पेचिङ (चीन) । गएको वर्ष चीनको जनसंख्या घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड १८ लाख आएको छ । यो अघिल्लो वर्षको भन्दा ८ लाख ५० हजार कम भएको नेशनल ब्यूरो अफ स्ट्याटिस्टिक्सले बताएको छ । सो अवधिमा हरेक हजार जनामा जन्मदर ६ दशमलव ७ रहेको छ । यो अहिलेसम्मकै थोरै हो । अघिल्लो वर्ष यो दर ७ दशमलव ५२ थियो ।
सन् २०२१ मा अमेरिकामा जन्मदर प्रतिहजार ११ दशमलव शून्य ६ थियो । बेलायतमा १० दशलमव शून्य ८ थियो । भारतमा जन्मदर प्रतिहजार १६ दशमलव ४२ छ । भारतले चीनलाई सबैभन्दा धेरै जनसंख्या भएको देशको रूपमा उछिन्ने क्रममा छ । भारतको जनसंख्या १ अर्ब ४० करोड ७५ लाख छ ।
वर्षौंदेखि चीनमा जन्मदर घटिरहेको छ । यो प्रवृत्ति सुस्त पार्न सरकारले कयौं नीतिहरू पनि ल्याएको छ । तर, एक सन्तान नीति खारेज गरेको ७ वर्षपछि चीन नकारात्मक जनसंख्या वृद्धिको युगमा छिरेको छ । सन् २०२२ चीनमा करिब ९५ लाख ६० हजार बालबालिका जन्मिने अपेक्षा गरिएको छ । यो एक वर्षअघिको भन्दा ११ दशमलव ५ प्रतिशत कम हो । गएको वर्ष चीनमा पहिलो पटक जन्मेको संख्यालाई मर्नेको संख्याले उछिनेको छ । प्रतिहजारमा मृत्यु ७ दशमलव ३७ रहेको छ । यो दर अघिल्लो वर्ष ७ दशमलव १८ थियो । यो मृत्युदर सन् १९७६ यताकै धेरै हो ।
कोरोना भाइरसले चीनलाई चौपट बनाएको छ । कोभिडका कारण लाखौंले ज्यान गुमाए । देशको अर्थतन्त्र पूर्णरूपमा ध्वस्त भएको छ । विगत तीन वर्षसम्म कोभिड नियन्त्रण गर्न लगाइएको कठोर प्रतिबन्ध र बन्दाबन्दीका कारण मानिसहरू परिवार बढाउने योजना थाति राख्न बाध्य बनेका छन् । जनगणनाको नतिजाले पनि चीनको जनसंख्या दशकौंयताकै सुस्त दरमा बढेको देखाएको छ । हुनत अहिले जापान र दक्षिण कोरियालगायत अन्य पूर्वी एशियाली देशहरूमा पनि जनसंख्या संकुचन र वृद्ध जनसंख्या बढ्ने समस्या व्याप्त छ । चीनमा पनि यो प्रवृत्ति जारी रहने र कोभिडका कारण यो प्रवृत्ति झनै खराब हुन सक्ने इकोनोमिष्ट इन्टेलिजेन्स युनिटका प्रमुख अर्थशास्त्री युई सुले बताएकी छिन् ।
चीनमा युवा बेरोजगारी दर उच्च छ । अनि आय घट्ने अपेक्षाका कारण पनि युवा पुस्ताले विवाह र सन्तानोत्पादनको योजना पछाडि धकेलिरहेकोले नवजात शिशुको संख्या घटेको उनको भनाइ छ । चीनले सन् १९७९ मा ल्याएको एक सन्तान नीतिका कारण पनि जनसंख्याको बनोट फेरिएको हो । सो नीति लागू भएपछि नीति उल्लंघन गर्ने परिवारलाई जरिवाना तिराइयो । केही त जागिरैसमेत गुमाए । छोरीलाई भन्दा छोरालाई बढी महत्त्व दिने संस्कृतिले पनि गर्भपतन बढायो । सन् १९८० को दशकदेखि लैंगिक अनुपात फेरियो । महिलाभन्दा पुरुष जनसंख्या धेरै हुन थाल्यो ।
सरकारले सन् २०१६ मा एक सन्तानको नीति खारेज गर्यो । जनसंख्याको प्रवृत्ति उल्ट्याउनै नसके पनि सुस्ताउने क्रम रोक्न दम्पतिलाई २ सन्तान जन्माउन प्रेरित गर्न सरकारले कर छूट दिने लगायत उपायहरू अपनायो । सन् २०२२ को अक्टोबरमा सिले जन्मदर बढाउनुलाई प्राथमिकता नै बनाए । चीनले जनसंख्या घट्ने क्रम रोक्ने हो भने यस्ता खालको प्रोत्साहन दिएर मात्रै पुग्दैन । घरपरिवार र कार्यस्थलमा लैंगिक समानतामा सुधार्नु पर्ने नेशनल युनिभर्सिटी अफ सिंगापुरका परिवार तथा जनसंख्या अनुसन्धान केन्द्रका निर्देशक बुसरावण तिराविचितचाइनानले बताएका छन् । घट्दो जनसंख्या असर अहिले नै चीनको आर्थिक वृद्धिदरमा देखिन्न । तर, यो त्यहाँको सरकारले अहिले नै सम्बोधन गर्नुपर्ने सवाल हो । एजेन्सी
सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशकभन्दा बढी समयमा पहिलो पटक ब्याजदर बढाएको छ ।
रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर बढाएर शून्य दशमलव ३५ प्रतिशतमा पुर्याएको छ । देशभरमा महँगी बढेर २ दशकभन्दा बढी समययताकै उच्च स्तरमा उक्लिएको छ । आकाशिएको महँगी नियन्त्रण गर्न बैंकले ब्याजदर वृद्धिको साहारा लिएको हो ।
यसले घरपरिवारको बजेटमाथि थप दबाब सृजना हुने छ । महँगी अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको भएपनि बेरोजगारी दर न्यून रहेको र तलब वृद्धिमा सुधार आएको प्रमाण देखिएको आरबीएका गभर्नर फिलिपि लोवेले बताए । कोरोना भाइरसको महामारीको समयमा अष्ट्रेलियाली अर्थतन्त्रलाई टेवा दिन अपनाइएको असाधारण मौद्रिक नीतिमध्ये केहीबाट हात झिक्ने समय अहिले भएको उनले विज्ञप्तिमा भनेका छन् ।
अष्ट्रेलियाली अर्थतन्त्रको परिदृश्य सकारात्मक रहेको भएपनि आगामी दिनमा थप ब्याजदर वृद्धि हुने संकेत उनले गरेका छन् । अहिले अष्ट्रेलियाले निर्वाचनको तयारी गरिरहेको छ । यसअघि निर्वाचनको अभियान चलेकै समयमा सन् २००७ मा पनि ब्याजदर बढाइएको थियो ।
अष्ट्रेलियामा महँगी ५ दशमलव १ प्रतिशतमा उक्लिएको छ । यो २१ वर्षयताकै उच्च हो । पछिल्लो समय विश्वभर खाने तेल देखि कच्चा तेलसम्म सबै कुरा महँगिएका छन् । महँगी नियन्त्रण गर्न अमेरिका, बेलायत लगायत अधिकांश ठूला अर्थतन्त्रका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् ।
चैत ३, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ ।
बैंकले बुधवार सन् २०१८ यता पहिलो पटक ब्याजदर बढाएको हो । कोरोना भाइरसको महामारी विरुद्धको लडाईदेखि चर्को मुद्रास्फीति र युक्रेनी युद्धका कारण उत्पन्न आर्थिक जोखिमहरु कम गर्न बैंकले आक्रामक योजना अगाडि सारेको छ । बैंकको ब्याजदर निर्धारक समितिले एक चौथाई प्रतिशत अंकले ब्याजदर बढाएको छ ।
यसको प्रभाव अमेरिकी उपभोक्तादेखि व्यवसायसम्म देखिनेछ । मुद्रास्फीति विरुद्ध लड्नका नीति निर्माताहरुले ब्याजदर धमाधम बढाउने संकेत गरेका छन् । केही नीतिनिर्माताहरुले आक्रामक बाटो अपनाउने पक्षमा देखिएका छन् । यस वर्षको अन्त्यसम्ममा ब्याजदर बढेर १ दशमलव ७५ प्रतिशत देखि २ प्रतिशतसम्म पुग्ने अनुमान अधिकांश नीति निर्माताहरुको छ ।
यसको अर्थ फेडको आगामी ६ ओटा नीतिगत बैठकमा एक चौथाई प्रतिशत ब्याजदर बढ्नेछ । आगामी वर्ष भनेन ब्याजदर २ दशमलव ८ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्र ब्याजदर वृद्धिको प्रभाव सहन सक्ने अवस्थामा भएको र अहिलेको सुदृढ कर्मचारी भर्ती र तलब वृद्धि कायम हुने फेडका अध्यक्ष जेरोम पावेलले बताएका छन् ।
अहिले फेडले सारा ध्यान महँगीका कारण आम अमेरिकी परिवारमा परेको प्रभाव कम गर्नपतर्फ लगाउनु पर्ने उनको भनाइ छ । पछिल्लो ब्याजदर वृद्धिपछि अमेरिकामा मँहगी सन् २०२४ सम्ममा २ प्रतिशत माथि रहने अनुमान छ ।
महँगी घटेन भने अधिकारीहरु ब्याजदर बढाउन हिच्किचाउन नहुने पावेलले भनेका छन् । ब्याजदर बढेसँगै घर, गाडी लगायतको ब्याजदर बढेपछि यस्ता ठूला खर्चको माग कटौती हुन्छ । यसले गर्दा आर्थिक वृद्धिदर सुस्ताउँछ भने र बेरोजगारी बढ्ने सम्भावना पनि हुन्छ ।
फेडले ब्याजदर बढाएपछि अमेरिकी डलर बलियो हुन्छ । डलरको तुलनामा अन्य मुद्राहरु कमजोर हुन थाल्छन् । विश्वका अधिकांश केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्ने गरेका छन् । एजेन्सी