म्याग्दी । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्ड सडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।
‘कोभिडपछिको पर्यटनका लागि नयाँ गन्तव्य पहिचान गरेका छौं,’ उनले भने, ‘नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवद्र्धनमा जोड दिएका छौं ।’ अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’, खयर–खोपारा, नारच्याङ र महभिर झरना, जलजले–फगाम–मोतिचौर बराह–धवलागिरि आधार शिविर, करबाकेली, बयली, मोहरेडाडा, प्यारीबाराही, कालीबराह ताल, फूलबारी, गुराँसपार्क, मुन्द्रा चढाउने डाँडा, नागी, टिकोट, पाउद्धार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तव्य हुन् । साथै संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, भुरुङ–तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण–धवलागिरि पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तव्य हुन् । प्राकृतिक दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिकाको मोहरेडाँडा र खोपारामा रहेको सामुदायिक लजको क्षमता बढाइएको छ । अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने दुई ठाउँमा २०/२० जना क्षमताको लज थिए । पाहुनाको चाप बढेपछि मोहरेडाँडामा गाउँपालिका र पर्यटन मन्त्रालयले १ करोड ५० लाख लगानीमा तीनओटा र खोपारामा गण्डकी प्रदेश सरकारको २० लाख लगानीमा एक आठकोठे आश्रयस्थल भवन निर्माण भएको छ ।
अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर ८ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला पारेका फ्रान्सका मौरिज हर्गोजको नाममा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग सञ्चालन भएको छ । मौरिजको नामबाट नामकरण भएको यस पदमार्गमा पर्यटन मन्त्रालयले २ करोडभन्दा बढी लगानीमा गत आर्थिक वर्षमा पदमार्ग बनाएको छ । आधारभूत स्तरको पदमार्ग, खोलामा पुल, बस्नका लागि आश्रयस्थल र नक्सा तयार पारिएको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि गतवर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए ।
अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल, पोन्नी ‘ट्रेल’ (घोडा मार्ग) निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले प्रदेश सरकारको २० लाख सहयोगमा गत आर्थिक वर्षमा फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीन/तीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण गरेको जानकारी दिए । रासस