नेपाल एक कृषिप्रधान देश हो । यसलाई मध्यनजर गरेर कृषि मन्त्रालय र त्यस मातहत सम्बन्धित विभिन्न निकाय अस्तित्वमा छन् । तर, हरेक वर्षझैं यस वर्ष पनि किसानका माझमा मल र बीउको समस्या जस्ताको तस्तै छ । किसान निश्चिन्त भएर खेती गर्ने अवस्थामा छैनन् । उनीहरूको अन्न फलाउने सोच र त्यसका लागि कर्म गर्ने हात चिन्ता र अभावले बाँधिएका छन् । सरकारले राहत तथा सहुलियत ऋणको व्यवस्था गर्न सकिरहेको छैन । केवल किसानहरूलाई उत्साहित गर्न र भरोसा दिलाउन धानको पूर्वमूल्य निर्धारणको सूची सार्वजनिकसम्म गरेको छ । सरकारले तोकेको मूल्यमा धान बिक्रि गर्नका लागि पनि किसानले निर्धक्कले खेती गर्न पाउनुपर्छ । मौसमले साथ दिए, रोग र कीराले बाली नष्ट नगरे, मलको उचित व्यवस्था भए र उन्नत खालको सक्कली बीउबिजन भएमा मात्र धान फसल भित्र्याउन किसान सफल हुनेछन् । देशको अर्थतन्त्र तथा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा बर्खे धानले महत्व पूर्ण भूमिका खेलेको छ ।