नारायण परिश्रमी र हुकुम लामालाई छाड्न माग गर्दै माइतीघरमा सुकुमबासीको विरोध (तस्बिरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका नारायण परिश्रमी र हुकुमबहादुर लामालाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। काठमाडौं प्रहरी परिसरको टोलीले केही दिनअघि परिश्रमी र लामालाई पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। सुकुम्वासी बस्ती खाली गराउन जाँदा प्रदर्शनकारीको आक्रमणमा पाण्डेसहित केही घाइते […]

सम्बन्धित सामग्री

श्रम सम्बन्धका बाछिटा

नेपालमा रोजगारी नपाइएको भन्दै ठूलो संख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गइरहँदा मुलुकमा भने श्रमशक्तिको अभाव भइरहेको छ र यसको पूर्ति भारतीय र बंगलादेशी श्रमिकले गरिरहेका छन् । यसले नेपालको श्रम बजारमा केही न केही समस्या छ भन्ने देखाउँछ । लाखौं रुपैयाँ खर्च गरेर न्यून पारिश्रमिकका लागि पनि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति देखिएको छ । यसबाट किन नेपाली युवाहरू स्वदेशमै काम गर्न रुचाउँदैनन् ? वा काम पाउँदैनन् ? भन्ने प्रश्न उठेको छ । नेपालका कतिपय उद्यमी नेपालीलाई काममा लगाउनभन्दा भारतीय वा बंगलादेशीलाई काममा लगाउन सहज मान्छन् । यसबाट श्रमिक र उद्योगबीच राम्रो सम्बन्ध नभएको देखिन्छ । नेपालको कानूनले श्रमिकलाई बढी अधिकार दिएको छ तर ज्याला र उत्पादकत्वको सम्बन्धबारे मौन रहेको गुनासो सुनिन्छ । त्यसैले उद्योगमा चारपाँच जना कामदार हुनेबित्तिकै संगठन खोलिहाल्ने र तिनलाई कुनै मजदूर संगठनले समर्थन गर्ने प्रवृत्ति छ । यस्तोमा अधिकारको माग बढी हुन्छ । भारतीयहरूलाई काममा लगाउँदा यस्तो हुँदैन । त्यसैले उद्योगीहरू भारतीय कामदार राख्न रुचाउँछन् । विश्वमा धेरै देशमा ‘हायर एन्ड फायर’को व्यवस्था छ । तर, नेपालमा त्यस्तो छैन । उद्योग खोल्नु भनेको श्रमिकसँग झगडा गर्न तयार हुनु हो भन्ने सोचाइ व्यावसायिक घरानाहरूमा रहेको पाइन्छ । सेवामूलक संस्थामा यस्तो कम हुन्छ । त्यसैले उद्योग खोल्नुभन्दा अस्पताल, विद्यालय खोल्न उनीहरू लालायित भएका हुन् भन्न सकिन्छ ।  आन्तरिक रोजगारीबारे कामदारलाई जानकारी छैन भने त्यस्तो सूचना दिने दायित्व सरकारको हो तर श्रम सम्बन्धमै समस्या छ भने पनि समाधान हुनुपर्छ । पक्कै पनि जहाँ श्रमिकको सम्मान हुन्छ, त्यहाँको उद्योग, व्यवसाय फस्टाएको हुन्छ, किनकि सम्मानजनक रूपमा श्रमिकले काम गर्दा कम्पनीलाई आफ्नो ठानेको हुन्छ । तर, नेपालमा कामै नगरी हूलहुज्जत गर्ने क्रम पनि उत्तिकै देखिन्छ । जुन उद्देश्यका लागि कामदार भर्ना गरिन्छ, त्यसअनुसार नभएपछि विकल्प खोज्न पाउनु गलत हुँदैन । कामदारले पनि रोजगारदाताप्रति चित्त नबुझाए त्यस्तो कम्पनी छोड्न सक्छ । श्रमिकले आफ्ना हक, अधिकारका बारेमा जति कुरा उठाउन जरुरी हुन्छ, त्योसँगै जिम्मेवारी पनि बिर्सन हुँदैन । त्यसैले निर्माणलगायत विभिन्न क्षेत्रमा विदेशी श्रमिकको संख्या उल्लेख्य हुनुमा नेपाली कामदारको विदेश मोह मात्र कारण नभई श्रम सम्बन्ध तथा अधिकारको खोजी कतै धेरै त