दुनियाँमा नेपाल मात्र एक यस्तो अद्भूत देश हो, जहाँ प्रत्येक नागरिकले पूर्ण स्वतन्त्रताका साथ सानो वा ठूलो जेजस्तो सपना पनि देख्न पाउँछ । सानैदेखि सके र मन लागे विद्यालय जान्छ, नभए जाँदैन । तर केही छैन, विद्यालय नगए पनि पछि देशको ठूलै पदमा पुग्ने सपना देख्नबाट उसलाई कसैले रोक्न सक्तैन ।
देशमा कहीँ पनि उभिएर सु गर्ने वा थुक्ने खुल्ला स्वतन्त्रतापछि अर्को कुनै स्वतन्त्रता छ भने त्यो हो सपना देख्ने स्वतन्त्रता । करोडौं मानिसहरू यस्तै सानातिना सपना देखेर ती पूरा हुने पर्खाइमै जिन्दगी बिताइदिन्छन् ।
बेलाबेलामा महान् नेताहरूले बेरोजगारहरूलाई स्वरोजगारीको कुरा सुनाउँछन् । त्यसैले, बच्चैदेखि रोजगार बन्ने सपना देख्न थाल्छन् र कोही बसको खलासी, कन्डक्टर बन्छन् त कोही इँटाभट्टातिर स्वरोजगार हुन लाग्छन् । यसरी कोही फुटपाथ अतिक्रमण गरेर तरकारी वा कपडा बेच्न थाल्छन् त कोही खोला किनारका वा सार्वजनिक जग्गा मिचेर घर बनाउन । कोही चोर बन्ने सपना देख्छन्, कोही पकेटमार । कोही कालाबजारी बन्छन् त कोही सुदखोर । कोही भने सीधै राज्यकोषमै डकैती गर्नेे सपना देख्छन् । सपना देखेपछि कतिपयले त्यसलाई साकार पनि बनाउँछन् । यहाँ कसैलाई पनि आफ्नो सपना पूरा गर्न कतैबाट पनि रोकटोक छैन । तपाईं जे सपना सजाउनु हुन्छ, त्यसलाई पूरा गराउन तपाईंलाई सहयोग गर्न एकसे एक तम्सिएका भेट्नुहुन्छ ।
जस्तै, तपाईं वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ भने तपाईंलाई सहयोग गर्न श्रम मन्त्रालय, रोजगार विभाग, मेनपावर कम्पनी, प्रहरीलगायत सबै तम्तयार छन् । हो, तपाईंको सपना पूरा गर्ने क्रममा उनीहरूले आफ्ना सपनाहरू पनि पूरा गरिरहेका हुन्छन् । तर, उद्योग खोल्ने सपना चाहिँ नदेखेकै जात्ति है ! तपाईंलाई सहयोग गर्न उद्योग विभाग, लगानी बोर्डजस्ता अनेक संघसंस्था त छन् । तर तिनले विदेश पठाउन जस्तो सहयोग गर्दैनन् । बरु मिलेसम्म तपाईंको सपनामा भाँजो हाल्ने बाटो खोज्छन् । त्यो तपाईंकै भलाइका लागि हो । तपाईंलाई थाहा छैन, तर उनीहरूलाई थाहा छ कि नेपालमा उद्योग खोल्नु भनेको नदुखेको कपाल डोरी लगाएर दुखाउनु हो ।
देशका कतिपय सपूत सानैदेखि सिपाही बन्ने सपना देख्छन्, ता कि चोक, गल्ली, पसल किनारामा खडा भएर असुली उठाउन सकियोस् । उनीहरूमध्ये कतिपय इन्स्पेक्टर, डीएसपी, एसपी आदि ठूलो हाकिम बन्ने सपना देख्छन् र ठूलै नजराना चढाएर सपना पूरा पनि गर्छन् । ठूलो हाकिम बनेपछि सामान्यतया ठूलै असुली हुन्छ । तर त्यसका लागि अलि क्षमता, आँट, राजनीतिक नेटवर्क त चाहिन्छ नै । नत्र नजरानाको रकम नउठ्दै फ्याट्ट सरुवा भयो भने चैं आफूले सोचेको सपना पूरा हुन भ्याउँदैन ।
कतिपय त बच्चादेखि नै नेता बन्ने सपना देख्न थाल्छन् । तर तिनका अभिभावकले केटाकेटीको यो सपना हुर्कनै दिन्नन् । किनकि उनीहरूलाई यो डर हुन्छ कि कतै आफ्ना बच्चा गलत बाटोमा गएर बीपी कोइराला वा कृष्णप्रसाद भट्टराई नबनून् । तर जब बालक वर्तमान नेताहरूको जस्तै आचरण गर्न थाल्छ, अभिभावक ढुक्क हुन्छन् । किनकि पछि अरूलाई सपना बेचेरै ऊ आफ्नो र आफ्नो परिवारको सपना पूरा गर्नतिर लाग्छ ।
