ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ स्थित चाँगे स्वास्थ्यचौकीको भवन समयमै निर्माण नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मीलाई सास्ती भएको छ । निर्माण सम्झौता भएको ७ वर्ष पुग्नै लाग्दा पनि भवन नबनेपछि वर्षौं पुरानो र साँघुरो भवनबाट असहज रूपले स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।
२ वर्षभित्रै निर्माण कार्य सक्नेगरी हिमालयन/कबिर जेभीले निर्माणको जिम्मा लिएको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा भवन निर्माणले पूर्णता नपाउँदा सेवाग्राही र स्वास्थ्यकर्मीले सास्ती खेप्नुपरेको छ । एक तले कच्ची भवनमा चारवटा कोठा छन् भने बाहिरको भागलाई बारेर बिरामी जाँच गर्ने ठाउँ बनाइएको छ । ठूलो वर्षाका समयमा भने पानी चुहिने भएकाले थप समस्या हुने गरेको छ । रासस