कोभिड–१९ पछि विश्वभर विकसित भएझैँ नेपालमा पनि फस्टाएको एउटा व्यवसाय खाद्य पदार्थको गृह–ढुवानी सेवा हो । घरघरमा गृहिणीहरूले खाद्य परिकार बनाएर कार्यालयहरूमा आपूर्ति गर्ने गरी समेत आंशिक रूपमा रोजगारीको व्यवस्था गरेका थिए ।
ठीक त्यसै गरी आफू खाली रहेको समयमा वा आफ्नो सवारी हुने मार्गमा यदि कुनै व्यक्तिलाई आवश्यक भएमा सवारीसाधन उपलब्ध गराउने गरी कतिपयले सवारीसाधन साझेदारी (राइड शेयरिङ) सेवा पनि प्रारम्भ गरे र आफ्नो आम्दानीको अतिरिक्त स्रोतको जोहो गरे । अहिलेको चलनचल्तीको ‘पठाओ’, ‘इन ड्राइभर’ आदि यसैका विस्तारित रूप हुन् । त्यसै गरी आफ्नो घरमा उब्रेर बसेका कोठाहरू केही दिनका लागि भाडामा दिने गरी अहिले कतिपयले ‘एयर बीएन्डबी’ मोडेलमा ‘होम स्टे’ समेत सञ्चालन गरेर अतिरिक्त आर्जनको माध्यम बनाएका छन् ।
अहिले विशेष गरी आईटी क्षेत्रका व्यक्तिहरू आंशिक रूपमा आफ्नो समय र दक्षताअनुरूप स्वदेशी एवं विदेशी सफ्टवेयरसम्बन्धी कम्पनीहरूमा निश्चित अवधि तथा निश्चित परियोजनाका लागि पनि सेवा प्रदान गरिरहेका छन् । त्यसै गरी घरघरमा गएर ट्युशन पढाउनेदेखि लिएर स्वतन्त्र रूपमा परामर्श सेवा प्रदान गर्ने व्यक्तिहरू पनि बग्रेल्ती भेटिन्छन् ।
के हो गिग अर्थव्यवस्था ?
आंशिक रूपमा कुनै परियोजना तथा समय विशेषमा निश्चित पारिश्रमिक लिने गरी नेपालमा मात्र होइन, विश्वभरि नै मानिसहरू विभिन्न काममा यसरी आबद्ध भएका छन् र यस्ता कामलाई ‘गिग काम’ भन्ने गरिएको छ र यस्तै गिग कामले व्याप्त हुने आर्थिक अवस्थालाई ‘गिग अर्थव्यवस्था’ भनेर बुझ्न सकिन्छ । अर्को शब्दमा भन्ने हो भने ‘गिग अर्थव्यवस्था’ भनेको वास्तवमा एक प्रकारको स्वतन्त्र बजार व्यवस्था हो जहाँ व्यावसायिक प्रतिष्ठानहरूले दक्ष श्रम–शक्तिलाई कुनै निश्चित अवधि र परियोजनाका लागि मात्र रोजगारी प्रदान गर्ने गर्छन् ।
कुनै गिग–जनशक्तिले आफूले वहन गर्नुपर्ने जिम्मेवारीका लागि कुनै अर्को व्यक्तिमा निर्भर हुन नपर्ने र आफ्नो काम आफूले चाहेको तरीकाले चाहेको समयमा सम्पन्न गर्न पाउने स्वच्छन्दताको सुन्दर अवसर यसले प्रदान गर्छ ।
