करीब एक दशकअघि नेपाल भित्रिएको फ्लेक्स प्रिन्टको बढ्दो प्रयोगसँगै फाइन आर्टसँग सम्बन्धित परम्परागत पेशाकर्मीहरूको पेशा संकटमा परेको छ । हातैले लेखेर तयार गरिने होर्डिङ बोर्ड, साइनबोर्ड तथा तूल ब्यानर लेखेर जीविकोपार्जन गर्नेहरू यस पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । फ्लेक्स प्रविधिमा कम्प्युटरबाट डिजाइन गरी सीधै मेशिनमार्फत प्रिन्ट गर्न सकिन्छ ।
‘आजभोलि स्कुलकलेजका विज्ञापनदेखि सिनेमाको प्रचार गर्नसमेत फ्लेक्स प्रिन्टकै प्रयोग हुन्छ । प्रायःजसो ब्यानरलगायत सबै कामका लागि फ्लेक्स प्रिन्ट प्रयोग हुन थालेको र करीब ९० प्रतिशत बजार फ्लेक्स प्रिन्टले ओगटेको छ’ बाह्य विज्ञापन संघका उपाध्यक्ष बलराम उप्रेतीले बताए ।
नेपालमा व्यावसायिक रूपमा फ्लेक्स प्रिन्ट आउनुअघि सूर्य टोबाको कम्पनी, हिमालयन डिष्टिलरीलगायत दुई तीनवटा कम्पनीले मात्र फ्लेक्स बोर्ड प्रयोग गरेका थिए । उनीहरूले यस प्रविधिको प्रिन्ट अष्ट्रेलिया र जापानबाटै गराएका थिए भने हाल काठमाडौंमा मात्रै सयभन्दा माथि फ्लेक्स प्रिन्टर छन् । एउटा फ्लेक्स मेशिनको रू. १२ लाखदेखि ५० लाखसम्म पर्छ । ‘हातले लेख्ने ब्यानरको तुलनामा फ्लेक्स प्रिन्ट सस्तो, राम्रो, समयको बचत र आफूले चाहेको जस्तो विज्ञापन गर्न सकिने भएकाले फ्लेक्स प्रिन्टको प्रयोग बढेको हो । हातले ब्यानर लेख्न धेरै आर्टिष्ट चाहिने, ठाउँ बढी प्रयोग हुने, ग्राहकले भनेको समयमा उपलब्ध गराउन नसकिने आदि समस्या देखिएका थिए भने यस प्रविधिले यी समस्या समाधान गरेकाले आकर्षण बढेको हो,’ उप्रेतीले भने ।
वर्ष ६, अंक ३८, शुक्रवार, ५ कात्तिक, २०६७