क्लिन फिड लागू भएपश्चात् नेपालको विज्ञापन क्षेत्रमा आमूल परिवर्तन आउँछ भन्ने अपेक्षा गरिएको थियो । हुन पनि उक्त समयमा क्लिन फिड लागू नभएकै कारणले नेपालको विज्ञापन क्षेत्र धराशयी बन्दै गएको र सुधार हुन नसकेको भनेर प्रचार गरिएको थियो । कोभिड अगाडि १५–२० प्रतिशतको दरमा वृद्धि हुँदै गएको नेपाली विज्ञापन बजार त्यसपश्चात् पुन: उक्त गति लिन नसकेको तथ्यांकले देखाउँछ । प्रिन्ट क्षेत्र, रेडियो, टेलिभिजनलगायत क्षेत्रमा विज्ञापन बजार साँघुरो हुँदै गएको अवस्थामा इन्टरनेटबाट हुने विज्ञापन प्रभावकारी हुँदै गएको छ । ठूलै मात्रामा लगानी गरेर काठमाडौंको सडक खण्डमा सोलार बत्तीको जडान गरिएको थियो, तल विज्ञापन राख्ने उद्देश्यका साथ । तर, त्यहाँ समेत उल्लेखीय सहभागिता नदेख्दा, नेपालमा विज्ञापन क्षेत्र फस्टाउन नसकेको स्पष्ट बुझ्न सकिन्छ ।
हुन त नेपालमा अहिले आर्थिक मन्दी चलिरहेको छ, जसले गर्दा समग्र अर्थतन्त्र नै समस्यामा छ । उद्योग, कलकारखाना बन्द भएको यस समयमा मुख्य विज्ञापनदाताहरू – स्टील, सिमेन्ट, गाडी, मदिरा, वित्तीय संस्थाहरूले विज्ञापनका लागि बजेट घटाएको देखिन्छ । यसले गर्दा स्वाभाविक रूपमा विज्ञापन क्षेत्र संकटमा गएको बुझ्न सकिन्छ । तर, हिजो क्लिन फिड नभएर नेपाली विज्ञापन बजार विस्तार नभएको भनिएझैँ, आज अर्थतन्त्रको अवस्थालाई दोष दिइएको मात्र हो । नेपालमा विज्ञापन क्षेत्र विस्तार नहुनुको पछाडि विभिन्न कारक तत्त्वहरू रहिआएका छन् ।
सर्वप्रथम त, नेपाली वस्तु र सेवाको गुणस्तरमै प्रश्न उठ्ने गर्छ । जब नेपाली बजारमा विक्री हुने नेपाली वस्तुको माग बढी हुन्छ, तब बल्ल त्यसको विक्री बढी हुन्छ । नेपाली उत्पादन गुणस्तर नहुँदा नेपाली वस्तु र सेवाको जतिसुकै विज्ञापन गरे पनि, आयातित वस्तु र सेवाले बढी बजार प्राप्त गर्छ, जसले गर्दा विज्ञापन गरे पनि नगरे पनि कुनै औचित्य रहँदैन । नेपालमा विज्ञापन र विक्रीबीचको अध्ययन कतै भएको पाइँदैन । त्यसैले विज्ञापनलाई मिडियासँग सम्बन्ध सुमधुर पार्ने एउटा माध्यम र बाध्यताका रूपमा लिने गरिएको छ । फलस्वरूप, विज्ञापन क्षेत्रप्रति आकर्षणभन्दा पनि बोझसरह लिने गरिएको भेटिन्छ ।
एकपटक हेरिएको वा सुनिएको विज्ञापन पुन: हेर्न वा सुन्न मन नलाग्नाले श्रोता वा दर्शकमा उक्त विज्ञापनप्रति रुचि हुँदैन । रुचिको अभाव हुनुमा विज्ञापन गुणस्तरीय नहुनु एउटा कारण हो । दशकौं पुरानो विज्ञापन अहिले सम्झनु पर्दा केही सीमित विज्ञापन पनि आम मस्तिस्कमा छैन । हिजो जुन वेगमा ‘गोरखकाली टायर’, ‘उपहार चिया’, ‘रारा चाउचाउ’, ‘खुकुरी चुरोट’हरूको विज्ञापन दिमागमा बसेको थियो, आज त्यो छैन । हिजोभन्दा आज विज्ञापन गर्ने तरीका परिवर्तन भइसकेको छ । गुणस्तरहीन विज्ञापन निर्माण हुँदा विज्ञापनले उत्पादकत्व सिर्जना गर्न सकेको छैन ।
