कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन् । आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन् ।
महिलाले सामूहिक र व्यक्तिगत रूपमा व्यवसाय गर्दै आएका छन् । स्थायी घर अर्घाखाँची रहनुभएका दिलु मगर वैदेशिक रोजगारीका लागि चार वर्ष लेबनान जानुभयो । घरेलु कामदारका रूपमा न्यून ज्यालामा काम गर्नुपरेको उहाँले सुनाउनुभयो ।
नेपालमा नै केही गर्ने सोच बनाएर नेपाल फर्कनुभएका मगरले घोराहीको भरतपुरमा रु १० लाख ५० हजार लगानीमा ‘अर्घाखाँची लेडिज कपडा पसल’ सञ्चालनमा ल्याउनुभएको छ । ‘‘लेबनानमा गएर घरेलु कामदार हुँदा धेरै दुःख पाइयो”, मगरले भन्नुभयो, “काम कसरी गर्नुपर्छ भन्ने लेबनानले सिकायो । त्यहाँको ऊर्जालाई नेपालमा प्रयोग गरेँ । कपडा बिक्रीबाट मासिक रु ९० हजार आम्दानी हुने गरेको छ । ”
मल्लरानी गाउँपालिका –३ चौरपानीका कमला गिरी र भूमा पौडेलको घोराहीमा २०७६ सालदेखि रु २५ लाख लगानीमा ‘नमूना सिलाइ तथा गार्मेन्ट’ उद्योग सञ्चालनमा छ । केही गर्नुपर्छ भन्ने सोचका साथ दुई मिलेर सिलाइ तथा गार्मेन्ट उद्योग खोली पाँच जनालाई रोजगारी दिनुभएको छ । उद्योगमा विद्यालय पोशाक, टिसर्ट, ट्रयाकसुट, शिक्षक र विद्यार्थीको पोशाक सिलाउने गरिएको र थप व्यवस्थापन गरेर उद्योग विस्तार गर्ने सोचाइमा रहेको पौडेलले बताउनुभयो ।
बंगलाचुली–४की सीता पाण्डेले घोराही– १५ मा कुटानीपिसानी गर्नका लागि मिल सञ्चालन गरेर स्वरोजगार बन्नुभएको छ । पिठो, चामल, दाल र मसला पिस्नका लागि खोलिएको मिलमा एक महिलालाई रोजगारी पनि मिलेको छ । सदरमुकाम बसाइँ सरेर व्यवसाय शुरु गर्नुभएको एक वर्ष भएको छ ।