धरान (अस) । लामो समयदेखि विवादित बनेको रानीदेखि धरानसम्मको ६ लेन सडक विस्तार आयोजना अन्तर्गत दुहबी खण्डमा क्षेत्राधिकारभित्रका संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना, सुनसरीले पत्राचार गरेको छ । मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिँदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेका मापदण्डविपरीतका संरचना खाली गर्न/गराउन आग्रह गरेको हो । सडकको मध्य भागबाट १५–१५ मिटर क्षेत्रका घरटहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडि बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अघि बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधका कारण दुहबीमा मात्रै सडक विस्तार हुन सकेको छैन । सडक विस्तार गर्दा दुहबीका २३३ घर भत्किनेछन् ।
दुहबीबाहेक रानी विराटनगर हुँदै इटहरीदेखि धरानसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहबी खण्डको सडक निर्माण प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । पुस २६ गते आयोजनाले नगरपालिकालाई गरेको पत्राचारमा सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख छ । बूढीखोलादेखि दुहबी बजारसम्म निर्माण स्थल खाली नहुँदा सडक विस्तार हुन नसकेको आयोजना कार्यालयले बताएको छ ।