महेन्द्रनगर (अस) । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तीनजना दाजुभाइले विदेशमा सिकेको शीप सदुपयोग गर्दै महेन्द्रनगरमा आल्मुनियमका झ्यालढोका बनाउने उद्योग सञ्चालनमा ल्याएका छन् । गाउँपालिका–१ का युवा सन्तोष सुनार, दिनेश सुनार र नरेश सुनारले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् ।
तीन दाजुभाइले जर्मनी प्रविधिमा आधारित मेशिन जडान गरी ‘ब्रह्मा एसएनडी युपिभिसी झ्यालढोका उद्योग’बाट उत्पादन शुरू गरेका हुन् । ५० लाखभन्दा बढी लगानीमा शुरू भएको उद्योगको बुधवार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख विष्टले युवाशक्ति विदेश पलायन हुनुभन्दा सिकेको शीप र श्रमको सदुपयोग गर्दै आर्थिक समुन्नतितर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
उनले युवा पुस्ताले शीप, श्रम, प्रविधि, पूँजी र बजारको खोजी गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने सुझाए । साथै युवा उद्यम प्रवद्र्धन कार्यक्रममा नगरपालिकाको तर्फबाट सहयोग गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
उद्योगका निर्देशक दिनेश सुनारले उच्च आधुनिक प्रविधियुक्त आल्मुनियम उद्योग कञ्चनपुरमै पहिलो भएको बताए । उनका अनुसार उद्योगबाट दैनिक २०० ओटासम्म झ्यालढोका उत्पादन भइरहेको छ । उनका साइला दाजु नरेश सुनार ७ वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । त्यहाँ उनी ढोका तथा झ्याल निर्माण गर्ने उद्योगमा कार्यरत थिए । कोभिड महामारीका कारण २ वर्षअघि उनी स्वदेश फर्किएका थिए ।
कोरोना महामारीका कारण स्वदेश फर्किएका नरेशले दुई दाजुभाइसँग मिलेर उद्योग सञ्चालन गरेका हुन् । ‘मैले विदेशमा हुँदा यही काम गरेको हुँ,’ उनले भने, ‘विदेशमा गर्ने काम आफ्नै गाउँठाउँमा गर्नेबारे पहिल्यैदेखि सोच्थेँ, जुन अहिले पूरा भएको छ ।’ उद्योगमा उत्पादित वस्तु सुदूरपश्चिम प्रदेशभर खपत भइरहेको भन्दै उनले निकट भविष्यमै उद्योगको क्षमता र विक्री सेवा विस्तार गरिने बताए ।