सरकार–निजीक्षेत्र सहकार्य : २२ हजार युवालाई रोजगारमूलक तालीम दिइँदै

काठमाडौं (अस) । चालू आर्थिक वर्ष २०७८/७९ मा २२ हजार युवाहरूले निजीक्षेत्रका उद्योग तथा व्यवसायमा संलग्न भई ३ महीना अवधिको रोजगारमूलक तालीम लिन पाउने भएका छन् । सरकारले ‘कार्यस्थलमा आधारित रोजगारमूलक कार्यक्रम’ लागू गर्ने तयारी गरेअनुसार उक्त संख्याका जनशक्तिले उद्योगहरूको आवश्यकता र आफ्नो रुचिअनुसार तालीम लिन पाउने भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजीक्षेत्रका उद्योगहरूबीचको सहकार्यमा शुरू हुने यस्तो तालीमका लागि सरकारले रू. १ अर्ब खर्चिने भएको छ । भारतमा रोजगारी वृद्धि गर्न ६० वर्षअघि अपनाइएको यो विधिलाई नेपालमा लागू गर्न खोजिएको छ । मन्त्रालयका उपसचिव दिनेश सागर भुसालले नेपालमा पहिलोपटक यस्तो तालीम दिने तयारी गरिएको बताए । तालीम दिनका लागि अहिले मन्त्रालयले निजीक्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ र वस्तुगत संघहरूसँग छलफल गरिरहेको उनले बताए । निजीक्षेत्रका उद्योग व्यवसायमै तालीम दिन सके जनशक्तिको माग र आपूर्तिबीच तालमेल मिल्ने र तालीम लिएकाले सोही उद्योगमा रोजगारी पाउन सक्ने सम्भावना देखिन्छ । उनका अनुसार ३ महीनाको तालीम दिने उद्योगमा नै २ वर्षसम्म रोजगारी दिने ग्यारेन्टीका विषयमा पनि छलफल हुनेछ । उद्योगलाई आवश्यक पर्ने जनशक्ति र छुट्टै तालीम दिई उत्पादन हुने जनशक्तिबीच हुने शीपको अन्तर हटाउन उद्योगले नै तालीम दिन थालेको उनको भनाइ छ । यसअनुसार उद्योगले ३ महीना तालीम दिने र सरकारले सो अवधिको प्रतिव्यक्ति न्यूनतम मासिक पारिश्रमिक रू. १५ हजारका दरले खर्च गर्नेछ । गत आव २०७७/७८ मा कार्यान्वयन हुन नसकेको कार्यक्र यो वर्ष लागू गर्ने गरी तयारी गरिएको भुसालले जानकारी दिए । गतवर्ष सरकारले यी कार्यक्रमका लागि रू. १ अर्ब बजेट विनियोजन गरेको थियो । तर, कार्यक्रम नै लागू नभएपछि यो रकम खर्च भएको थिएन । निजीक्षेत्रका व्यवसायीहरू पनि यो कार्यक्रममा इच्छुक थिएनन् । गतवर्ष मन्त्रालयले न्यूनतम पारिश्रमिकको ५० प्रतिशत मात्रै दिने गरी निजीक्षेत्रलाई यस्तो तालीम दिन आग्रह गरेको थियो । तर, उनीहरूले कार्यान्वयनमा इच्छा नदेखाएकाले यो वर्ष न्यूनतम पारिश्रमिक पूरै दिने भएपछि कार्यक्रम लागू गर्न उनीहरू पनि सहमत भएको उनको भनाइ छ । तालीममा सहभागि हुने उक्त संख्याका जनशक्तिलाई सरकारले नै न्यूनतम मासिक पारिश्रमिक दिनेछ भने उद्योगहरूले तालीम तथा शीप सिकाउनेछन् । यो न्यूनतम पारिश्रमिक तालीममा सहभागी हुनेले सीधै पाउने छैनन् । तालीम दिने उद्योगको बैंक खातामा सरकारले न्यूनतम मासिक पारिश्रमिकअनुसार रकम राखिदिने र त्यो रकम उद्योगले चेक काटेर अन्य कर्मचारी तथा श्रमिकलाई जस्तै गरी दिनेछन् । न्यूनतम पारिश्रमिक सरकारले बेहोर्ने गरी निजीक्षेत्रका उद्योग व्यवसायीहरूले आवश्यकताका आधारमा युवाहरूलाई तालीम दिनेछन् । यही महीनाभित्र कार्यविधि बनाई लागू गर्ने मन्त्रालयको तयारी छ । यो कार्यक्रम मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले सञ्चालन गर्नेछ । तालीम सञ्चालनका लागि उद्योग तथा क्षेत्र नतोकेको भन्दै भूसालले आवश्यकता जहाँ छ, तीनै उद्योगहरूले तालीम दिनेछन् । त्यसमा सिमेन्ट उद्योगदेखि साना उद्योग तथा व्यवसायहरू पनि पर्नेछन् ।

