काठमाडौं (अस) । सूर्य नेपाल गल्फ टूर २०२१–२२ को छैटौं प्रतियोगिता वैशाख १९ गतेदेखि आयोजना हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुने सूर्य नेपालले जानकारी दिएको छ ।
७२ होलमा खेलाइने उक्त प्रतियोगितामा ३६ प्रोफेशनल र २० एमेच्योर खेलाडीले भाग लिनेछन् । शीर्ष २१ प्रोफेशनल खेलाडी (टाई भएमा पनि) र शीर्ष ६ एमेच्योर खेलाडीहरू अर्को चरणमा पुग्ने बताइएको छ ।
प्रतियोगिताका लागि गल्फ कोर्सको अवस्थामा सुधार गरिएको छ । अधिकांश सहभागीले कोर्सको अवस्था बुझ्न प्राक्टिस राउन्ड खेलिसकेका छन् ।
प्रतियोगिताको पुरस्कार राशी ५ लाख ४५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख, उपविजेताले ६५ हजार र तृतीय हुनेले ४६ हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ । शीर्ष २१ मा रहेका अन्यले पनि नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको शीर्ष दाबेदारमा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम थापा र गत संस्करणका विजेता एमेच्योर सुवास तामाङ छन् । अर्का दाबेदार हुन सक्ने शुक्रबहादुर राई भने अहिले भारतको व्यावसायिक गल्फ टुरमा खेलिरहेको बताइएको छ । एनपीजीए र आरएनजीसीका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले प्रतियोगितामा प्रोफेशनल र एमेच्योर दुवैबाट स्कोरिङ कम हुन सक्ने बताए ।