वास्तवमा कुनै कलाकारलाई केही समयको अभिनयका लागि अथवा कुनै गीतकारलाई कुनै गीत लेखाउन वा कुनै संगीतज्ञलाई संगीत सृजना गराउन निर्धारित पारिश्रमिक दिने गरी निश्चित समयका लागि अनुबन्ध गरिन्छ भने त्यसलाई कलाकारिताको क्षेत्रमा ‘गिग’ भनिन्छ । पछि कालान्तरमा यस्तो प्रचलन कलाकारिताका अतिरिक्त अन्य पेशा/व्यवसायमा समेत विस्तारित भयो । पछि जुनसुकै क्षेत्रमा भए पनि यस्तो आंशिक रूपमा सेवा खरीद गर्ने चलनलाई ‘गिग अर्थव्यवस्था’को रूपमा बुझिन थाल्यो । ‘गिग काम’ र ‘गिग अर्थव्यवस्था’ मा आबद्ध हुने जनशक्तिलाई चाहिँ ‘गिग–जनशक्ति’ भनेर परिभाषित गर्ने गरिएको छ । अहिले विश्वमा करीब ६ करोड व्यक्ति गिग–जनशक्तिका रूपमा रहेको अनुमान छ ।
फाइदा र बेफाइदाको लेखाजोखा
गिग अर्थव्यवस्थाका फाइदा र बेफाइदाका दुवै पक्ष छन् । ‘काममा लचकता’ गिग अर्थव्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण फाइदाजनक विशेषता हो । आफ्नो अनुकूलतामा आफूले चाहेको माध्यमबाट आफूले निर्धारण गरेको पारिश्रमिकमा सेवा दिन सकिने भएकाले गिग–जनशक्तिको दृष्टिकोणमा यस्तो व्यवस्थाको ‘लचकता’ वरदान नै सावित हुनसक्छ । धेरैजसो अवस्थामा गिग–जनशक्तिले कार्यालयमा नगई आफ्नै घरबाट समेत यस्ता सेवा दिनसक्ने सहुलियत पाउँछन् । त्यसैले ‘गिग व्यवस्था’ले कार्य–जीवन सन्तुलन कायम गर्न पनि उनीहरूलाई भरपुर मद्दत गर्ने कुरामा सन्देह छैन ।
गिग व्यवस्थाको अर्को महत्त्वपूर्ण फाइदा भनेको आत्म–स्वतन्त्रता पनि हो । कुनै गिग–जनशक्तिले आफूले वहन गर्नुपर्ने जिम्मेवारीका लागि कुनै अर्को व्यक्तिमा निर्भर हुनु नपर्ने र आफ्नो काम आफूले चाहेको तरीकाले चाहेको समयमा सम्पन्न गर्न पाउने स्वच्छन्दताको सुन्दर अवसर यसले प्रदान गर्छ ।
गिग–जनशक्ति माथि उल्लेख भएझैँ आफ्नो समय र दक्षताअनुरूप संलग्न हुने भएकाले सेवा लिने कम्पनीहरूप्रति उनीहरूको प्रतिबद्धता सीमित मात्र हुने गर्छ, जसले गर्दा त्यस्ता जनशक्ति कुनै कम्पनीप्रति असन्तुष्ट भएमा तुरुन्तै त्यसबाट अलग्ग रहन स्वतन्त्र हुन्छन् । आफ्नो अनुकूलतामा आफ्नो इच्छाअनुरूप संलग्न हुन पाइने भएकोले गिग–जनशक्तिहरू कुनै एकै प्रकारको कामको कारण विरक्तिनु पर्ने अवस्थाको सृजना हुँदैन ।
यति भए तापनि गिग व्यवस्थामा गिग–जनशक्तिहरूका लागि सबै कुरा फाइदाजनक मात्र छन् भन्न सकिँदैन । आखिर जतिसुकै मेहनत गरे पनि यस्तो जनशक्तिको आम्दानी काम गरेको बेलामा मात्र प्राप्त हुने भएकाले स्थायी प्रकृतिका जनशक्तिहरूले जस्तो दीर्घकालीन प्रकृतिका सुविधाहरू उनीहरूले प्राप्त गर्दैनन् । विशेष गरी उमेर ढल्केपछि र सेवा प्रदान गर्न असमर्थ भएको अवस्थामा उनीहरूलाई व्यावसायिक हेरविचार गर्ने कुनै निकाय/व्यक्ति हुँदैनन् । फेरि सेवापछिको अवकाशकीय सुविधाबाट पनि उनीहरू वञ्चित रहन्छन् । त्यसैले यस्तो अर्थव्यवस्थाको लाभ ‘पाखुरीमा दम’ रहुन्जेलसम्म मात्र उपभोग गर्न सकिन्छ ।
