मकैखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान

जेठ २२, नवलपरासी । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवर्द्धनका लागि नगरपालिकाले करीब रू. ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ। मकै प्रवर्द्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत संघीय मकै प्रवर्द्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए ।  कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तिमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए । मकै खेती लगाए बापत नगरपालिकाको तर्फबाट रू. ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताए । ३० बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जानकारी दिइएको छ ।  सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ । विसं २०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ । रासस

सम्बन्धित सामग्री

चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो ।

बाह्रबिसे नगरपालिकाका गोरु पाल्ने कृषकले पाए अनुदान

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले गोरु पाल्ने ७७६ कृषकलाई प्रोत्साहनस्वरूप रू. १० हजार अनुदान दिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो । नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो ।  नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनुपर्नेछ । अनुदानका लागि नगरपालिकाले रू. दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ । -रासस

कृषि उत्पादन र उत्पादत्वमा वृद्धि

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पूँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सृजना भएको सहभागीले बताएका छन् । सो परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले सो धारणा राखेका हुन् । सुपर जोन, जोन, ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ, बीउबिजन, प्रशोधन, यान्त्रिकीकरणको विस्तार, समूहको गठन, चक्लाबन्दी खेतीको विस्तार भएको पाइएको छ । कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने, यान्त्रिकीकरणमा सहयोग गर्ने, खेत खनजोत गर्न पावर टेलर, ट्र्याक्टरजस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ ।      परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैंची जोन पाँच, मकै जोन तीन, आलु जोन, दुई, तरकारी जोन पाँच, सुन्तला जोन पाँच, अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल १२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिए । उनले प्रदेश १ मा कृषिका ५२ वटा ब्लक र पशुका २९ ओटा ब्लक रहेको स्पष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधार हुनुपर्ने बताए । तेह्रथुम र धनकुटा परियोजना एकाइका प्रमुख बौआलाल चौधरीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला ९ करोड ८७ लाख ५२ हजार र अलैंची १६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ संखुवासभाको प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैंची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिए । यहाँ समूह २३, सहकारी १० कृषि फर्म १३८ रहेको उनले बताए ।      परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिकरुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिए । यस्तै बंगुर नश्ल, माछा भुरा, धान बीउ स्रोत केन्द्र सञ्चालन भएको र बीउमा आत्मनिर्भर भएको उनले बताए । कोशी क्षेत्रमा खेर गएको बलौटे जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उपलब्धि भएको उनले बताए । सो अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत डा. जित चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सृजना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गरे । रासस