धेरैजसो नेपाली त होश सम्हाल्न थालेदेखि नै लोकसेवा लडेर सरकारी अधिकृत बन्ने सपना देख्छन्, ता कि अतिरिक्त आम्दानीको मजा लिन पाइयोस् । तर धेरैको यो सपना पूरा हुँदैन । त्यसपछि उनीहरू निजीक्षेत्रमा जागीर खाने सपना सजाउन थाल्छन् । तर अर्थतन्त्रमा आएको ऐतिहासिक पछौटेपनका कारण धेरै युवाहरूको स्वप्नपटलमा त्यसैगरी लामखुट्टे उड्न थाल्छन्, जसरी नेटवर्क गडबड भएका बेला टेलिभिजनको स्क्रीनमा रंगहरू उड्छन् ।
सपना देख्न न कर लाग्छ, न बिजुलीको खर्च हुन्छ । त्यसैले एउटा सामान्य जोडजाड समाचार लेख्न सक्ने पत्रकार मन्त्री वा प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्ने सपना देख्न थाल्छ । औकात होस् या नहोस्, एउटा सुब्बा नेताको नजिक पुगेर छिट्टै सचिव, नभए सचिवसरहको हैसियत बनाउने सपना देख्न थाल्छ । टोलका कुखुरा चोर, जग्गा दलाल पनि क्रमबद्ध तरीकाले देशको सांसद, मन्त्री, प्रधानमन्त्री बन्ने सपना देख्न शुरू गर्छन् ।
त्यसका लागि पहिले ऊ कुनै गिट्टी, ढुंगा व्यवसाय सञ्चालक, कुनै ट्रेड युनियनको सदस्य वा कुनै सरकारी कलेजको युनियनको सदस्य बनेर नारा, जुलुस आदिबाट क्यारीयर शुरू गर्छ । त्यसपछि दुई–चार वर्षमै वडा, नगर हुँदै प्रदेश वा कुनै क्षेत्रीय तहकै नेता बन्छ । पार्टीलाई पर्दा जुलुसमा युवाहरू जुटाइदिने, चन्दा असुली गरेर पार्टीलाई आधा, आफूलाई आधा योगदान गर्न थाल्छ । यसो गर्दा गर्दै ऊ केन्द्रीय सांसद, मन्त्री हुँदै अन्तिममा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने सपना सीधै देख्न थाल्छ ।
सपना देख्नु नराम्रो पनि होइन । भविष्यमा प्रधानमन्त्री बन्छु भनेर लागेका कतिपय सपनाजीवीहरू भने अन्त्यमा राजनीतिक दलाल टाइपका हस्ती वा सल्लाहकार बन्ने सपना पूरा गर्नमा सीमित हुन्छन् । त्यसपछि कुनै आयोजनाको एउटा गाडी आफ्नो हात पारियो, एक दुईटा ठेक्का साथ पारियो वा कुनै हाउगुजी समितिको कागजी सदस्य बनेर यसो भत्तासत्ता, खर्चपानीको जोहो गर्ने सपना मात्र पूरा भए पनि जिन्दगी त सहजै चलिहाल्छ । औषधोपचार सुविधा लिन त अब केन्द्रमा पनि धाउन नपर्ने भएको छ ।
प्रदेशस्तरबाटै मुख्यमन्त्री, गृहमन्त्रीको तोक आदेशमा सुराकी शीर्षकमा आसचपु चप्काउन पाइने भएको छ क्यारे !
देशमा कहीँ पनि उभिएर सु गर्ने वा थुक्ने खुल्ला स्वतन्त्रतापछि अर्को कुनै स्वतन्त्रता छ भने त्यो हो सपना देख्ने स्वतन्त्रता । करोडौं मानिसहरू यस्तै सानातिना सपना देखेर ती पूरा हुने पर्खाइमै जिन्दगी बिताइदिन्छन् । पहिले मानिसहरूले देशमा लोकतन्त्र, गणतन्त्र ल्याउने सपना देखे र त्यसलाई पूरा गरे । तर गणतन्त्रले केही सीमित मानिसहरूको सपना मात्र पूरा गरेछ । धेरै त अहिले पनि नून, तेल, नाना, र छानाको सपनाकै वरिपरि घुमिरहेका छन् । सपना देख्न कसैलाई पनि रोकटोक छैन भने मानिसहरू ठूला सपना देख्न किन सकिरहेका छैनन् कुन्नी ? ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने महाकविको कविता बिर्सेे कि क्या हो नेपालीहरूले ?