नेपाली कांग्रेस यतिबेला फुटबलमा हारेको टीम जस्तो भएको छ। किपर भन्छ, स्ट्राइकरले गोल गर्न सकेन। स्ट्राइर भन्छ, डिफेन्सले राम्रो खेलेन। डिफेन्स भन्छ, अगाडि देखेको बल समेत किपरले रोक्न सकेन। यहाँ किपरले स्ट्राइकरलाई, स्ट्राइकरले मिडफिल्डलाई र मिडफिल्डले डिफेन्सलाई दोष दिइरहेको छ। तर अहिलेको हारपछि कोही पनि जिम्मेवारीबाट भाग्ने कुरा गलत हुन्छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नेपाली कांग्रेसको पराजयको पछाडि भिन्नभिन्न चार वटा पाटो छन्। दुई पाटा कांग्रेससँग सम्बन्धित छ। दुई पाटा गठबन्धनसँग सम्बन्धित छन्। पहिला खेलाडीको रूपमा रहेको कांग्रेसकै पाटो केलाअौं। नेपाली कांग्रेसले आफूले गरेको काम निर्वाचनमा बिकाउन सकेन। हामीले सकेनौँ। हामीले शान्ति स्थापनामा नायकत्व दियौँ। यो निर्वाचन शान्ति प्रक्रिया पूरा भएपछिको राष्ट्रिय निर्वाचन हो। तर पनि हामीले त्यो कुरा स्थापित गर्न सकेनौँ। यो संविधान निर्माणपछिको चुनाव हो। विगतमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई चार वाम नेता प्रधानमन्त्री बने। तर कसैको नेतृत्वमा संविधान बन्न सकेन। अन्तत: कांग्रेसको नेतृत्वमा संविधान बन्यो। हाम्रो नायकत्वमा र अरुको सहभागितामा संविधान बन्यो। हामीले संविधानसँगै सबैलाई लिएर जाने सामर्थ्य राख्यौँ। तर त्यो कुरा पनि बिकाउन सकेनौँ। मधेसमा संविधान बनेपछि टायर बले। सयभन्दा बढी मान्छे मरे। तर त्यही हिंसाबाट ग्रसित, द्वन्द्वको मारमा रहेको मधेसलाई पनि सान्तवना दिएर, विश्वासमा लिएर एउटा गोली चल्न नदिइ स्थानीय निर्वाचन सम्पन्न भयो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै त्यो चुनाव सम्पन्न गर्यो। अहिले प्रतिनिधि सभा निर्वाचनमा पनि मधेसलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने योग्यता कांग्रेसले राख्यो। यति गर्दा समेत हामीले यो कुरा जनतालाई बुझाउन अझ भनौँ जनतामा बिकाउन सकेनौँ। हिंसा र अस्थिरताको बीचमा प्रगतिका काम पनि भएका छन् त्यो पनि 'सेल' गर्न सकेनौँ। हामीले ठुलो स्वरमा आत्मविश्वासका साथ त्यो कुरा गर्नुपर्थ्यो। तर सकेनौँ। त्यसले स्वभाविक रूपमा कांग्रेस मत पाउनुपर्ने अवस्थाबाट चुक्यो। दोस्रो कांग्रेसले अपनाएको रणनीति हेरौँ। हामी सुरुआतदेखि नै रक्षात्मक भयौँ। आफूले गरेको राम्रो कुरा राख्न नसकिराखेको बेला कांग्रेसका नराम्रा कुराहरूमा 'डिफेन्सिभ' बन्यौँ। चाहे लोकमान प्रकरण होस् वा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रकरण होस्, कांग्रेस रक्षात्मक भयो। अब हामीले आफ्ना विषय सेल गर्न नसक्नु र रक्षात्मक बन्नुको कारण के हो त? हो यो केलानु पर्ने हुन्छ। कांग्रेसको संगठनात्मक शैली परम्परागत भयो। परम्परागत शैलीलाई अन्त्य गर्न नसक्दा प्रतिरक्षात्मक हुन्छौँ। कांग्रेसको ६५ वर्षदेखिको चलिआएको संगठनात्मक ढाँचा र शैलीबाट चलिआएको छ। अब त्यसलाई बदल्नु पर्नेछ। अब अर्कोतर्फ हामी विपक्षी टोलीलाई हेरौं। अब वाम गठबन्धनको साइडमा हेरौँ। स्वभाविक थियो स्थानीय निर्वाचनको पहिलो ठूलो दल र तेश्रो ठूलो दलबीच एकता हुँदा गणितीय रूपमा उनीहरु बलियो अवस्थामा थिए। खेलको रणनीति त्यसअनुसार कांग्रेसले तय गर्नुपर्थ्यो। तर त्यस्तो भएन। हामीले एमाले र माओवादीको अन्तरविरोधमा प्रहार गर्न सकेनौँ। मधेसको मुद्दा सम्बोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव 'राष्ट्रघाती' भएको एमालेको भनाइ थियो। राष्ट्रघाती प्रस्ताव भन्ने एमालेसँगै संशोधन राष्ट्रघाती होइन भन्ने माओवादीसँगै उभियो। उसले संशोधनलाई जटिलता हल गर्न आवश्यक प्रस्ताव भनेको थियो। हो, यहाँनेर हामी प्रहार गर्न चुक्यौँ। उनीहरुलाई मधेसको मुद्दा छाडेको हो कि राखेको हो? एमालेले मधेस र जनजाती मुद्दालाई बोकेको हो कि छाडेको हो ? यस्ता अस्पष्टतामा प्रहार गर्न सकेनौँ। झापाको मेरै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको मत मेरो भन्दा १७ हजार ५ सय जति बढी थियो। त्यसमा राप्रपा थपिँदा १८ हजार जति भोट बढी भयो। जबकी म सानो मतान्तरले पराजित भएँ। मैले विपक्षीको मत पनि पाएको हो। तर दुई पार्टीको स्वभाविक गणितको फाइदा वाम गठबन्धनलाई भयो। जसले मेरो निर्वाचन परिणाममा असर गर्यो। मेरो मात्र होइन त्यसले राष्ट्रव्यापी असर गर्यो। यतिबेला हामीले खेल हारिसकेका छौं। अब नेपाली कांग्रेसलाई पुनर्संरचना गर्न आवश्यक छ। यो टिमलाई पुर्नसंरचना गर्न आवश्यक छ। यतिबेला त नेपाली कांग्रेस नेतृत्वको गाडी दुर्घटनामा परेको छ। गाडी भीरबाट झरेको छ। गाडी दुर्घटनामा पर्दै गर्दा नेतृत्वको दोष स्वभाविक हुन्छ। भिरबाट झरेको गाडीको ड्राइभर बदल्नेकुरा जरुरी पनि होला। तर अहिले ड्राइभर बदल्नुले मात्र समस्याको समाधान गर्दैन। अहिले कांग्रेसमा गम्भीर आत्मसमीक्षा जरुरी छ। हामी कांग्रेसमा 'मेजर अपरेसन' गर्ने मनोविज्ञान बनाउँदै छौँ। त्यो अप्रेसनले समग्रतामा समाधान खोज्ने बाटो बन्छ भन्ने मलाई…