सम्बन्धित सामग्री

विदेशी मुद्रा कमाउने पर्यटनमा बेवास्ता : निजीक्षेत्रकै पहलमा चलिरहेछ पर्यटन

केही समय पहिले विश्व पर्यटन दिवस–२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइयो । कार्यक्रममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही र पर्यटन क्षेत्रमा विविध ढंगले योगदान गर्ने संस्थालाई आठ विधा छुट्ट्याई सम्मान गरिएको थियो । बढी विदेशी मुद्रा आर्जन गरेकामा सरकारले एयरलाइन्स कम्पनीमा वायुसेवा निगमलाई सम्मान गर्‍यो । निगमले १ वर्षमा ८ करोड ४५ लाख ९ हजार अमेरिकी डलर आर्जन गरेको थियो । होटेल तथा रिसोर्टअन्तर्गत एभरेस्ट हस्पिटालिटी एन्ड रिसोर्टलाई सम्मान गर्‍यो । उसले ५० लाख ४१ हजार अमेरिकी डलर आर्जन गरेको थियो । पर्वतारोहण र ट्रेकिङतर्फ सेभेन समिट ट्रेकिङ कम्पनीले ४३ लाख २२ हजार अमेरिकी डलर आर्जन गरेको थियो । ट्राभल तथा टुर्सतर्फ सीता वल्र्ड ट्राभल नेपालले ३३ लाख ६१ हजार अमेरिकी डलर आर्जन गरेको हुँदा सम्मान गरिएको थियो । त्यसैतर्फ साहसिक खेलतर्फ पोखरा अल्ट्रा लाइटले सबैभन्दा बढी ४४ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएको थियो । यसरी विदेशी मुद्रा बढी आर्जन गर्ने पर्यटनका विविध क्षेत्रलाई सम्मान गर्नु राम्रो काम हो । तर, यस्तो पुरस्कारले मात्रै व्यवसायीलाई सहयोग पुग्दैन । विदेशी मुद्रा आर्जन गर्ने अन्य उद्योगले निर्यातबापत अनुदान पाउँदा पर्यटन क्षेत्रलाई चाहिँ किन अनुदान नदिने ? जुन क्षेत्रमा बढी सम्भावना छ त्यही क्षेत्रलाई चाहिँ किन उपेक्षा ?  विश्व बैंकका अनुसार पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६ दशमलव ७ प्रतिशत टेवा पुर्‍याएको छ । कुल रोजगारीको ६ दशमलव ७ प्रतिशत अंश ओगटेको छ । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सृजना गरी गरीबी निवारणमा समेत सहयोग पुर्‍याउँदै आएको छ । तर, यही क्षेत्रका लागि सरकारले कम बजेट छुट्ट्याएको छ । सरकारले आव २०८०/८१ मा ११ अर्ब ९६ करोड रूपैयाँ विनियोजन गरेको छ । सरकारले गत आव २०७९/८० मा ९ अर्ब ३८ करोड रूपैयाँ छुट्ट्याएको थियो । त्यसैले सरकारको नीति पर्यटन व्यवसायीहरूका लागि राम्रो देखिँदैन । त्यसमाथि डलर ल्याउनका लागि सरकारले कुनै सुविधा नै दिएको छैन । जुन क्षेत्रले बढी विदेशी मुद्रा आर्जन गर्छ त्यसलाई बढी सुविधा दिनुपर्ने हो । यसो गर्दा बढी प्रोत्साहन मिल्छ र व्यवसायी उत्साहित हुन्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो छ । जसले बढी विदेशी मुद्रा ल्याउँछ, उसले नै बढी राजस्व तिर्नुपर्छ । उसैलाई प्रोत्साहन कम दिइन्छ । पर्यटन क्षेत्र रोजगारी सृजना गर्ने, विदेशी मुद्रा आर्जन गराउने र खर्चको वातावरण निर्माण गराउने काम गर्छ । जब पर्यटकीय चहलपहल बढ्छ त्यसबाट सबै क्षेत्र लाभान्वित हुन्छन् । पर्यटनलाई प्रोत्साहन गर्न कर छूट दिनुपर्छ र निर्यात उद्योगले सरह अनुदान पनि पाउनुपर्छ । ट्राभल र टुर क्षेत्रले मूल्यअभिवृद्ध कर छूटको माग गरे पनि सरकारले सुनेको छैन । नेपाली व्यवसायीहरू मारमा परिरहेका बेला सरकारले फेरि राजस्व तिराउन लाग्यो भने व्यवसाय नै बन्द गरेर पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।  