जलवायु परिवर्तन शक्तिराष्ट्रहरूको बुद्धिविलास होइन, नेपालजस्ता हिमाली र विपन्न देशको मुद्दा हो । यो सुदूर भविष्यको दुस्वप्न पनि होइन, सन्निकट विपत्ति हो । औद्योगिक क्रान्तिको रापले उकुसमुकुस भएको वायुमण्डलभित्र पृथ्वी आफैं तातिएको छ, राप र तापले पृथ्वीलाई ज्वरो आएको छ र यो हरक्षण बढ्दै छ । सुन्दर घर पृथ्वी जलनले थलिएमा हाम्रो भविष्य के होला ? त्यसैले मानव सभ्यताकै लागि यो सर्वाधिक गम्भीर मुद्दा हो ।