भएन भन्ने प्रश्न उठ्नु जायज हो । नेपालमा श्रमको सम्मान छैन । काम गर्नेलाई भन्दा कुरा गर्नेलाई ठूलो देख्ने प्रवृत्ति छ । त्यसो हुँदा नेपालमा सानोतिनो काम गर्नुभन्दा त्यस्तै काम विदेशमा गर्दा मान बढी पाउने देखिन्छ । नेपालमा काम गर्दा लाज हुने र विदेशमा काम गर्दा मान बढ्ने भएपछि त्यसले युवाहरूलाई आकर्षित गरेको देखिन्छ । अर्को, यहाँको कमाइ बस्न, लाउन र खानमा सकिने गर्छ भने विदेशमा यस शीर्षकमा खासै खर्च गर्नु पर्दैन । जसले गर्दा बचत पनि बढी हुन्छ । नेपालीहरू विदेशमा इमानदार, परिश्रमी इत्यादि विशेषणका साथ चिनिए पनि नेपालभित्रै भने त्यस्तो अवस्था छैन । कुनै पनि कम्पनीमा भारतीय वा बंगलादेशी जति खट्ने र उत्पादकत्व दिने जनशक्ति नेपालको छैन । उत्पादकत्व कम भएपछि ज्याला पनि कम नै हुन्छ । यही कम ज्यालाप्रति नेपाली श्रमिकको गुनासो रहेको छ । विदेशमा मरी मरी काम गरे पनि स्वदेशमा भने त्यस्तो खटाइ पाइँदैन । त्यसो हुँदा बढी आर्जनकै लागि विदेश जाने प्रवृत्ति बढेको हो भन्न सकिन्छ ।  नेपालीहरू श्रम सिक्न पनि जाँगरिलो देखिएका छैनन् । वैदेशिक रोजगारीमा जाँदा पनि सीपमा पोख्त भएर जान त्यति तयार भएको देखिँदैन । शिक्षाको स्तर पनि यहाँ राम्रो छैन । यस्तोमा नेपालीलाई विदेश सजिलो लाग्नु र उद्योगीलाई भारतीय कामदार बढी उत्पादक लाग्नु नै स्वदेशी बजारमा नेपाली कामदार टिक्न नसक्नुको कारण हो । यसमा सुधार नआएसम्म नेपाली श्रमिकलाई नेपालमै रोक्न सकिँदैन । स्वदेशमा रोजगारीका अवसर हुँदा नेपालीले काम नगर्ने तथ्यांकबाट नेपालको श्रमसम्बन्ध सही तरीकाले चल्न नसकेको तथा नेपाली श्रमिकलाई आन्तरिक रोजगारीबारे जानकारी नभएको जस्तो देखिए पनि यसबारे सरकारले गम्भीर अध्ययन गर्न आवश्यक देखिन्छ । आन्तरिक रोजगारीबारे कामदारलाई जानकारी छैन भने त्यस्तो सूचना दिने दायित्व सरकारको हो तर श्रम सम्बन्धमै समस्या छ भने पनि समाधान हुनुपर्छ ।

पर्यटन प्रवर्द्धनमा स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमीटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी क्षेत्रको भौतिक वातावरणको दृष्टिले हेर्दा असीम सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रको अविच्छिन्न पवित्रतालाई कायम राख्दै भौतिक वातावरण र आध्यात्मिक शान्तिलाई जनमानसमा फैलाउन सक्ने ठूलो सम्भावना छ । स्वर्गद्वारी क्षेत्रको जंगल यस्तो खालको छ, जसमा जैविक विविधताले भरिपूर्ण छ । यस जंगलमा देवदारु, गुराँस, बाँस, बाँझ, साज, साल, जामुनो, काफल, पाखरी, कमल, केसर, त्रिपत्री करबीरजस्ता पुष्पका बोट र अनेक प्रकारका लताकुञ्जद्वारा स्वर्गद्वारीको पुण्य जंगल सधैं भरिभराउ रहेको पाइन्छ । जंगलमा कृष्णसागर मृग, हरिण, सिंह, बाघ, चित्तल, भालु, दुम्सी, कयौं चराचुरुङ्गी र स्वर्गद्वारी आश्रममा हजारौं गाईहरू पाइन्छ । यी यहाँका वैभव हुन् । समतल टाकुराबाट हिमशिखरहरू र रमणीय दृश्य अवलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साँच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ । आश्रमभित्र गणेश