फेरि कार्यालय जाने/आउने, साथीभाइहरूसँग सुख–दु:ख आदानप्रदान गर्ने, कर्पोरेट गतिविधिहरूमा सामेल हुने जस्ता ‘व्यावसायिक सामाजिकता’ बाट पनि वञ्चित हुने हुनाले गर्दा यस्ता जनशक्तिहरूलाई एक प्रकारको दिक्दारी’ र एक्लोपनको आभास हुने प्रबल सम्भावना रहन्छ । भविष्यको सुरक्षाप्रति पनि ढुक्क हुन नसक्ने, सधैं राम्रोको खोजीमा दौडिरहनु पर्ने, कामको प्रकृति र पारिश्रमिकमा हुने परिवर्तनका लागि हमेशा तयार रहनुपर्नेजस्ता विविध कारणले ‘गिग–जनशक्ति’ प्राय: तनावमा रहने प्रबल सम्भावना पनि रहन्छ । गिग अर्थव्यवस्थामा जसरी गिग–जनशक्तिलाई फाइदा र बेफाइदा हुन्छ त्यसैगरी व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूका लागि पनि यसका आफ्नै फाइदा र बेफाइदा रहेका छन् ।
खास गरी स्थायी प्रकृतिका जनशक्तिलाई समाहित गर्नु नपर्ने र अवकाश कोष, सामाजिक सुरक्षा कोष, सञ्चय कोषजस्ता कामदारको लागि व्यवस्था हुने कोषहरूमा कुनै योगदान गर्नु नपर्ने भएकाले कम्पनीहरूले दीर्घकालीन दायित्व वहन गर्नु पर्दैन । यसलाई व्यावसायिक प्रतिष्ठानहरूको दृष्टिकोणमा गिग अर्थव्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण फाइदाका रूपमा लिन सकिन्छ ।
त्यसै गरी यस्तो परिपाटीमा आफूलाई आवश्यक पर्ने जनशक्ति बजारमा यथेष्ट मात्रामा उपलब्ध हुने हुनाले कम्पनीहरूले तुलनात्मक लाभ हानी विश्लेषण गरी उनीहरूबाट उचित पारिश्रमिकमा उल्लेख्य सेवा प्राप्त गर्न पनि सक्छन् ।
त्यति भए पनि कम्पनीहरूको लागि समेत गिग व्यवस्था कुनै न कुनै रूपमा हानिकारक भने छ नै । विशेष गरी स्थायी प्रकृतिका कर्मचारीहरू संलग्न नहुने भएपछि कम्पनीप्रति बफादार जनशक्तिको सर्वथा अभाव हुन्छ । आफ्नो काम सकिएपछि र त्यसबापतको पारिश्रमिक प्राप्त गरिसकेपछि कम्पनीप्रति गिग जनशक्तिको कुनै जिम्मेवारी र जवाफदेहिता नहुने भएकाले कम्पनीहरू जनशक्तिप्रति पूर्ण विश्वासका साथ ‘निर्भर’ हुन सक्दैनन् । भरपर्दा कर्मचारीको सधैं अभाव हुनु नै व्यावसायिक प्रतिष्ठानको दृष्टिमा गिग अर्थव्यवस्थाको सबैभन्दा नकारात्मक पक्ष हो भन्न सकिन्छ ।
अहिले नेपालमा पनि गिग अर्थव्यवस्थाका पक्षमा आवाजहरू उठ्न थालेको सन्दर्भमा व्यक्ति र समग्र राष्ट्रका लागि यसका दीर्घकालीन लाभहानिका बारेमा भने यथेष्ट मात्रामा छलफल र विश्लेषण हुनु आवश्यक देखिन्छ ।
लेखक बैंकर हुन् ।