म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाउँमा सञ्चालित पाँचओटा जलविद्युत् आयोजनाबाट उक्त गाउँपालिकाले चालू आर्थिक वर्षमा रू. ८ करोडभन्दा बढी विद्युत् रोयल्टी पाउने भएको छ । ६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली एक वर्षदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यसैगरी ७१ मेगावाटको नीलगिरि क्यास्केड, ३८ मेगावाटको नीलगिरि खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन् । नीलगिरि १ र २ दुवैले चालू आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विद्युत् रोयल्टीबापत रू. ८ करोड रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको छ । साथै पर्यटनबाट रू. ४० हजारभन्दा बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको उनले जानकारी दिए ।
नारच्याङमा सञ्चालित जलविद्युत् आयोजनाबाट ५०० भन्दा बढी स्थानीय बासिन्दाले रोजगारी पाएको वडाध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार विद्युत् आयोजनाले स्थानीय तीनओटा विद्यालयका शिक्षकको तलबभत्ता, खेलकुद मैदानसहितका पूर्वाधार, आमा समूह र युवा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । जलविद्युत् आयोजनाबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औसत वार्षिक रू. दुई करोड पनि यही वडाभित्र खर्च हुने गरेको उनले जानकारी दिए । यसअघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग पाएको उनले बताए । ‘जलविद्युत् आयोजनाकै कारण गाउँको विकासमा सहयोग पुगेको छ, स्थानीयले रोजगारी पनि पाएका छन्,’ उनले भने ।