जुन क्षेत्रले बढी विदेशी मुद्रा आर्जन गर्छ त्यसलाई बढी सुविधा दिनुपर्ने हो । यसो गर्दा बढी प्रोत्साहन मिल्छ र व्यवसायी उत्साहित हुन्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो छ । जसले बढी विदेशी मुद्रा ल्याउँछ, उसले नै बढी राजस्व तिर्नुपर्छ । उसैलाई प्रोत्साहन कम दिइन्छ ।  सरकारले निजीक्षेत्रसँग नीति निर्माणको क्षेत्रमा दोहोरो सहकार्य नै गर्दैन । अहिले त धेरै डलर आयो कि डराउनुपर्ने अवस्थासमेत छ । के कस्तो नीति लिँदा निजीक्षेत्रले सहज अनुभव गर्छ र काम गर्छ भन्नेमा भन्दा निजीक्षेत्र भनेका ठग हुन् भन्ने मानसिकता सरकारी अधिकारीमा पाइन्छ । निजीक्षेत्रले कतिपय ठाउँमा बदमासी गरेको पनि पाइन्छ । त्यो बदमासी रोक्न र कारबाही गर्न सरकारलाई अधिकार छ । तर, एकाध व्यक्ति खराब देखिए भन्दैमा सबै निजीक्षेत्रलाई नराम्रो दृष्टिले हेर्नु हुँदैन । यदि निजीक्षेत्रप्रति नकारात्मक सोच राख्ने हो भने सबै क्षेत्रमा सरकारले लगानी गरोस् न त, सक्छ ? सरकारसँग त्यो क्षमता र हिम्मत छ ? आफ्नो जिम्मामा रहेका केही सेवाक्षेत्रमा कत्तिको विकृति छ र मनलाग्दी छ अनि जनतालाई कति सास्ती दिएका छन् भन्ने कुराबाट नै सरकारको क्षमता सजिलै आँक्न सकिन्छ । निजीक्षेत्रलाई अर्थतन्त्रको संवाहक पनि भन्ने, करचाहिँ सकेसम्म लिने तर तिनलाई काम गर्न सहज वातावरण बनाउन र प्रोत्साहन गर्नचाहिँ पछि हट्ने ? यो सरासर राज्यको बेइमानी हो । पर्यटन क्षेत्र यही बेइमानीको सिकार भइरहेको छ । निजीक्षेत्रले लगानी गरेर सकी नसकी पर्यटन प्रवर्द्धन गरेर पर्यटक ल्याउँदा उल्टो विमानस्थल कर, विलासिता कर आदि भनेर खुट्टा बाँध्ने काम भइरहेको छ । पर्यटन क्षेत्रले यसलाई उद्योगको मान्यता दिन र सोहीअनुसार सुविधा दिन माग गरेको दशक नाघिसक्यो तर सरकार कानमा तेल हालेर बसेको छ । कोरोनाबाट थलिएको पर्यटन बिस्तारै लयमा फर्कने संकेत देखिएको छ । अक्टोबर महीनामा पर्यटन आगमन निकै उत्साहजनक देखिएको छ । यसले यस वर्ष पर्यटक आगमनको संख्या १० लाख नाघ्ने सम्भावना देखिएको छ । यो भनेको कोरोनाकाल अघिको संख्या हो । तर, यसमा सरकारी पहल भने शून्य छ भन्दा पनि हुन्छ । पर्यटनमा मन्त्री फेरिएपिच्छे नयाँनयाँ कार्यक्रम घोषणा हुने गरेको छ । कहिले आन्तरिक पर्यटन बढाउने भन्दै पर्यटन बिदाको घोषणा भयो त कहिले पर्यटन दशक । तर, ती कुनै पनि कार्यान्वयन भएन भन्दा हुन्छ । अहिले पनि भ्रमण दशकको कार्यक्रम फिर्ता लिइएको छैन तर त्यो कसरी मनाउने, केके लक्ष्य राख्ने, केकस्ता नीति लिने र केकस्तो पूर्वाधार बनाउने भन्ने कुरामा खासै छलफल र गृहकार्य भएको देखिँदैन । नेपालमा हतारमा कार्यक्रमको घोषणा गर्ने, त्यो पत्रपत्रिकामा छापिने तर कार्यान्वयन भने नहुने परिपाटी नै छ भन्दा हुन्छ । यसो गर्दा निजीक्षेत्र अलमलमा