कुनै क्षेत्रबाट अवरोध नआएमा अबको चार वर्षमा नेपाल लोडसेडिङ मुक्त भएर १७० मेगावाट विद्युत् निर्यात गर्न सकिने दाबी ऊर्जा मन्त्रालय अन्तर्गतको एक अध्ययनले गरेको छ । नेपाल विद्युत् प्राधिकरणले दैनिक लोडसेडिङको समयतालिका बढाएर १२ घण्टा पुर्याएलगत्तै ‘२० वर्षे जलविद्युत् योजना तर्जुमा कार्यदल’ले त्यस्तो दाबी गरेको हो । कार्यदलले यसै साता ऊर्जामन्त्री डा. प्रकाशशरण महतलाई प्रतिवेदन बुझाउँदै छ । जलस्रोतविद् किशोर थापाको नेतृत्वमा रहेको कार्यदलमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरू संलग्न रहेका छन् ।
प्रतिवेदनमा सन् २०१४ सम्ममा हाल निर्माण भइरहेका र निर्माण कार्य सुरु हुन लागेका गरी १६४५ मेगावाट आन्तरिक खपतका लागि उत्पादन हुने उल्लेख गरिएको छ । यसमा कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको मुख्य लगानी रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी, विद्युत् प्राधिकरणले निर्माण गर्ने १२७ मेगावाटको माथिल्लो सेती, ६१ मेगावाटको त्रिशुली ३ ए, आदि प्रमुख रहेका छन् । यी आयोजनाको निर्माणपछि हालको लोडसडिङको समस्या पूर्ण रूपमा अन्त्य हुने बताइएको छ । त्यहीकारण सोही अवधिमा निर्माण पूरा हुने १२० मेगावाटको लिखु–४ र ५० मेगावाटको बलेफीबाट उत्पादन हुने विद्युत् भने भारत निर्यात गर्न सकिने कार्यदलले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सन् २०१४ पछिका पाँच वर्ष अर्थात् सन् २०१९ सम्म ठूला आयोजनाहरूबाट मात्रै ४३३० मेगावाट विद्युत् उत्पादन हुने र त्यसमध्ये धेरैजसो निर्यात गर्न सकिने निष्कर्षसमेत सो कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
वर्ष ५, अंक २८, २०६६, चैत २–८