पञ्चांग, शिव पञ्चांग, देवीपञ्चांग, सूर्यपञ्चांग, विष्णुपञ्चांग गरी ५ कुण्डहरूमा वैदिकविधिपूर्वक दैनिक तीनपटक पूजा गरिन्छ भने आश्रमदेखि माथि पट्टिको डाडामा सिद्धबाबाको मन्दिर रहेको छ र त्यसमा महीनाको पहिलो आइतवार पूजा गर्ने प्रचलन रहेको पाइन्छ । स्वर्गद्वारी क्षेत्रमा मुख्य मेला वैशाख पूर्णिमा, ज्येष्ठ, भदौ, कात्तिक र माघे सक्रान्तिमा लाग्ने गर्छ र यहाँका मुख्य तीर्थयात्रीहरू भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन् भने नेपालका आन्तरिक तीर्थयात्रीहरू रहेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङदेखि प्यूठान जिल्लाको भिंग्रीदेखि स्वर्गद्वारीसम्म नै सडकको राम्रो व्यवस्था रहेको छ । ऋाआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता हो । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्न सकिन्छ । तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक, सामाजिक विकास गरी गरीबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना स्पष्ट देखिन्छ । अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । यसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि उक्त स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण स्वर्गद्वारी क्षेत्र आन्तरिक एवं बा⋲य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु आवश्यक छ । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । स्वर्गद्वारी क्षेत्रमा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस स्वर्गद्वारी क्षेत्रभित्र देखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

बैंकिङ क्षेत्रले कमाएको मुनाफा

विश्वव्यापी महामारीका कारण अधिकांश क्षेत्रहरू संकटग्रस्त भइरहेका बेला बैंकहरूचाहिँ मुनाफामा चलिरहेको र त्यसले आम जनताहरू मर्कामा परेका हुनाले बैंकहरूमा भएको त्यस्तो मुनाफा सृजना गर्ने ‘रोग’ को उपचार गरी आम जनताको ‘हित’ गर्नुपर्ने जस्तो धारणा विद्वान् भनिएका पूर्वप्रधानमन्त्रीले हालै राखेपछि बैंकिङ क्षेत्रको मुनाफाको बारेमा आम रूपमा ठूलो भ्रम रहेको स्पष्ट देखिएको छ । यस्तै सोच र अभिव्यक्तिको आलोकमा बैंकिङ क्षेत्रको मुनाफाको वास्तविक स्वरूप र त्यसका विविध आयामहरूका बारेमा यहाँ संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । व्यवसायहरूलाई फस्टाउने अवसर प्राप्त हुन्छ, लाखौंले आकर्षक रोजगारीको अवसर प्राप्त गर्छन्, व्यवसायीहरूले आवश्यक कर्जा र बचतकर्ताहरूले सुरक्षित बचतको अवसर प्राप्त गर्छन् । बैंकहरूको मुनाफा स्वाभाविक कि अस्वाभाविक ? कुनै पनि व्यवसायको नाफा त्यसमा प्रयोग हुने उत्पादनका साधनहरूको व्यवस्थापन र परिचालनको प्रभावकारिताले निर्धारण गर्छ । अर्थशास्त्रीहरूले परम्परागत रूपमा भूमि, पूँजी, तथा श्रमलाई मुख्य रूपमा लिएको भए पनि आधुनिक बैंकिङ व्यवसायमा उत्पादनको अनिवार्य साधनका रूपमा ‘प्रविधि’ पनि जोडिएर आउँछ । भूमिलाई छोडेर बाँकी तीनओटा उत्पादनका साधनहरूको स्तर र परिमाणको संक्षेपमा चर्चा गरेपछि बैंकहरूको नाफाको बारेमा यथार्थ धारणा बनाउन सजिलो हुन्छ ।   पूँजी : सर्वसाधारणबाट निक्षेपको रूपमा संकलन गरिएको करीब ४५ खर्ब २० अर्ब तथा लगानीको रूपमा पूँजी कोष कायम भएको करीब ५ खर्ब ५७ अर्ब रकम नेपाली बैंकिङ क्षेत्रको प्रमुख उत्पादनको साधनको रूपमा रहेको छ । यसबाट समग्र अर्थ व्यवस्थामा बैंकिङ क्षेत्र माथि भएको ‘सार्वजनिक लगानी’ को मात्रा ‘उल्लेख्य’ रहेको स्पष्ट देखिन्छ । श्रम–शक्ति : बैंकिङ क्षेत्रमा अहिले व्यवस्थापन तथा चार्टर्ड एकाउन्टेन्सी विषयका दक्ष जनशक्तिहरू मात्र होइनन्, अपितु सूचना प्रविधि तथा इन्जिनीयरिङ क्षेत्रका समेत दक्ष श्रमशक्ति प्रत्यक्ष रूपमा आबद्ध छन् । दक्ष मानव संसाधनको आबद्धता मात्र होइन तिनको ‘प्रभावकारी संलग्नता’, कुशल व्यवस्थापन तथा परिश्रम समेतले समग्र बैंकिङक्षेत्र फस्टाउनमा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्नुमा अत्युक्ति हुँदैन । प्रविधि : नेपालका अधिकांश बैंकले अत्याधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउन विश्वका उत्कृष्ट कोर बैंकिङ सप्mटवेर प्रयोग गरिरहेका छन् । त्यसका अलावा बैंकिङको अन्तरराष्ट्रिय अभ्यास तथा नियामकीय मानदण्डको कारण अहिले नेपाली बैंकहरू अन्तरराष्ट्रिय स्तरका अन्य अब्बल प्रविधिको समेत प्रयोग गरिरहेका छन् । उत्पादनका विशिष्ट साधनहरूका अतिरिक्त बैंकिङ क्षेत्रमा अर्को एक विशेष अवस्था पनि विद्यमान छ– सुशासन, पारदर्शिता, प्रभावकारी नियमन एवं नियन्त्रण अनि उत्कृष्ट व्यवस्थापन । यिनै विशिष्ट कारणहरूले पनि अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रलाई थप सशक्त बनाएको छ । अब बैंकहरूको मुनाफाको बारेमा कुरा गरौं । हो, कुनै समय बैंकहरूको मुनाफा ७० प्रतिशतसम्म लाभांश दिन सक्ने गरी अस्वाभाविक हुने गर्दथ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ जेठ मसान्तसम्मको तथ्यांकलाई हेर्दा बैंक तथा वित्तीय संस्थाहरूको औसत मुनाफा कुल पूँजी लगानीको अनुपातमा १२.३३ प्रतिशत रहेको देखिन्छ । त्यसमध्ये फाइनान्स कम्पनीहरूको ११ दशमलव ७२ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव ७८ प्रतिशत र वाणिज्य बैंकहरूको मुनाफा १२ दशमलव ४९ प्रतिशत रहेको छ । अनि उच्चस्तरको लगानी, अति दक्ष एवं परिश्रमी मानव संसाधन, सुशासन तथा पारदर्शिताका साथ अन्तरराष्ट्रिय स्तरका प्रविधिसमेतको संयोजनमा आर्जन हुने १२ प्रतिशत हाराहारीको मुनाफालाई कसरी अस्वाभाविक मान्न सकिएला र ? यी सबै तथ्यप्रति बेवास्ता गरी सतही रूपमा नाफाको रकमलाई मात्र हेर्दा भने यो मुनाफा रकम ‘अस्वाभाविक’ भएको ‘दृष्टिभ्रम’ पर्नसक्छ । बैंकहरूको मुनाफाले सर्वसाधारणलाई मर्का पारेको छ ? बैंकहरूले ऋणमा बढी ब्याज लिएर तथा निक्षेपमा कम ब्याज दिएर मात्र मुनाफा कमाउँछन् भन्ने आम धारणा रहेको पाइन्छ । तर, नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरलाई नियमन गर्न निर्धारण गरेको ४ प्रतिशत हाराहारीको ‘स्प्रेड’को कारण उच्च–दक्ष मानव संसाधनदेखि अत्याधुनिक प्रविधि समेतमा उच्च लगानी गरेर यस्तो