काठमाडौं (अस) । नेपाली विश्वविद्यालयले उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उद्यमी तथा सरोकारवालाले बताएका छन् । उद्यम तथा प्राज्ञिक क्षेत्रबीच आवश्यक सहकार्य र संवाद नहुँदा विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्न चुकेको सरोकारवालाले बताएका हुन् । विश्वविद्यालयले उत्पादन गर्न नसक्दा व्यवसायले आफूले चाहेको जनशक्ति नपाएको अवस्था रहेको उनीहरूको भनाइ छ ।
जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)को सहयोगमा आइतवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, दीपक काफ्लेले विद्यार्थीहरूलाई बजारमा पठाउनुअघि आधारभूत व्यावसायिक तथा प्राविधिक ज्ञान दिनु जरुरी रहेको बताए । उनले विश्वविद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री र रोजगारमुखी शिक्षा दिई प्रतिस्पर्धी बनाउन आवश्यक रहेकोमा जोड दिए ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले विकसित देशमा उद्योग र विश्वविद्यालय सँगै बसेर कोर्स डिजाइन गरिने भएकाले विद्यार्थीहरू बजारमा सहजै बिक्ने, तर नेपालमा भने त्यस्तो सहकार्यको अभावमा उच्च शैक्षिक संस्थाहरू प्रतिस्पर्धी जनशक्ति उत्पादनमा असफल भएको बताए । ‘त्यस्तो संस्कृति यहाँ पनि अपनाउनुपर्ने देखिन्छ,’ उनले भने ।
पर्यटन उद्यमी तथा प्यासिफिक एशिया ट्राभल एशोसिएशनका पूर्वसचिव वसन्तराज मिश्रले विश्वविद्यालयहरूलाई अन्तरराष्ट्रिय अभ्यास हेरेर आफ्ना पाठ्यक्रम परिमार्जन गर्न सुझाए । ‘कोरोना महामारीपछि उपभोक्ता संरक्षण कानूनहरूको महत्त्व निकै बढेको छ, त्यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ,’ उनले भने । साथै स्वरोजगारमूलक शिक्षाको महत्त्व झन् बढेको, तर विश्वविद्यालयहरूले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)का अध्यक्ष परितोष पौड्यालले डिजिटल प्रविधिको तीव्र विकासले प्राज्ञिक क्षेत्र र उद्योगबीचको खाडल झनै बढाएको बताए । कोलम्बो प्लान स्टाफ कलेज, मनिला (फिलिपिन्स)का पूर्वमहानिर्देशक डा. रामहरि लामिछानेले गुरुकुल र आधुनिक शिक्षाका राम्रा अभ्यासको मिश्रण गरेर प्रभावकारी शिक्षण पद्धतिको विकास गरिनुपर्ने बताए ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. भीमप्रसाद सुवेदीले हरेक वर्ष ९० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू विदेशका विश्वविद्यालयमा पुगिरहेको भन्दै गुणस्तरीय शिक्षा र तालीमको सहायताले उनीहरूका लागि स्वदेशमै राम्रो आय गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।