उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोराना (कोभिड–१९) महामारीका कारण बाँके जिल्लाको परिस्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले बाँकेका नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिन बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउनुभयो । कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सीधै सम्पर्क गर्न उहाँले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिनुभयो ।