राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनअनुसार नेपालमा ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसंख्या घट्दो छ भने शहरी तथा शहरोन्मुख क्षेत्रमा बसोवास गर्नेको संख्या बढ्दो छ । नेपालजस्तो ग्रामीण अर्थतन्त्र भएको मुलुकमा गाउँ खाली हुँदै जानु राम्रो होइन तर प्रतिवेदनले दिएको तथ्यांकले गाउँबाट बसाइँ सरेर गएकाले गाउँ खाली भएको भने देखिँदैन । यद्यपि अवसर र सुविधाको खोजीमा ग्रामीण इलाकाबाट शहरतिर बसाइँ सर्ने प्रवृत्ति भने व्यापक छ । गाउँमा बस्ने जनसंख्या झन्डै ५ प्रतिशत विन्दुले घटेको देखिन्छ । सरकारले नगरपालिकाको संख्या बढाउँदै लगेकाले ग्रामीण क्षेत्रको अंश नै मुलुकमा कम हुँदै गएको देखिन्छ ।
नेपालको जनसांख्यिकीय अवस्थामा ठूलो उथलपुथल आइरहेको छ । खासगरी माओवादी सशस्त्र द्वन्द्वपछि नेपाली समाजको संरचनामै परिवर्तन आएको छ । ग्रामीण इलाका कब्जा गर्ने त्यतिबेलाको द्वन्द्वनीतिले धेरै गाउँलेलाई गाउँ छाड्न बाध्य बनायो, कतिपयले त गाउँमात्र होइन देशै छाडेर बाहिर पनि गए । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि मानिसहरू गाउँ जाने वातावरण बनेन । त्यसले गर्दा ग्रामीण क्षेत्रको जग्गाजमीन बाँझो बन्न थाले । त्यसैको परिणति अहिले पनि मानिसहरू गाउँ छाडेर शहरतिर जाने प्रवृत्ति कायम रहेको देखिन्छ ।
विगत केही दशकमा गाउँहरूको अवस्था निकै परिवर्तन भएको छ । कच्ची नै भए पनि प्राय: ठाउँमा सडक सञ्जाल पुगेको छ, विद्युत्को सुविधा पुगेको छ । मोबाइल प्राय:को हातमा पुगेको छ । त्यस्तै धेरै क्षेत्रमा वित्तीय पहुँच पनि पुगेको छ । त्यसमा पनि ग्रामीण तहमा सहकारीहरू खुलेका छन् जसले विपन्न वर्गलाई आय आर्जन गर्न निकै सहयोग पुगेको छ । विद्यालय भवनहरू पनि पक्की बनेका छन् र शिक्षकहरूको दरबन्दी पनि अत्यधिक ठाउँमा पर्याप्त रहेको छ । गाउँमा उत्पादित वस्तु शहरमा पठाउन सक्ने अवस्था पनि बनिसकेको छ । तर पनि गाउँमा जनसंख्या घट्दो छ, बाँझो जमीन बढ्दो छ । गाउँमा जबसम्म जीवन ल्याउन सकिँदैन तबसम्म मुलुक खाद्य वस्तुमा आत्मनिर्भर हुन कठिन देखिन्छ । गाउँमा जनसंख्या घटेपछि कृषि मजदूरको अभाव भएको छ । विगतमा जस्तो पैंचोपर्मको संस्कृति पनि हराउँदै गएको छ । साना नानीहरू विद्यालय जान थालेपछि गाईबस्तु चराउन छाडिएको छ जसले गर्दा प्रांगारिक मलको प्रयोग हुन छाडेको छ । यस्तोमा त्यहाँ भौगोलिक वातावरण र कम लागत पर्ने कृषि औजारहरूको प्रयोग बढ्नुपर्ने हो । नेपालमा कृषि औजारको उत्पादन नहुने तथा नेपाली भौगोलिक अवस्थाअनुसार सुहाउँदो औजार पर्याप्त नपाइने अवस्था छ । यस्तोमा सरकारले अनुदान दिएर भए पनि उपयुक्त कृषि औजार निर्माण गर्न लगाउनु आवश्यक छ । व्यक्ति जो जहाँ बसे पनि सुविधा पाउनुपर्छ । जनतालाई सेवा दिने काम गर्न सरकारले बहानावाजी गर्न पाउँदैन ।
विकासै नभई नेपाल वृद्धहरूको मुलुक बन्ने हो कि भन्नेमा अर्थशास्त्रीहरूले चिन्ता प्रकट गर्न थालिसकेका छन् । त्यसैले अब कस्तो खालको जनसंख्या नीति लिने हो गम्भीर विश्लेषण गर्न ढिला भइसकेको छ ।
तराईको जनसंख्या बढ्दो छ भने पहाडी र हिमाली क्षेत्रमा घट्दो अवस्थामा छ । यसले सन्तुलित विकासको अवधारणा पूरा हुँदैन । त्यस्तै बढी जनसंख्या कुनै ठाउँमा एकत्रित हुँदा त्यहाँको संरचनाले नधान्न सक्छ । यसमा काठमाडौं उपत्यकालाई नै लिन सकिन्छ । यहाँको शहरीकरण योजनाबद्ध नभएकाले निकै अव्यवस्थित छ । मुलुकका अरू साना शहरहरू यो भन्दा निकै व्यवस्थित छन् । यसो हुनुको कारण नै यहाँ बढी जनसंख्या ओइरिनु हो भन्न सकिन्छ । त्यस्तै नेपालले विगतमा जनसंख्या वृद्धिदर रोक्ने नीति लिएको थियो । अझै पनि त्यो नीति कायम छ । तर, मुलुकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशतमा झरेकाले अब यो नीतिमा पुनर्विचार गर्नुपर्ने बेला आइसकेको देखिन्छ । अहिले युवाको संख्या बढी भएकाले जनसांख्यिकीय लाभ नेपाललाई छ । तर, जनसंख्या वृद्धिदर जसरी घटिरहेको छ त्यसले भोलि नेपालमा काम गर्न सक्ने उमेर भएको जनसंख्या निकै कम हुनेछ । विकासै नभई नेपाल वृद्धहरूको मुलुक बन्ने हो कि भन्नेमा अर्थशास्त्रीहरूले चिन्ता प्रकट गर्न थालिसकेका छन् । त्यसैले अब कस्तो खालको जनसंख्या नीति लिने हो गम्भीर विश्लेषण गर्न ढिला भइसकेको छ ।