पर्छ । सरकारले कुनै नीति लियो भने त्यसैअनुरूप निजीक्षेत्रले लगानी बढाउने हो । पर्यटनमा सम्भावना देखेर नै अहिले होटेल पूर्वाधारमा निकै ठूलो लगानी भएको छ । अहिले पर्यटन क्षेत्र पूर्णरूपमा पुरानै लयमा आएको भान हुन्छ । पदयात्रा मार्ग र होटेलहरू अहिले भरिभराउ देखिएका छन् । यसबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । तर, अहिले देखिएको पर्यटन आगमनमा सरकारी नीतिले कति काम गरेको छ र निजीक्षेत्रको पहलले कति काम गरेको छ भन्ने स्पष्ट छैन । यद्यपि सरकारको काम खासै देखिएको छैन । त्यसैले यसको जस पनि निजीक्षेत्रले नै पाउँछ ।  पर्यटन व्यवसायलाई गति दिन सबैभन्दा तगारो अहिले सडक बनेको छ । पोखरा पुग्ने सडकको दुर्दशा भनेर साध्य छैन । सडक विस्तार भइरहेको छ तर त्यो निकै सुस्त गतिमा छ । यही कारण पर्यटकले धेरै समय सडकमा बिताउनुपर्ने भएको छ । सडकमा समय बिताउन पर्यटक आउने होइनन् । व्यस्त कार्यतालिका लिएर आउने पर्यटक छिटो आफ्नो गन्तव्यमा पुग्ने र जुन उद्देश्यले आएको हो त्यसमै रमाउने चाहना राख्छन् । पदयात्राका लागि आएको पर्यटकले बाटोमै समय बिताउन पर्‍यो भने उसले आफ्नो साथीलाई यो समस्या पक्कै भन्छ । यस्तो समस्या थाहा पाएपछि पर्यटकले अर्कै गन्तव्य रोज्नु स्वाभाविकै हो । सडक सञ्जालको विस्तारमा नेपाल अन्य देशभन्दा निकै कमजोर देखिन्छ । यसमा सुधार नगरी पर्यटनबाट नेपालले अपेक्षित लाभ लिन सक्दैन । अनौपचारिक क्षेत्रलाई निरुत्साहित गरी औपचारिक व्यवसायलाई प्रोत्साहित गर्ने र बजारमा अझ बढी प्रतिस्पर्धी हुने कुरामा राज्यले सहयोग गर्ने हो भने पर्यटनमार्फत हुने विदेशी मुद्राको आम्दानी बढ्दै जान्छ । नेपालमा पर्यटन पूर्वाधारमा निजीक्षेत्रको लगानी बढेको छ । चारतारे र पाँचतारे होटेलको संख्या बढ्दो छ । यस्ता होटेलको संख्या बढ्नु भनेको खर्चालु पर्यटक आउनु हो । अन्य पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आवश्यक देखिएको छ । खासगरी नेपालको प्राकृतिक बनोट नै पर्यटक आकर्षित गर्ने मुख्य आधार भएकाले यस क्षेत्रमा सुरक्षा र सेवा बढाउन सक्नुपर्छ । पर्यटकले यहाँको पर्यावरणीय क्षतिप्रति असन्तोष व्यक्त गरेका छन् । प्रकृतिको नजिक पुग्न आएका पर्यटकलाई अव्यवस्थित निर्माणले पिरोलेको छ । खासगरी पदमार्गमा बनेका धूले सडकप्रति उनीहरूको निकै ठूलो गुनासो रहेको छ । त्यसो हुँदा यसको मौलिकता संरक्षण गर्ने, वातावरण विनाश हुन नदिने गरी पर्यटकीय गतिविधि अघि बढाउन आवश्यक देखिन्छ ।  पछिल्लो समय बढी भीडभाड हुने स्थानमा पर्यटनका लागि नजाने भन्ने अभियान पनि चलेको छ । त्यो अभियानमा नेपालको सगरमाथाको पनि नाम जोडिएको छ । त्यसैले बढी भीडभाड बढाउनुभन्दा त्यसको कीर्तिमानी महत्त्व कायम राख्ने गरी हिमाल आरोहणको अनुमति दिइनुपर्छ । विभिन्न उचाइका हिमालको सफल आरोहण गर्नेलाई सरकारले केही चिनो दिने र तिनको नाम अभिलेखमा राखी सम्मान गर्ने परिपाटी पनि बसाल्नु जरुरी छ । यसरी नेपालको पर्यटनलाई पर्यावरणमा क्षति नपुग्ने गरी सञ्चालन गर्न सरकारले पर्याप्त अध्ययन र लगानी गर्नु आवश्यक छ । व्यवसायीले नीतिगत निर्णय गर्न सक्दैनन् । ठूला पूर्वाधारमा लगानी गर्न पनि सक्दैनन् । सरकारले यस्ता क्षेत्रमा आफै लगानी गर्ने वा विदेशी लगानीकर्ता ल्याउन पहल गर्ने काम गर्न सक्छ । मुख्य कुरा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न यस क्षेत्रले सृजना गरेको रोजगारी, प्राप्त गरेको वैदेशिक मुद्रा, सरकारलाई तिरेको कर आदि हेरेर पनि सरकारले यसमा छूट, अनुदान दिने र आवश्यक नीतिगत निर्णय गरिदिने नीति लिनुपर्छ । पर्यटन व्यवसायीसँग छलफल गरी खासखास समस्याका गाँठा फुकाउन पहल गर्नुपर्छ । पर्यटक यति बढे भनेर गजक्क पर्नुभन्दा लक्ष्य र नीतिसहित आगामी बाटो तय गर्नुपर्छ । अन्यथा पर्यटन क्षेत्रमा अहिले देखिएको आशा फेरि निराशामा बदलिन सक्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

प्रतिमतदाता चुनावी लागत घट्दो

काठमाडौं । बजारमा महँगी बढिरहे पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम रकम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करीब ७ अर्ब ५० करोड रुपैयाँ खर्च भएको अनुमान निर्वाचन आयोगको छ । उक्त निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । मतदान केन्द्र २२ हजार २२७ थिए । सरकारले उक्त निर्वाचनका लागि विनियोजन गरेकोमध्ये करीब ३ अर्ब ५० करोड रुपैयाँ फिर्ता हुने देखिएको आयोगको भनाइ छ । यसपालिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको खर्चको वास्तविक अंक भने आगामी वैशाख १० गते हुने उपनिर्वाचनको खर्चसमेत जोडेर महालेखापरीक्षकले लेखापरीक्षण गरेपछि मात्रै थाहा हुनेछ । अनुमानित खर्च ७ अर्ब ५० करोडलाई मतदाता संख्याले भाग गर्दा मङ्सिर ४ को चुनावमा प्रतिमतदाता ४ सय १६ रुपैयाँ खर्च भएको देखिन्छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण भने यकीन भइसकेको छ । उक्त निर्वाचनको प्रतिमतदाता खर्च २ सय ८४ रुपैयाँ छ । २०७४ को स्थानीय तह निर्वाचनको प्रतिमतदाता खर्च ५ सय ९ रुपैयाँ थियो । अनावश्यक खर्चका शीर्षक कटौती गर्दा निर्वाचन खर्च घटेको प्रवक्ता पौड्यालको भनाइ छ । २०७४ को स्थानीय तह निर्वाचन दुई चरणमा सम्पन्न गरिएको थियो । स्थानीय तह निर्वाचनको प्रतिमतदाता खर्च ठूलो अन्तरले घटे पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको खर्च भने २०७४ को तुलनामा २०७९ मा थोरै अन्तरले घटेको देखिन्छ । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिमतदाता खर्च ५ सय ६ रुपैयाँ रहेकोमा अहिले ४ सय १६ रुपैयाँ मात्रै रहेको अनुमान छ । महालेखा परीक्षकको कार्यालयले निर्वाचन खर्चमा यस वर्ष भएको मितव्ययिताबारे पुस्ट्याइँ माग गरेकामा आयोगले पछिल्ला पाँच निर्वाचनका कुल मतदाता, मतदान केन्द्र, कुल खर्च र प्रतिमतदाता खर्चको हिसाबसहित विवरण पठाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पछिल्लो निर्वाचन गत मङ्सिर ४ गते आइतवार देशभर एकै चरणमा सम्पन्न भएको थियो । यस निर्वाचनमार्फत प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० गरी २ सय ७५ सदस्य निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीबाट २ सय २० गरी कुल ५ सय ५० सदस्य निर्वाचित भएका छन् । यो निर्वाचनमा आयोगले विद्युतीय माध्यमबाट खुला प्रतिस्पर्धामार्फत सामग्री खरीद गरेको दाबी गरेको छ । ढुवानी योजना बनाई सुरक्षा निकायसँगको समन्वयमा समयमै ढुवानी गरेको र निर्वाचनमा ७२ निर्वाचन सामग्री प्रयोग भएकामा आयोगबाट ५७ प्रकारका तथा जिल्ला र स्थानीय स्तरबाट १५ प्रकारका सामग्री किनिएको बताइएको छ । आयोगले यस वर्षका निर्वाचनमा मतदाता शिक्षा (घरदैलो कार्यक्रम) मा स्थानीय तहलाई जिम्मेवार बनाएको थियो । मतदाता शिक्षा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, कन्सर्ट, सामाजिक सञ्जाल, कल सेन्टर आदिबाट दिएको थियो । कलाकार, निजीक्षेत्र, गैरसरकारी संस्था, युवा, सञ्चारमाध्यमसँग पनि सहकार्य गरेको आयोगको भनाइ छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको निर्वाचन चिह्न समावेश गरी मतपत्र छपाइ गरेको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतले निर्वाचन चिह्न दिएपछि मतपत्र छापिएको थियो । प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दलले भाग लिएका थिए । समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले बन्दसूची पेस गरेका थिए । १२ राजनीतिक दलले प्रतिनिधिसभामा प्रवेश पाएको आयोगले जानकारी दिएको छ । रासस

मन्त्रालय र निजीक्षेत्रका उद्योगबीचको सहकार्य : बेरोजगारलाई पारिश्रमिक दिएर शीप

काठमाडौं । सरकारले न्यूनतम पारिश्रमिक दिएर बेरोजगारलाई तालीम र शीप दिन ‘कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि–२०७९’ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रीविहीन हुँदा रोकिएको यो कार्यविधि पारित भएसँगै बेरोजगार युवा–युवतीका लागि तालीम सञ्चालन गर्ने बाटो खुलेको छ । सरकारले तीन महीनाको न्यूनतम पारिश्रमिक दिने र त्यसबापत निजीक्षेत्रका उद्योगहरूले बेरोजगारलाई तालीम दिनुपर्ने यो कार्यक्रम लागू गर्न मन्त्रालयले निर्देशन दिएको छ । यो कार्यक्रमअनुसार उद्योगहरूले आफूलाई आवश्यक पर्ने श्रमिकलाई आफै तालीम दिनुपर्ने हुन्छ । तालीम लिएकालाई तोकिएको पारिश्रमिक सरकारले प्रत्यक्ष नभई तालीम दिने उद्योगमार्फत उपलब्ध गराउनेछ । केही दिनअघि पारित भएको कार्यविधिअनुसार कार्यक्रम अघि बढाउन लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रलाई मन्त्रालयले स्वीकृति दिएको छ । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको संयोजकत्वमा बुधवार बैठक बसी केन्द्रलाई कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएको हो । मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका सहसचिव डा. नारायणप्रसाद दुवाडीले यो कार्यक्रममार्फत उद्योगले आफ्नो आवश्यकताअनुसार बेरोजगारलाई तालीम दिन पाउने बताए । उद्योगमा कामदार अभाव हुने, यता युवा बेरोजगार बस्नुपर्ने स्थिति अन्त्य गर्न यो कार्यक्रम शुरू गरिएको उनले बताए । यसबाट उद्योगले आफ्ना लागि आवश्यक पर्ने जनशक्ति पूर्ति गर्न आफैले तालीम दिनेछन् । दुवाडीका अनुसार तालीम दिने उद्योगले तालीम पाएकालाई दुई वर्षसम्म रोजगारीको ग्यारेन्टी गर्नुपर्नेछ । ‘मन्त्रालयको रोहवरमा उद्योग र तालीम लिएका जनशक्तिबीच सहमति हुनेछ,’ दुवाडीले भने, ‘यसले कामदार अभाव र बेरोजगारीबीचको अन्तर घटाउनेछ ।’ चालू आर्थिक वर्ष २०७८ / ७९ मा २२ हजार युवाले निजीक्षेत्रका उद्योग, व्यवसायमा संलग्न भई रोजगारमूलक तालीम लिन पाउने व्यवस्था गरिएको छ । मन्त्रालय र निजीक्षेत्रका उद्योगबीचको सहकार्यमा शुरू हुने यो तालीमका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ । भारतमा रोजगारी वृद्धि गर्न ६० वर्षअघि अपनाइएको यो विधिलाई ढिलो भए पनि नेपालमा लागू गर्न खोजिएको छ । नेपालमा पहिलोपटक यस्तो तालीम दिने तयारी गरिएको हो ।  तालीम दिनका लागि अहिले मन्त्रालयले निजीक्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ र महिला उद्यमी महासंघ तथा अन्य वस्तुगत संघसँग छलफल गरेको छ । निजीक्षेत्रका उद्योग, व्यवसायमै तालीम दिन सके जनशक्तिको माग र आपूर्तिबीच तालमेल मिल्ने र तालीम लिएकाले सोही उद्योगमा रोजगारी पाउन सक्ने सम्भावना देखिन्छ । उद्योगले तीन महीना तालीम दिने र सरकारले सो अवधिको न्यूनतम मासिक पारिश्रमिक १५ हजारका दरले ४५ हजार रुपैयाँ खर्चिनेछ । गत आर्थिक वर्ष २०७७/ ७८ मा कार्यान्वयन हुन नसकेको उक्त कार्यक्रम यस वर्ष भने लागू हुने देखिएको छ ।  गतवर्ष सरकारले यो कार्यक्रमका लागि एक अर्ब बजेट विनियोजन गरेको थियो । कार्यक्रम नै लागू नभएपछि यो रकम खर्च भएको थिएन ।

एकै साथ ६ कम्पनीको १ अर्ब २६ करोडको आईपिओ स्वीकृत, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ६ वटा कम्पनीलाई आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले माघ ९ गते यी कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।गत साउनपछि पहिलो पटक बोर्डले आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो । बोर्ड अध्यक्ष नहुँदा आईपिओ निष्काशन दिने काम रोकिएको थियो । बोर्डले माघ ९ मा २ वटा हाइड्रो, ३ वटा लघुवित्त र एउटा इन्भेष्टमेन्ट कम्पनीको आईपिओ स्वीकृत गरेको हो । बोर्डले हाइड्रोतर्फ बलेफी हाइड्रो, र ग्रिन भेन्चर्स, लघुवित्ततर्फ नेस्डो समृद्द लाघुबित्त, जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त तथा इन्भेष्टमेन्ट समुह तर्फको इमार्जिङ नेपाल लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डले कुल १ अर्ब २६ करोड ६२ लाख २९ हजार बराबरको आइपिओ स्वीकृत गरेको हो । कसको कति ? ग्रीन भेन्चरले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  ग्रीन भेन्चरले फागुन २८ मा आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  बलेफीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  बलेफीले फागुन २५ मा  आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  नेस्डो समृद्द लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    ईमर्जिङ्ग नेपाल लिमिटेडले  ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।बोर्डबाट अनुमति पाएसंगै अब यी कम्पनीले आह्वानपत्र प्रकाशन गरेर आईपिओ निष्काशनको मिति तोक्ने छन् ।