ब्याज–अन्तरबाट मात्र बैंकहरूले कसरी मुनाफा कमाउन सक्लान् र ? वास्तवमा बैंकहरूको नाफामा ब्याजबाट प्राप्त हुने आम्दानीबाहेक उसले प्रवाह गर्ने प्रतीतपत्र, जमानत, विप्रेषण, एटीएम, अनलाइन कारोबारलगायत धेरै प्रकारका सेवा तथा सुविधाहरूबाट प्राप्त हुने शुल्कहरूको मात्रा पनि उल्लेख्य हुने गर्छ । बैंकहरूको सबल उपस्थितिका कारण अन्य व्यवसायहरूलाई फस्टाउने अवसर प्राप्त हुन्छ, लाखौंले आकर्षक रोजगारीको अवसर प्राप्त गर्छन्, व्यवसायीहरूले आवश्यक कर्जा र बचतकर्ताहरूले सुरक्षित बचतको अवसर प्राप्त गर्छन् । समग्रमा देशको आर्थिक व्यवस्था चलायमान बनाउन मुनाफायुक्त बैंकिङ क्षेत्रको अहं भूमिका रहन्छ । यो पृष्ठभूमिमा बैंकिङ क्षेत्रको स्वास्थ्यमा समस्या भएकाले मुनाफा बढेको र त्यसले आम सर्वसाधारणलाई मर्का पुगेको छ भन्ने अभिव्यक्तिलाई ‘अबुझ धारणा’ भनेर शंकाको लाभ त दिन सकिएला । तर, त्यसभित्र लुकेको सम्भावित ‘दुर्नियत’ लाई भने पूर्णतः इन्कार गर्न सकिँदैन ।   बैंकहरू घाटामा गए के हुन्छ ? देशमा भएका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४३ स्थानमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् भने झन्डै ३ करोड निक्षेप खाताहरू सञ्चालनमा छन् । सहकारीलाई पनि जोड्ने हो भने करीब ८० प्रतिशत नेपालीसमक्ष वित्तीय पहुँच पुगेको छ । मोबाइल बैंकिङ प्रयोग गर्ने नेपालीको संख्या करीब १ करोड नाघिसकेको छ । फेरि नेपालका बैंकहरूमा सर्वसाधारण शेयर धनीको अंश पनि उल्लेख्य छ र शेयरबजारमा पनि करीब ८० प्रतिशत अंश वित्तीय क्षेत्रको नै रहेको छ । यी तथ्यहरूका आधारमा बैंकिङ क्षेत्रले यदि संकट भोग्नुप¥यो भने त्यसको असर कुन हदसम्म पर्न सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यस्तो संकटले लगानीयोग्य पूँजीको अभाव हुन्छ, रोजगारी घट्छ, आयस्तर घट्छ अनि त्यसो भएपछि सबै क्षेत्रमा माग पनि घट्छ । उपभोग र माग घटे पछि स्वाभाविक रूपले फेरि उत्पादन घट्छ, लगानी घट्छ, रोजगारी घट्छ, र दुश्चक्र निरन्तर चलिरहन्छ । बैंकहरूमा संकट आउँदा अर्थतन्त्र कसरी प्रभावित हुन्छ भन्ने बुझ्न विश्वका केही उदाहरण हेरे पुग्छ । केही महीनाअघि मात्र अमेरिकामा फेडरल रिजर्भ (फेड) ले वित्तीय संस्थाको उद्धारका लागि खर्बाैं अमेरिकी डलर खर्च गरेको थियो । स्वीडेन र स्पेन मात्र होइन, अन्य कतिपय देशमा पनि केही वर्ष पहिला संकटग्रस्त बैंकहरूलाई राष्ट्रियकरण गर्न अपार सम्पत्ति खर्चनु परेको थियो । नेपालमा पनि सरकारी बैंकहरूको ‘बिग्रेको अवस्था’ सुधार्न वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत सरकारले केही वर्षअघि दशौं अर्ब रुपैयाँ खर्च गरेको स्मरणीय छ । त्यसैले बैंकिङ क्षेत्रले कमाएको ‘सीमित’ नाफामा आँखा लगाउनु सट्टा लागत मूल्यभन्दा कयौं बढी मूल्यमा बेच्दा समेत सधैं घाटामा जाने आयल निगमजस्ता सरकारी व्यवस्थापनका नमूना प्रतिष्ठानहरूको ‘स्वास्थ्य सपार्ने’ दिशामा सुल्टो चिन्तन गर्ने हो भने बरु त्यसले देशलाई सकारात्मक दिशामा अगाडि बढ्न मद्दत मिल्ने थियो । लेखक बैंकर हुन् ।