जेठ १८, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे आईपीओ सूचीकरण प्रक्रिया अघि बढेको छ ।
गत वैशाख ३१ गतेनै सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले सिडिएससीमा सूचीकरणका लागि आवेदन दिइसकेको र आगामी साताभित्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत गराउने तयारी गरेको बताएको छ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने सनराइज क्यापिटलले पुरा गरेको थियो । कम्पनीले सर्वसाधारणका aलागि छुट्याएको आईपीओ २ लाख ३४ हजार १९५ जनाले पाएका छन् ।
कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो । हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुगेको छ ।
कम्पनीद्वारा प्रवर्द्धित साङ्गे जलविद्युत् आयोजना र राधी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी- १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् ।
उक्त कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्याउने प्रक्षेपण गरेको छ ।
आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ ।
सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि रू. १३८ दशमलव ७९ देखि रू. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको लागि मूल्य तोक्ने गर्दछ ।