपाल फ्रेट फरवार्डर्स एसोशिएसनका अध्यक्ष नरेश अग्रवाल, पूर्व अध्यक्ष राजन शर्मा लगायतको सहभागिता रहेको थियो ।