वैशाख १८, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा ४१ दशमलव ६४ प्रतिशत बढी खुद नाफा गरेको छ ।
गत वर्ष रू. १ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ३३ लाखभन्दा बढी खुद नाफा गरेको हो ।यस वर्ष कम्पनीको सञ्चालन नाफा भने २६ दशमलव ७३ प्रतिशत कम भएको छ ।
गत वर्ष रू. २ करोड ७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ५१ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष खराब कर्जा संकलन गत वर्षभन्दा बढी भएकाले खुद नाफा बढेको हो । गत वर्ष रू. ५४ लाखभन्दा बढी मात्र खराब कर्जा उठाएको उक्त कम्पनीले यस वर्ष रू. २ करोड १८ लाखभन्दा बढी यो कर्जा उठाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा साढे ५७ प्रतिशत बढेर रू. १० करोड ६८ लाखभन्दा बढी कायम भएको छ । यस वर्ष कर्जा सापटी रकम भने गत वर्षभन्दा १०९ दशमलव ६० प्रतिशत बढेको छ ।
गत वर्ष रू. २९ करोड १६ लाखभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले यस वर्ष रू. ६१ करोड १३ लाखभन्दा बढी लिएको हो ।निक्षेप संकलन गत वर्षभन्दा करिब २५ प्रतिशत बढी अर्थात् रू. ६५ करोड ३१ लाखभन्दा बढी गरेको कम्पनीले ४५ दशमलव २८ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ३८ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ९५ प्रतिशत पुगेको छ । उक्त कम्पनीले सर्वसाधारणमा रू. ३ करोड ३१ लाख बराबरको आईपीओ निष्कासनको तयारी गरेको छ ।
उल्लेखित आईपीओ निष्कासनका लागि कम्पनीले फागुन २३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।