नेपालका विज्ञापन एजेन्सीहरू केही सीमित ठूला व्यक्तिहरूको हातमा रहिआएको छ । विज्ञापन नै अध्ययन गरेको भन्दा पनि व्यवसाय सम्हालेको झैं देखिने यो क्षेत्रमा नवीन सोचभन्दा पनि सीमित विज्ञापन खोसाखोस गर्ने होडबाजीमै रमाइरहेको देख्न सकिन्छ । उनीहरूलाई आफ्नो ग्राहक टिकाउन मात्र छ, विज्ञापन क्षेत्र सुधार गर्ने र नवीनतम प्रणाली विकास गर्ने सोच कतै पनि छैन । उद्योगहरूले नाफा आर्जन गरिरहेका छन्, त्यही नाफाबाट आफ्नो भाग खोस्नुपर्छ भन्ने सोच हाबी हुन थालेको देख्न सकिन्छ । यसले गर्दा नेपाली विज्ञापन क्षेत्रले ठूलो उपलब्धि हात पार्न सकेको छैन । पुरातन सोच हाबी भएकै कारण आज उत्पादन हुने विज्ञापन दशकौं पुरानोभन्दा केही फरक देखिँदैन ।
कुनै पनि क्षेत्र विस्तार हुनका लागि त्यहाँ अतिआवश्यक पक्ष भनेको दक्ष जनशक्ति हो । विज्ञापन क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ कुनै पनि युवाको उद्देश्य पारिभाषित हुँदैन । बेरोजगारीको चरम सीमामा कतै जागीर नपाएर प्रयास गरूँ न त भनेर प्रवेश गर्नेको थलो मात्र हुन सकेको छ । विज्ञापन क्षेत्र त्यस्तो व्यवस्थित पनि छैन, जसले गर्दा व्यवस्थापन संकायको विद्यार्थीको रहर त्यहाँ काम गर्ने हुँदैन । यसका लागि दुई प्रमुख कारण छन् – वृत्ति विकासको कम स्थान । जुन तहमा प्रवेश गरियो, त्यही तहबाट जागीरबाट बिदा हुनुपर्ने अवस्था छ । जसरी बैंक प्रवेश गर्ने युवाले उक्त बैंकको नायब प्रमुख कार्यकारीसम्मको सपना देख्न सक्छ, विज्ञापन क्षेत्रमा उक्त अवसर छैन, जसले आकर्षण गर्दैन । त्यसै गरी, दोस्रो कारण भनेको त्यहाँको व्यवस्थापनको समस्या हो । एउटा स्नातकोत्तर उत्तीर्ण गरेको युवा, एसएलसी पासको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था छ, अझ न्यून तलबमा । अनि कसरी होस् उक्त क्षेत्रमा दक्ष जनशक्ति ? माथिल्ला वर्गको उच्च पारिश्रमिक र नाफा, नवप्रवेशीलाई न्यून ज्याला भएपश्चात् यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, रुचि राख्ने वर्ग भए तापनि यसै क्षेत्रलाई आफ्नो कार्यथलो बनाउँछु भनी संकल्प राख्नेहरूको अभाव रहिआएको छ ।
छिमेकी मुलुक भारतमा विज्ञापन क्षेत्रमा वार्षिक ३० खर्बभन्दा बढीको कारोबार हुने गरेको छ । यस क्षेत्रमा प्रवेश मात्र गर्न पनि उच्च प्रतिस्पर्धा रहिआएको अवस्थामा नेपालमा यो क्षेत्र विस्तार हुन नसकेकै हो । अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको यस क्षेत्रमा धेरै परिवार आश्रित समेत रहन जान्छन, तर यसको विकास नहुँदा यहाँ कुनै सम्भावना नदेख्नु शायद स्वाभाविक पनि हो । मात्र एउटा अर्थहीन वेबसाइट राखेर, अवार्ड कार्यक्रम गर्न मात्र उभिएको एडभरटाइजिङ एशोसिएशन अफ नेपाल (आन)ले आफ्नो कार्यक्षेत्र विस्तार गर्न सक्नुपर्छ र सशक्त उभिन सक्नुपर्छ । दक्ष जनशक्तिको खोज गरी यो क्षेत्रलाई गति प्रदान गर्न सक्नुपर्छ । अनि मात्र यस क्षेत्रले एउटा बलियो स्थान प्राप्त गर्नेछ ।
रेग्मी बैंकर हुन् ।