काठमाडौं । धितोपत्र दोस्रो बजारमा सोमवार पनि लगानीकर्ताको उत्साह कायमै रहेको छ । यो दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २ हजार ६० दशमलव ४९ विन्दुमा पुगेको हो । पछिल्लो समय १ हजार ८३० विन्दुदेखि बजार निरन्तर उकालो यात्रामा छ । पछिल्लो ९ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिन मात्र घटेको छ । सोमवार नेप्से परिसूचक १ दशमलव ८८ प्रतिशत अर्थात् ३८ दशमलव १४ अंकले बढेको हो ।
यस दिन १६५ कम्पनीको धितोपत्र मूल्यमा वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ । बढेको बजारमा ७२ कम्पनीको धितोपत्र मूल्य घटेको र पाँच कम्पनीको धितोपत्र मूल्य स्थिर रहेको जानकारीसमेत नेप्सेले दिएको छ ।
बजार निरन्तर उकालो लागेको अवस्थामा कारोबार रकमसमेत बढ्दो क्रममा छ । केही दिन अघिसम्म १ अर्ब रुपैयाँभन्दा बढीको मात्र धितोपत्र कारोबार हुँदै आएको बजारमा सोमवार भने ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो । उक्त रकम बराबरको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता धितोपत्र सोमवार खरीदविक्री भएको छ ।
बैंकहरूले ब्याजदर घटाएसँगै बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलताको उपयोग पूँजीबजारमा भएको जानकारहरू बताउँछन् । लामो समय घटेको बजारमा लगानीकर्ताले ब्याजदर घटेसँगै लगानी बढाएको ब्रोकरहरू बताउँछन् । पछिल्लो कारोबार दिन लगानीकर्तामा निकै उत्साह देखिएको भनाइ ब्रोकरहरूको छ । लगानीकर्ताको उत्साह देख्दा बजारमा अझै राम्रो सहभागिता देखिने अपेक्षा ब्रोकरहरूले गरेका छन् ।
सोमवार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड २६ लाख ७४ हजार रुपैयाँभन्दा बढीको १७ लाख १५ हजार ५७८ कित्ता शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य १४९ रुपैयाँ १० पैसा कायम भएको छ । यो दिन १३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । १३ मध्ये ६ कम्पनीको शेयर मूल्य भने १० प्रतिशत बढेको छ ।
यस दिन १० प्रतिशत शेयर मूल्य बढ्ने कम्पनीहरूमा बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, विपिडब्लु लघुवित्त र हाथवे इन्भेष्टमेण्ट नेपाल छन् । यस दिन मुक्तिनाथ कृषि कम्पनी र नेरुडे लघुवित्तको शेयर मूल्य भने ९ दशमलव ९९ प्रतिशत बढेको हो । सोमवार हिमालयन पावर पार्टनरको शेयर मूल्य सर्वाधिक ७ दशमलव ८६ प्रतिशत घटेको छ । प्रतिकित्ता १९ रुपैयाँ ६० पैसाले घटेर हिमालयन पावर पार्टनरको शेयर मूल्य प्रतिकित्ता २२९ रुपैयाँ ७० पैसा कायम भएको हो ।
यस दिन जलविद्युतबाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । जलविद्युत समुहको परिसूचक भने शून्य दशमलव ३३ प्रतिशत घटेको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ५३ प्रतिशत बढेको छ । यस्तै, बैंकिङको २ दशमलव शून्य ५ प्रतिशत, विकास बैंकको १ दशमलव ८० प्रतिशत, वित्तको २ दशमलव ५८ प्रतिशत, होटल्स तथा पर्यटनको ३ दशमलव २५ प्रतिशत, लगानीको ३ दशमलव १० प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ८१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ६९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १२ प्रतिशत, अन्यको १ दशमलव ६५ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ८५ प्रतिशत परिसूचक बढेको छ ।
कुल बजार पूँजीकरण ३१ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कायम भएको छ ।