म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्ड संरक्षण गरी व्यवस्थित बनाउन पूर्वाधार निर्माण भएको छ । गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण गरिएको बताए ।
‘प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधारले सहयोग पुग्ने विश्वास छ,’ उनले भने, ‘पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ, स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।’
२५ लाख लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगंगा निर्माण सेवाले १७ लाख ७४ हजार ९५८ मा ठेक्का लिएको थियो । सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले बताए । यसैगरी पाउद्वार तातोपानी कुण्डमा पनि दुईओटा पोखरी र ट्रसले छाएको टहरा निर्माण गरिएको छ । पीसीसी ढलान गरिएको पोखरीको भित्तामा टायल राखिएको छ । २० लाख लागत अनुमान गरिएको यस योजना निर्माण गर्न बीएनबी कन्ट्रक्शनले १४ लाख ६८ हजारमा ठेक्का लिएको थियो ।
निर्माण कम्पनीले सम्झौताअनुसारको काम सकेर अन्तिम भुक्तानी पनि लगिसकेको इञ्जिनियर भण्डारीले बताए । गाउँपालिकाबाहेक पाउद्वार तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले पनि पूर्वाधार तयार पारेका छन् । रातोपानी र पाउद्वारका तातोपानी कुण्ड उपचारस्थलका रूपमा परिचित छन् । रासस