वर्षभरि खेती गर्दा पनि ६ महिना खान पुग्दैन तनहुँ म्याग्दे गाउँपालिका–१ गुणादीकी मोनी परियारलाई । बाँकी अवधिको लागि बजारबाटै खाद्यान्न किन्नुपर्छ । यो अवस्थाबाट मुक्ति पाउन उनले अनेक उपाय खोज्दा त्यसको सहयोगी बनेको छ यहाँको एउटा सामुदायिक वन जसले परिवार पाल्न खाद्यान्न किन्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ ।
मोनी आवद्ध सो ठाउँ स्थित वाराही सामुदायिक वन उपभोक्ता समुहले खेत बन्धकी किनिदिएर खेती लगाउन दिएपछि मोनीको भकारी भरिएको छ । पहिला अधियाँ खेती गर्दा साहुलाई आधा दिनुपथ्र्यो, आधा मात्रै हुन्थ्यो भकारी । अहिले पुरै भरिएपछि सात जनाको परिवार पाल्न सहज भएको मोनीले बताउनुभयो । ‘‘ पहिला ६ महिनाको लागि अन्न वेसाउनु पथ्र्यो, अहिले पुरै अन्न भित्राउन पाएपछि खानाको समस्या टरेको छ’’, मोनीले भन्नुभयो । सोही ठाउँकी गुनीमाया बाचेमगर समुहिक खेती गर्न पाएपछि परिवार पाल्न अधियाँ गर्नु पर्ने बाध्यता हटेकोले जीवनयापन सहज भएको बताउनुभयो ।