माघ २९, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. ३ करोड १५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष विद्युत् विक्री आम्दानी भएपनि कम्पनीको वित्तीय खर्च उल्लेख्य रुपमा बढेकाले खुद नोक्सानी रकममा वृद्धि भएको हो ।
कम्पनीले निर्माण गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन शुरु भई भदौ २५ गतेदेखि आयोजनामा जडित ६ ओटै युनिटबाट विद्युत् विक्री भइरहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले रू. ३ अर्ब ६४ करोड ६५ लाखभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको छ । गत वर्ष रू. १ करोड १२ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब २० करोड ३ लाखभन्दा बढी यो खर्च गरेको हो । जसले गर्दा कम्पनीको खुद नोक्सानी रकम ९४६ दशमलव ९० प्रतिशतले बढेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीको रिटेन्ड अर्निग भने रू. १ अर्ब ३९ करोडभन्दा बढी ऋणात्मक छ । कम्पनीको दिर्घकालिन कर्जा गत वर्षभन्दा २ दशमलव २९ प्रतिशत बढी रू. ४१ अर्ब रहेको छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ४५ दशमलव ४५ प्रतिशत बढी रू. ४ अर्ब रहेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८६ दशमलव ८६ रहेको छ ।