सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर बजार क्षेत्रमा सातामा एक दिन मात्रै पानी वितरण गर्न थालेको छ। कतिपय स्थानमा दुई सातामा एक पटक मात्र पानी आउने गरेको गुनासो स्थानीय बासिन्दाले गरेका छन्। वीरेन्द्रनगर नगरपालिका–१ का उपभोक्ता वसन्ती खड्काले दुई सातामा एक दिन मात्रै पानी आउँदा मर्कामा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई सातामा एक दिन अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ, अरू स्रोत छैन। इनार खन्यो पानी आउँदैन। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो ?”