काठमाडौं (अस) । लमजुङको हिले बजारमा ग्लोबल आईएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले दोर्दी गाउँपालिकास्थित हिले बजारमा सोमवारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्त रूपमा काउन्टरको उद्घाटन गरेका हुन् । यससँगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ५० पुगेको छ । गाउँपालिका अध्यक्ष गुरुङले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । बैंकलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोगका लागि गाउँपालिका तयार रहेको उनले बताए । एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा उनले गरे ।
एक्सटेन्सन काउन्टरबाट उक्त गाउँपालिकाका वडा नं ६, ७, ८ र ९ का साथै बेँशीशहर नगरपालिकाका केही वडाका स्थानीयवासीलाई बैंकिङ सेवा लिन सहज हुनेछ ।