पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ । जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ । केन्द्रको सहयोगमा तानसेन नगरपालिका–८ मदन पोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका–८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको हो ।
मणि मौरीपालन पकेट समितिले गत वर्षदेखि नै मौरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । समितिले एक हजार २०० मौरी घारमा मौरी पकेट कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा यहाँका २३ घरका कृषक आबद्ध छन् जसमध्ये कम्तिमा एक घरले ५० देखि बढीमा १५० सम्म घारमा मौरीपालन गरेका छन् ।
चालू आवमा केन्द्र र पकेट समितिको समन्वयमा रु २१ लाख ५०० को लागतमा ३३३ खाली मौरीघार तथा मौरीजन्य सामग्री, औषधि कृषकलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारी बताउनुहुन्छ ।