कृषिमैत्री बन्दै बराहक्षेत्र : कृषि ल्याब निर्माणदेखि कृषकलाई अनुदान

असार ६, सुनसरी । कृषि क्षेत्रको प्रवर्द्धन तथा कृषिमा स्थानीयलाई प्रोत्साहन गर्न सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमहरु पनि कृषिमैत्री बनाएको छ ।  बराहक्षेत्र नगरपालिकाले विभिन्न अनुसन्धानका लागि कृषि ल्याब स्थापना गर्नुका साथै कृषकहरु आवश्यक सामग्रीहरु समेत वितरण गर्दै आएको छ । स्थानीय तहहरुमै पहिलो पटक बराहक्षेत्र नगरपालिकाले रोग, कीरा र बालीको अध्ययन अनुसन्धानका लागि कृषि ल्याब स्थापना गरेको छ ।  नगरपालिका परिसरमा निर्माण गरिएको ल्याब सञ्चालनका लागि तयारी अवस्थामा छ । संघीय र प्रदेश स्तरमा मात्र कृषि ल्याब रहेकामा बराहक्षेत्र नगरपालिकाले स्थानीय तहमा मुलुकमै पहिलोपटक ल्याब सञ्चालन गर्न लागेको कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए ।  चालू आर्थिक वर्षमा बराहक्षेत्र नगरपालिकाले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रको सशर्त अनुदानमा मकै प्रवर्द्धन कार्यक्रम मार्फत १० हजार केजी मकैको बिउ वितरण गरेको छ ।  टिएक्स ३६९ जातको हाइब्रिड मकैको बिउ ४७६ हेक्टरका लागि वितरण गरिएको छ । ८० कृषकलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेशिन प्रदान गरिएको छ । बराहक्षेत्र नगरपालिकाले धान प्रवर्द्धन कार्यक्रममार्फत चैते धान हडिनाथ–३ जातको बिउ २३ हेक्टरका लागि निःशुल्क वितरण गरी क्षेत्र विस्तार गरिएको नगर कृषि शाखा प्रमुख तुलसा लिम्बुले बताइन् । उन्नत धानको बिउ अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वर्षे धानको विभिन्न १२ जातको बिउ १७ हजार ६०० केजी वितरण गरिएको छ ।  यसैगरी, धान प्रवर्द्धन कार्यक्रम मार्फत २० लाख रुपैयाँ बराबरको ३ थान रिपर र १ थान कम्बाइट हार्भेस्टर वितरण गरिएको छ । कृषिमा प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत ७० मेट्रिकटन क्षमताको मिनी कोल्डस्टोर निर्माण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत साझेदारीमा ६८ लाख रुपैयाँमा कोल्ड स्टोर निर्माण भई सञ्चालमा आएको छ ।  यस्तै मन्त्रालयकै ५० प्रतिशत साझेदारीमा बांगे बजार व्यवस्थापन कृषि टहरा ६० लाखको लागतमा  निर्माण गरिएको छ । मन्त्रालयकै साझेदारीमा बराहक्षेत्र ९ ढोलबजियामा रहेको सुन्दर कृषि फार्मको २५ प्रतिशत लगानीमा ४० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ ।  यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकै ५० प्रतिशत अनुदानमा अभियानमुखी कृषि फार्म बराहक्षेत्र १० मा ६० लाखको लागतमा गोदाम घर निर्माण भएको छ । नगरपालिकाबाट विनियोजित बजेट मार्फत कृषकहरुलाई ८६ थान साना सिँचाइ विद्युतीय मोटर ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको कृषि प्राविधिक निरबहादुर राईले बताएका छन् ।  नगरमा ३ थान बोरिङ र एउटा डिप ट्युबवेल निर्माण सम्पन्न गरिएको प्राविधिक राईले बताए । उनका अनुसार नगरको कृषि शाखाले विभिन्न जातका तरकारीका बिउ १२ हजार ८०० प्याकेट वितरण गरेको छ । हिउँदे मिनी किट ३ हजार ५०० प्याकेट वितरण गरेको छ ।  आकस्मिक बाली संरक्षण कार्यक्रम मार्फत् ५ लाख बराबरको विषादी वितरण गरिएको छ । कृषि शाखाका अनुसार नगरले आइपीएम कृषक पाठशाला सञ्चालनमा ल्याएको छ । माटो शिविर, कृषि ल्याबका सामग्री खरीद र स्थलगत तालिम ११ ओटा विभिन्न वडामा सम्पन्न गरिएको छ । जसमा ३०० जना कृषक सहभागी भएका छन् ।  नगरले ५० प्रतिशत अनुदानमा स्पेयर ट्यांकी वितरण गरेको छ । प्राविधिक राईका अनुसार नगरपालिकाले कृषक परिचय पत्रका लागि सफ्टवेयर खरीद गरी उत्पादन नियन्त्रण प्रणाली अन्तर्गत कृषकको विवरण दर्ता गरिएको छ ।  हाल सफ्टवेयरमा ८३६ जना कृषकले विवरण दर्ता गराएका छन् । यसैगरी पकेट विकास कार्यक्रम अन्तर्गत सर्शत अनुदानमा ४ ओटा च्याउ पकेट क्षेत्र र एउटा तरकारी पकेट क्षेत्र सञ्चालनमा रहेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् ।

पाल्पामा मौरीपालन प्रवर्द्धन कार्यक्रम

पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ । जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ । केन्द्रको सहयोगमा तानसेन नगरपालिका–८ मदन पोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका–८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको हो । मणि मौरीपालन पकेट समितिले गत वर्षदेखि नै मौरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । समितिले एक हजार २०० मौरी घारमा मौरी पकेट कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा यहाँका २३ घरका कृषक आबद्ध छन् जसमध्ये कम्तिमा एक घरले ५० देखि बढीमा १५० सम्म घारमा मौरीपालन गरेका छन् । चालू आवमा केन्द्र र पकेट समितिको समन्वयमा रु २१ लाख ५०० को लागतमा ३३३ खाली मौरीघार तथा मौरीजन्य सामग्री, औषधि कृषकलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारी बताउनुहुन्छ ।