चलचित्र निर्माणमा आवश्यक सम्पूर्ण प्रविधि नेपालमै उपलब्ध भए पनि नेपाली निर्माता निर्देशक मुम्बई जान छाडेका छैनन् । ‘केही निर्माताहरू गुणस्तरीय साउन्ड मिक्सिङ र फाइनल प्रिन्टका लागि अझै पनि मुम्बई नै जाने गरेका छन्’ चलचित्र निर्देशक नवीन सुब्बा भन्छन् । यसरी मुम्बई जाँदा निर्माणको कुल लागतको १५ देखि २५ प्रतिशत रकम विदेशिने गरेको निर्देशक सुब्बा बताउँछन् ।
झन्डै एक दशकदेखि चलचित्र निर्माणका आधाभन्दा बढी काम नेपालमै हुन थालेको छ । २०५६ सालदेखि छायांकनपछिका सम्पूर्ण काम भरतको मुम्बईमा गरिन्थ्यो । प्रविधिको विकाससँगै चलचित्र निर्माण प्रक्रियामा समेत निकै परिवर्तन भएको छ ।
नेपाली चलत्रित्र उद्योगले वार्षिक करिब २५ करोड रुपैयाँ बराबरको कारोबार गर्छ । रू. ५० लाख लगानी गरेर प्रायः वर्षमा ५० फिल्म तयार गर्ने यस व्यवसायले अझैसम्म उद्योगको मान्यता पाएको छैन । एउटा चलचित्र निर्माण सुरु भएदेखि प्रदर्शन गर्दासम्म प्रत्यक्ष परोक्ष रूपमा झन्डै आड सय व्यक्ति संलग्न हुन्छन् ।
प्रत्येक वर्ष दर्जनौं नयाँ चलचित्र बनिरहेका हुन्छन् तर पनि यो पेसाले व्यावसायिक रूप लिन सकेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग राम्रोसँग गर्न नसक्नु, दक्ष जनशक्तिको कमी, लगानी डुब्ने त्रास, अनि थोरे लगानी गरेर धेरै नाफा कमाउन खोज्ने प्रवृत्तिले नेपाली चलचित्रको विकास हुन नसकेको अर्का निर्देशक विजयरत्न तुलाधर बताउँछन् । अहिले सेल्युलाइड सिनेमाको सम्पादनको काम पनि नेपालमै हुन्छ । डिजिटल चलचित्रका सम्पूर्ण कार्य पहिलेदेखि नै नेपालमै हुने गरेको छ ।
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३