काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीले काठमाडौं, लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा उक्त दिन साँझ ५ बजे सभा गर्न लागेको हो । सभाले आईपीओ निष्कासनसहित अन्य विविध प्रस्ताव पारित गर्ने जानकारी कम्पनीले दिएको छ । यो होटल बुढानिलकण्ठ, काठमाडौंमा छ ।
धितोपत्र दोस्रो बजारमा हाल होटल तथा पर्यटन क्षेत्रका ६ कम्पनीहरू सूचीकृत छन् । होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । होटल फरेष्टको आईपीओले समेत धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरूको छ ।