नेपालमा रोजगारी नपाइएको भन्दै ठूलो संख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गइरहँदा मुलुकमा भने श्रमशक्तिको अभाव भइरहेको छ र यसको पूर्ति भारतीय र बंगलादेशी श्रमिकले गरिरहेका छन् । यसले नेपालको श्रम बजारमा केही न केही समस्या छ भन्ने देखाउँछ । लाखौं रुपैयाँ खर्च गरेर न्यून पारिश्रमिकका लागि पनि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति देखिएको छ । यसबाट किन नेपाली युवाहरू स्वदेशमै काम गर्न रुचाउँदैनन् ? वा काम पाउँदैनन् ? भन्ने प्रश्न उठेको छ । नेपालका कतिपय उद्यमी नेपालीलाई काममा लगाउनभन्दा भारतीय वा बंगलादेशीलाई काममा लगाउन सहज मान्छन् । यसबाट श्रमिक र उद्योगबीच राम्रो सम्बन्ध नभएको देखिन्छ । नेपालको कानूनले श्रमिकलाई बढी अधिकार दिएको छ तर ज्याला र उत्पादकत्वको सम्बन्धबारे मौन रहेको गुनासो सुनिन्छ । त्यसैले उद्योगमा चारपाँच जना कामदार हुनेबित्तिकै संगठन खोलिहाल्ने र तिनलाई कुनै मजदूर संगठनले समर्थन गर्ने प्रवृत्ति छ । यस्तोमा अधिकारको माग बढी हुन्छ । भारतीयहरूलाई काममा लगाउँदा यस्तो हुँदैन । त्यसैले उद्योगीहरू भारतीय कामदार राख्न रुचाउँछन् । विश्वमा धेरै देशमा ‘हायर एन्ड फायर’को व्यवस्था छ । तर, नेपालमा त्यस्तो छैन । उद्योग खोल्नु भनेको श्रमिकसँग झगडा गर्न तयार हुनु हो भन्ने सोचाइ व्यावसायिक घरानाहरूमा रहेको पाइन्छ । सेवामूलक संस्थामा यस्तो कम हुन्छ । त्यसैले उद्योग खोल्नुभन्दा अस्पताल, विद्यालय खोल्न उनीहरू लालायित भएका हुन् भन्न सकिन्छ ।
आन्तरिक रोजगारीबारे कामदारलाई जानकारी छैन भने त्यस्तो सूचना दिने दायित्व सरकारको हो तर श्रम सम्बन्धमै समस्या छ भने पनि समाधान हुनुपर्छ ।
पक्कै पनि जहाँ श्रमिकको सम्मान हुन्छ, त्यहाँको उद्योग, व्यवसाय फस्टाएको हुन्छ, किनकि सम्मानजनक रूपमा श्रमिकले काम गर्दा कम्पनीलाई आफ्नो ठानेको हुन्छ । तर, नेपालमा कामै नगरी हूलहुज्जत गर्ने क्रम पनि उत्तिकै देखिन्छ । जुन उद्देश्यका लागि कामदार भर्ना गरिन्छ, त्यसअनुसार नभएपछि विकल्प खोज्न पाउनु गलत हुँदैन । कामदारले पनि रोजगारदाताप्रति चित्त नबुझाए त्यस्तो कम्पनी छोड्न सक्छ । श्रमिकले आफ्ना हक, अधिकारका बारेमा जति कुरा उठाउन जरुरी हुन्छ, त्योसँगै जिम्मेवारी पनि बिर्सन हुँदैन । त्यसैले निर्माणलगायत विभिन्न क्षेत्रमा विदेशी श्रमिकको संख्या उल्लेख्य हुनुमा नेपाली कामदारको विदेश मोह मात्र कारण नभई श्रम सम्बन्ध तथा अधिकारको खोजी कतै धेरै त भएन भन्ने प्रश्न उठ्नु जायज हो । नेपालमा श्रमको सम्मान छैन । काम गर्नेलाई भन्दा कुरा गर्नेलाई ठूलो देख्ने प्रवृत्ति छ । त्यसो हुँदा नेपालमा सानोतिनो काम गर्नुभन्दा त्यस्तै काम विदेशमा गर्दा मान बढी पाउने देखिन्छ । नेपालमा काम गर्दा लाज हुने र विदेशमा काम गर्दा मान बढ्ने भएपछि त्यसले युवाहरूलाई आकर्षित गरेको देखिन्छ । अर्को, यहाँको कमाइ बस्न, लाउन र खानमा सकिने गर्छ भने विदेशमा यस शीर्षकमा खासै खर्च गर्नु पर्दैन । जसले गर्दा बचत पनि बढी हुन्छ । नेपालीहरू विदेशमा इमानदार, परिश्रमी इत्यादि विशेषणका साथ चिनिए पनि नेपालभित्रै भने त्यस्तो अवस्था छैन । कुनै पनि कम्पनीमा भारतीय वा बंगलादेशी जति खट्ने र उत्पादकत्व दिने जनशक्ति नेपालको छैन । उत्पादकत्व कम भएपछि ज्याला पनि कम नै हुन्छ । यही कम ज्यालाप्रति नेपाली श्रमिकको गुनासो रहेको छ । विदेशमा मरी मरी काम गरे पनि स्वदेशमा भने त्यस्तो खटाइ पाइँदैन । त्यसो हुँदा बढी आर्जनकै लागि विदेश जाने प्रवृत्ति बढेको हो भन्न सकिन्छ ।
नेपालीहरू श्रम सिक्न पनि जाँगरिलो देखिएका छैनन् । वैदेशिक रोजगारीमा जाँदा पनि सीपमा पोख्त भएर जान त्यति तयार भएको देखिँदैन । शिक्षाको स्तर पनि यहाँ राम्रो छैन । यस्तोमा नेपालीलाई विदेश सजिलो लाग्नु र उद्योगीलाई भारतीय कामदार बढी उत्पादक लाग्नु नै स्वदेशी बजारमा नेपाली कामदार टिक्न नसक्नुको कारण हो । यसमा सुधार नआएसम्म नेपाली श्रमिकलाई नेपालमै रोक्न सकिँदैन । स्वदेशमा रोजगारीका अवसर हुँदा नेपालीले काम नगर्ने तथ्यांकबाट नेपालको श्रमसम्बन्ध सही तरीकाले चल्न नसकेको तथा नेपाली श्रमिकलाई आन्तरिक रोजगारीबारे जानकारी नभएको जस्तो देखिए पनि यसबारे सरकारले गम्भीर अध्ययन गर्न आवश्यक देखिन्छ । आन्तरिक रोजगारीबारे कामदारलाई जानकारी छैन भने त्यस्तो सूचना दिने दायित्व सरकारको हो तर श्रम सम्बन्धमै समस्या छ भने पनि समाधान हुनुपर्छ ।