पहाडी धरातलमा सामान्य खेलमैदान बनाउन पनि कठिन पर्छ । बारीका गरा सम्याएर भलिबल, ब्याडमिन्टन खेल्ने कोर्ट बनाउनसमेत मुस्किल पर्छ । तर जिल्लाको चौबिसे गाउँपालिकाले प्रत्येक वडामा फुटबल मैदान नै निर्माण गरेको छ । ‘एक वडा, एक फुटबल मैदान’ नाराका साथ पाँच वर्षदेखि थालिएको अभियानले पूर्णता पाउँदै गएको छ । पहाडको टुप्पोमा आकर्षक खेलमैदान बनेपछि गाउँगाउँबाट खेलाडी उत्पादन हुन थालेका छन् ।