गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उहाँको हात्तीको आक्रमणबाट मृत्यु भएपछि बिहान घरनजिक शव भेटियो ।
एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । त्यो पनि एउटै हात्तीको आक्रमणबाट । कोशी टप्पु वन्यजन्त आरक्षणको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिकाका अधिकांश गाउँ जङ्गली जनावरको आक्रमणको चपेटामा परेको छ । प्रमोद र मोतीलालजस्ताको दैनिकजसो मृत्यु हुने गरेको छ । आरक्षणबाट आएका जङ्गली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान स्थानीयवासीमा छैन ।